बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा: टेलिमेडिसिन हव, बागमती डिजिटल हेल्थ सेवा एकैसाथ सुरु 

समृद्ध देश र सुखी जनता बनाउने सरकारको गन्तव्य : प्रम ओली

1.03k
Shares

भक्तपुर । 

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको छ । 
आज भक्तपुरको गठ्ठाघरमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय पूर्ण खोप सुनिश्चितता घोषणा, बागमती डिजिटल हेल्थ सेवा र टेलिमेडिसिन हवको एकैसाथ उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध देश र नेपाली जनतालाई सुखी जनता बनाउने सरकारको गन्तव्य रहेको बताए ।

यो गन्तव्यलाई प्राप्त गर्नका लागि स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको अभियान सुरु गरेको प्रधानमन्त्री ओलीले बताए ।संविधानमा उल्लेख गरेको जनताको स्वास्थ्य सेवाको मौलिक हकलाई कार्यान्वयन गर्ने दिशामा पूर्ण खोप सुनिश्चितता घोषणा,  डिजिटल हेल्थ सेवा र टेलिमेडिसिन हवको सुरुवात महत्त्वपूर्ण कदम भएको बताए ।

आगामी बर्ष हाम्रो देश अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुँदै गर्दा यो अभियान प्रभावकारी रहेको बताए ।
रोग लागेपछि उपचार गनुभन्दा रोग लाग्नै नदिने प्रयास गरिनु महत्त्वपूर्ण भएको बताउँदै प्रधानमन्त्री ओलीले रोग लागिसकेपछि उपचारका लागि अस्पताल र औषधिको  पनि बन्दोबस्त गरिएको बताए ।

प्रधानमन्त्री ओलीले स्यालरीका लागि नलड्ने तर सेवाको लागि अगि बढ्ने भन्दै स्वास्थ्य स्वयमसेवीकाको  प्रशंसा गरे ।
विगत लामो समयदेखि प्रारम्भ भएको पूण खोप बनाउने अभियान अहिले आएर सफल भएकोमा उनले बागमती स्वास्थ्य मन्त्रालय, मन्त्री लगायत सरोकारवाला सबैलाई बधाई र धन्यावाद दिए ।

कार्यक्रममा बागमति प्रदेशका मुख्यमन्त्री बहादुसिंह लामा, प्रदेश स्वास्थ्य मन्त्री किरण थापा, प्रदेश स्वास्थ्य सचिब डा.सुमित्रा गौतम लगायतले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धिमा प्रदेश सरकार सकृय रहेको बताए ।
बागमती प्रदेशका १३ वटा जिल्लालाई गत असार ३० गतेसम्ममा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिसकेकाले प्रदेश पनि घोषणा गरिएको मुख्यमन्त्री बहादुसिंह लामाले बताए ।

प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले मन्त्रालयले टेलिमेडिसिन हवका माध्यमबाट प्रदेशका अस्पतालहरुमा २४ सै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने जानकारी दिए । भक्तपुर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाबाट यो सेवा सुरु गरिएको उनले बताए ।  

बागमती डिजिटल हेल्थ सेवा मार्फत विरामीले घरमै बसेर अस्पतालको अबस्थाबारे जानकारी लिन सक्ने छन् । 
बागमती प्रदेश मन्त्रालयले एप्सबाटै १३ वटै जिल्लाको अस्पतालहरुमा दिनभर कति संख्यामा विरामी आए, आकस्मिकमा कति, ओपिडीमा कति, भर्ना भएका कति, कति फर्किए, टिकट कतिवटा गयो, कुन विरामीलाई कुन औषधि कति बिक्री भयो, कति रकम संकलन भयो, को कर्मचारी विदामा छन्, सबै मन्त्रालय वा जुनसुकै ठउँमा बसेर पनि हेर्न सकिने उनले बताए । 

त्यसैगरि अब ल्याबको रिपोर्ट लिन अस्पताल धाउनु नपर्ने  भएको छ । ल्याबको रसिद काट्दा नै रसिदमै क्यआर कोड दिने र त्यसैबाट ल्याबको रिपोर्ट घरमै बसेर हेर्न र प्रिन्ट गरेर निकाल्न सकिने गरि व्यबस्था गरेको प्रदेश स्वास्थ्य मन्त्री  थापाले बताए। 

मन्त्रालयले अस्पतालको सेवामा सेवाग्राहीले गुनासो राख्न सक्ने गरी  इगुनासो (Egunaso)  एपस् पनि सार्वजनिक गरेसँगै सेवाग्राहीले घरमै बसेर क्यूआर कोडबाटै गुनासोको फोटो, भिडियो, अडियो, अक्षर लेखेर र आवाजबाट गुनासो पठाउन सकिने गरि व्यबस्था गरेको उनले बताए । 

कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव डा. सुमित्रा गौतमले बागमती प्रदेश भित्रका १३ जिल्ला ११९ स्थानीय तह, एक हजार १२१ वडाहरु र २५ सय भन्दा बढी खोप केन्द्रहरु मार्फत बालबालिकालाई पूर्ण खोप लगाएको बताए ।

उनले जन्मेदेखि १५ महिनासम्मका बालबालिका र त्यो अवधिमा खोप लगाउन छुटेका १६ देखि २३ महिनाभित्रका एक लाख २८ हजार ४२१ बालबालिकालाई पूर्ण खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिएका बताए ।