भटौली पुल बाढीले जोखिममा, आवागमन प्रभावित


काठमाडौं ।

रामेछापको मन्थली–७ र खाँडादेवी–४ पकरबास जोड्ने भटौली पुल बाढीले कटानको जोखिममा परेको छ। शनिबार बिहानको लगातार वर्षासँगै खोलाको बाढी पुलको पिलरमा ठोक्किँदा संरचना कमजोर बन्दै गएको हो। पकरबासपट्टिको पिलर अत्यधिक जोखिममा रहेको र टेवा वालसमेत बगिसकेको वडाध्यक्ष तथा स्थानीयले बताएका छन्। अहिले ठूला सवारी सञ्चालन गर्न नसकिने अवस्था छ।

स्विस सरकारको सहयोगमा करीब ४ करोड रुपैयाँ लागतमा बनेको यो पुल वैकल्पिक सडक सञ्जालको हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। पुल थप क्षतिग्रस्त भएमा काठमाडौंसँगको आवागमन र आपूर्तिमा गम्भीर असर पर्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। तत्काल संरक्षण र मर्मतको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।