पलेशालाई एसियाली पारा तेक्वान्दोमा कास्य पदक


काठमाडौँ।

पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य जितेकी पलेशा गोवर्धनले फेरि अर्को उपलब्धि हात पारेकी छन्। मलेसियाको कुचिङमा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले कास्य पदक जितेकी हुन्।

प्रशिक्षक कविराज नेगी लामाका अनुसार के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशाले उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गर्दै कास्य पदक प्राप्त गरेकी हुन्।

प्रतियोगिता जुलाई २४ देखि अगस्ट १ सम्म सञ्चालन भएको थियो। नेपालबाट अन्य खेलाडीहरू पनि प्रतियोगितामा सहभागी थिए। पुरुष ५८ किलोमुनिको तौल समूहमा भरतसिंह महता, ६३ किलोमुनिमा अमिर भ्लोन, र महिला ४७ किलोमुनिमा कामना प्रसाईं तथा रेणु तामाङले नेपाल प्रतिनिधित्व गरेका थिए।

टोलीको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठले गरेका थिए।