सांस नलिएको बच्चा बाँच्यो : जानकीको ५ घण्टा निरन्तर प्रयासले चमत्कार


काठमाडौं ।

बैतडीको सिगास गाउँपालिका–४ स्थित कान्धार आधारभूत स्वास्थ्य केन्द्रमा साउन ८ गते लक्ष्मी विष्ट धामीले जटिल प्रसवपछि छोरालाई जन्म दिइन्। जन्मिएलगत्तै बच्चाले श्वास नलिएपछि अनमी जानकी पुजाराले अम्बु ब्याग र मुखमार्फत पाँच घण्टासम्म निरन्तर कृत्रिम श्वास दिएकी थिइन्।

राति १० बजेदेखि बिहान साढे ३ बजेसम्मको प्रयासपछि बच्चा रोएर जिउ तन्काएपछि सबै खुसी भए। स्रोतसाधन अभावका बीच जानकी र स्वास्थ्यकर्मी टोलीको प्रयासले नवजातको ज्यान जोगिएको हो।

स्वास्थ्य मन्त्रीदेखि आम सर्वसाधारणसम्मले जानकीको कामको प्रशंसा गरेका छन्। सुत्केरी लक्ष्मी र नवजात दुबैको स्वास्थ्य अहिले सामान्य छ।