पाकिस्तानमा इमरान खानको पार्टीका १०८ सदस्यलाई सजाय


इस्लामाबाद।

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाइएको छ। ती सबैमाथि सन् २०२३ मा सेना विरुद्धको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेको हो।

मे २०२३ मा भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुन गएका बेला इमरान खानलाई सुरक्षा निकायले पक्राउ गरेपछि देशव्यापी विरोध चर्किएको थियो। त्यस क्रममा भएका हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूमाथि मुद्दा चलाइएको थियो।

बिहीबार सुनाइएको फैसलालाई पीटीआईका लागि ठूलो राजनीतिक धक्का मानिएको छ। सजाय पाउनेमध्ये विपक्षी नेताहरू र सांसदहरू समेत छन्। पाकिस्तानको राष्ट्रिय सभामा विपक्षी दलका नेता ओमर अयुब खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ।

त्यसैगरी, पीटीआईका कम्तीमा ६ जना सांसदलाई अयोग्यसमेत घोषणा गरिएको छ। विपक्षी दलहरूले यो निर्णयको कडा विरोध जनाउँदै आतंकवाद विरोधी अदालतको निर्णयलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन्।