केनपछि सनले पनि क्लब छाड्ने


लन्डन, (एजेन्सी)

हेरी केनले कप्तानी गरिरहेको अवस्थामै टोटनहाम क्लब छाडेका थिए । केनले टोटनहामबाट कुनै प्रमुख उपाधि जित्न नसकेको भन्दै सन् २०२३ अगस्टमा क्लब छाडेर बायर्न म्युनिकमा अनुबन्ध भएका थिए ।

अहिले उनकै सहयात्री खेलाडी सन हिउंग मिनले पनि टोटनहामको करिअर समाप्त पार्ने बताएका छन् । केनको बहिर्गमनपछि उनी कप्तानीमा रहेका हुन् । तर, उनले पनि कप्तानीकै अवस्थामा टोटनहाम छाड्ने घोषणा गरेका छन् ।

दक्षिण कोरियाका अन्तर्राष्ट्रिय फुटबलर सन बायर लेभरक्युसेनबाट सन् २०१५ मा टोटनहाममा आबद्ध भएका थिए । उनले १० वर्षमा टोलीका लागि ४५४ खेलमा १ सय ७३ गोल गरेका छन् । यसमा उनले १ सय २७ गोल इंग्लिस प्रिमियर लिगमा गोल गरेका थिए ।

टोटनहाममा एक दशकको करिअरमा सनले पहिलो प्रमुख उपाधि पनि जिते । यो उपलब्धि गत सिजनमा हासिल गरिएको थियो । गत मेमा टोटनहामले म्यानचेस्टर यूनाइटेडलाई हराएर यूरोपा लिगको उपाधि जितेको थियो । यो उपाधि जित्दा उनले बताएका थिए कि उनलाई सबै थोक पाएको महसुस भएको थियो।

३३ वर्षीय सनको टोटनहाममा अनुबन्ध अवधि २०२६ सम्म रहेको छ । अवधि रहेपनि उनले मेजर लिग सकरको टोली लस एन्जेलेस एफसीबाट खेल्न इंग्लिस प्रिमियर लिग छाड्ने तयारी गरेका छन् ।
उनले बताए–यस्तो निर्णय लिन साह«ै कठिन हुँदोरहेछ । म युवा उमेरमै लन्डनमा पुगेको थिएँ । मलाई अंग्रेजी बोल्न आउँदैन पनि । अहिले परिपक्व मान्छे भएर म यो क्लब छाडिरहेको छु ।

सनबारे केही तथ्यहरूः

-प्रिमियर लिगमा गोल्डेन बूट जित्ने पहिलो एसियन फुटबलर ।

-प्रिमियर लिगमा १ सयौं खेल खेल्ने पहिलो एसियन फुटबलर ।

-२०१९ मा प्रिमियर लिगमा बर्नलीविरुद्ध उत्कृष्ट गोल गरेर पुस्कास अवार्ड प्राप्त गरेको ।

-उनले आफ्नो पेनाल्टी क्षेत्रबाट बल नियन्त्रणमा लिएर विपक्षी खेलाडीलाई छल्याउँदै, ट्याकलबाट बच्दै सीधा विपक्षीको पोस्टमा गोल गरेको ।