राजनीतिले फैलाएको सामाजिक व्यक्तित्व– बुद्धिराज वज्राचार्य

4.14k
Shares

बुद्धिराज वज्राचार्य झन्डै तीन दशकसम्म स्थानीय राजनीतिको केन्द्रमा रहे । अन्ततः संस्कृति मन्त्रीसमेत भएर राष्ट्रिय पहिचान बनाए पनि उनले आफूले टेकेको धरातल कहिल्यै छोडेनन् । सत्तामा नपुगेको बेला निकै लोकप्रिय व्यक्ति पनि सत्तामा पुगेर त्यहाँबाट आफ्नो धरातलसम्म आउँदा पहिलेझैँ लोकप्रिय नहुने गरेको आम भोगाइ रहेको छ ।

वज्राचार्य त्यसबाट फरक साबित भएका थिए । हुन त लोकप्रिय भनेको विषय धेरैभन्दा धेरै मानिसको आम मनोविज्ञानसँग सम्बन्धित रहेको छ । त्यो मनोविज्ञान बन्नका लागि कुनै व्यक्तिको हाउभाउ, कार्य र गुणलाई अनुभूति गरेर, सुनेर मस्तिष्कमा पर्ने राम्रो छापले लोकप्रिय हुने हो । उनको राजनीतिक कर्म सामाजिक हित, त्यसमाथि विशेषतः कला, संस्कृति र सम्पदा पुनः निर्माण तथा संरक्षण गर्ने माध्यमका रुपमा स्थापित भयो । यही कारणले सक्रिय राजनीतिक कर्मका बाबजुद उनलाई मूलतः सामाजिक रुपमा धेरै मानिसले चिने । उनलाई धेरैले यसरी लिने र बुझ्ने गरेका छन् ।

समुदायमा भिजेर सामाजिक हितका कार्य गर्दै जाने क्रममा उनी एकपछि अर्को खुड्किलो चढ्दै स्थानीयदेखि राष्ट्रिय स्तरसम्म संस्कृति संरक्षण गर्ने व्यक्तित्वका रुपमा स्थापित भएका थिए । उनी पञ्चायती शासन व्यवस्थामा तत्कालीन ललितपुर नगरपञ्चायत– १७ वडाको सदस्य हुँदै पछि वडाध्यक्षबाट राजनीतिमा प्रवेश गरेका थिए । उनी झन्डै १५ वर्ष प्रधानपञ्च पनि भए ।

बहुदलीय प्रजातन्त्रकाल २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) ले उनलाई पार्टी सदस्य बनाएर चुनावको टिकट दियो । त्यसपछि तत्कालीन ललितपुर उपमहानगरपालिकको उनी मेयरमा निर्वाचित भएका थिए । चुनाव जित्न सक्ने लोकप्रिय व्यक्तिको खोजीमा पञ्च नै सही, आखिर उनले टिकट पाएर चुनाव पनि जिते । पछि उनी २०५८ सालमा राजसभा स्थायी सदस्यमा मनोनीत भए ।

साथै राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृतिमन्त्री पनि भएका थिए । राजनीतिक दृष्टिकोणले उनी मन्त्री हुनु गलत भन्नेहरुले पनि संस्कृति संरक्षणको क्षेत्रमा उनी योग्य रहेकोमा फरक मत राखेका थिएनन् । उनको समग्र राजनीतिक कर्मलाई सर्वसाधारणले यसैको परिपे्रक्ष्यमा बुझे ।

उनको सार्वजनिक पद आफ्नो सामाजिक कर्मकै दायरा विस्तार गर्ने माध्यमका रुपमा रहेको थियो । त्यसका साथै समुदायमा सामाजिक विधि व्यवहार सुधार गर्ने, लिच्छविकालीन तथा मल्लकालीन बौद्ध विहारहरुको लालपुर्जा निकाल्ने र खण्डहर बनेको पुल्चोकस्थित अक्षयेश्वर महाविहारलगायत सम्पदाहरुको पुनर्निर्माण र संरक्षणमा वज्राचार्यले आफूलाई सक्रिय राखेका थिए । मेयर हुँदा चक्रपथबाहिरका साबिकका गाविसहरूमा बौद्ध विहार निर्माणमा उनले सक्दो सहयोग गरेका थिए ।

यसले पनि उनको लोकप्रियता चुलिएको थियो । मेयर हुँदा, मन्त्री हुँदा उनी सभा–समारोहमा बुद्धका गीतहरुको संग्रह ज्ञानमाला भजन गाउँथे । ज्ञानमाला भजन गाउँदा सबैलाई मन्त्रमुग्ध पार्ने कोइलीको जस्तो उनको स्वर भएकोले स्थानीय स्तरमा उनी ‘कोइली’ उपनामले पनि चिनिन्थे । यसले उनको सार्वजनिक व्यक्तित्वमा थप आकर्षण झल्काएको थियो । उनले ललितपुरभित्र सबैसँगको सम्बन्धलाई सन्तुलनमा राखेका थिए ।

हुन त ललितपुरको जनप्रतिनिधि हुने जुनसुकै व्यक्ति, त्यति मात्र नभई स्थानीय निकायमा जनप्रतिनिधिविहीन भएको बेलामा ललितपुरमा सरुवा भई आएका अधिकृतहरु र वडा सचिवले पनि पाटी (फल्चा) बनाउने, मन्दिर पुनर्निर्माण गर्ने, विहार–महाविहारहरु संरक्षण गर्ने कार्य गरेको देखिन्छ । पदमा नहुँदा पनि यस किसिमका कामहरु गर्दै आएको कारणले त्यस कार्यमा उनको गहिरो लगाव थियो । त्यसलाई नै उनले राजनीतिको मुख्य एजेन्डा बनाएका थिए । उनले देश–विदेशदेखि र स्थानीय स्तरमा गर्ने आफ्नो प्रत्येक सम्बोधनमा कला, संस्कृति, बहाबही, पाटी, पौवा, देवालय, शिवालय, ढुंगेधाराको संरक्षण र संवद्र्धनको विषयमा कहिल्यै छुटाएको पाइएन । यही कारण उनी संस्कृति, सम्पदाप्रति प्रतिबद्ध व्यक्तित्वको रुपमा पहिचान बनेका होलान् ।

उनको सामाजिक पहिचानका कारण २०४६ सालको आन्दोलनको बेला उनको गाबहालस्थित घरमा ढुंगा हान्ने वा मन्त्री हुँदाकै बखत बम राखिदिने अनि २०६२|०६३ को जनआन्दोलनताका उनीविरुद्ध एकाध नाराबाजीहरु तत्कालीन समयको प्रतिक्रियामा सीमित रहे । त्यसले सामाजिकरूपमा प्रभावशाली उनको व्यक्तित्वमा खासै असर पुर्‍याएको देखिएन ।

उनीसँग प्रतिस्पर्धा गरेर २०४२ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित केशरबहादुर विष्टबाहेक ललितपुरबाट राजनीति गर्ने अन्यले उनले झैँ अभिछिन्न राजनीतिक व्यक्तित्व बनाउन सकेनन् । कसैले बनाए पनि आफ्नो चरित्र र व्यक्तित्वको साखलाई पहिलाझैँ जोगाएर राख्न अनेक कठिन परिस्थितिको सामना गर्नुपरेको देखिन्छ । त्यसको पहिलो कारण सत्तामा हुँदा गरिने व्यवहार हुने गरेको छ ।

भनिन्छ, पदको निश्चित अवधि हुन्छ । तर त्यही निश्चित अवधिमा गरेका काम, मानिसहरुलाई गर्ने व्यवहारमा भने सधैँ सम्झिरहनेछ । यो कुरा वज्राचार्यको जीवनमा चरितार्थ हुन्छ । चिनजानहरूको नजरमा सदैव हँसिलो अनुहार भएका, बाटोमा भेट्ने बालकदेखि वृद्धसम्मलाई सन्चा–बिसन्चो सोध्ने, त्यस्तै परिआएको खण्डमा सकेको सहयोग गर्ने उनका वैयक्तिक गुण सधैँ लोकप्रिय बनाइराख्ने सूत्रका रुपमा रहिरहे । यसले उनको राजनीतिक व्यक्तित्वलाई सामाजिक स्वीकार्य बढाउने रसायनको रुपमा भूमिका निर्वाह गर्‍यो ।

दोस्रो जनआन्दोलनपछि भारतीय राजदूतावासको सहयोगबाट विभिन्न विहार, महाविहार, पाटीहरु प्ुनर्निर्माण गर्ने कार्यमा उनी सक्रिय भई लागें । करोडौंको परियोजनामार्फत अनेक सम्पदाहरु पुनर्निर्माण पनि सम्पन्न भएका थिए । किशोरावस्थादेखि सामाजिक र सांस्कृतिक परिवेशमा भिजेर समाजीकरण भएका वज्राचार्य जीवनको आखिरी समयसम्म सम्पदाहरु पुनर्निर्माणमै सक्रिय थिए ।

संविधानसभाको निर्वाचनदेखि अहिलेसम्म निर्वाचनमा भाग लिएका प्रत्येक उम्मेदवारहरुले चुनाव प्रचारको दौरान भेटेर समर्थन लिन खोज्ने र कतिपयले उनको आशीर्वाद लिएर चुनाव प्रचार गर्ने गरेका थिए । उनको कला, संस्कृति, सम्पदाको एजेन्डालाई सबैले आत्मसात् गर्दै आएका छन् । स्थानीय चुनावदेखि संघीय चुनावसम्म त्यो विषय मुख्य एजेन्डा बन्नुको श्रेय उनलाई जान्छ । तर कतिपयले यसलाई केवल चुनावको विषयमात्र बनाउने गरेका छन् । तर उनका लागि यो केवल चुनाव जित्ने विषय मात्र थिएन, एउटा प्रतिबद्धता र अटुट लक्ष्य थियो ।

पदमा हुँदा गर्ने निर्णय र कामले आलोचना निम्त्याउने स्वाभाविक पनि हो । सार्वजनिक जीवन सेवाग्राही, कर्मचारी प्रशासनलगायत विविध दृष्टिबाट टीकाटिप्पणी हुनु, अनेक क्रिया–प्रतिक्रियाको घेरामा हुनु स्वाभाविक पनि हो । सबैसँग समन्वयात्मक काम गरी उनले यही घेराका बीचबाट अघि बढेर आफूलाई सामाजिक एवं सांस्कृतिक व्यक्तिका रुपमा स्थापित गरिरहे । यही नै उनको जीवनको सबल र सफल पक्ष थियो ।

आफ्नो धार्मिक–सांस्कृतिक पृष्ठभूमि, शक्तिसम्बन्धसंँगै निरन्तर सक्रियता, धर्म, संस्कृति, सम्पदा, परम्परासँग पदीय जिम्मेवारीले जोडिएकोले मात्र होइन, स्वयं आफ्नै चाहना र सक्रियताले ललितपुरमा उनको वर्चश्व बलियोसँग स्थापित भएको थियो । यही वर्चश्वले सार्वजनिक वृत्तमा उनको उपस्थिति लामो समयसम्म रहिरह्यो । ललितपुरको परिवेशमा सम्पदा संरक्षण, सांस्कृतिक, धार्मिक तथा त्यसमा पनि बौद्ध धर्मको क्षेत्रमा क्रियाशील संघसंस्थाले पदमा नभएको बेला पनि उनी लगभग स्थायी प्रमुख अतिथिझैँ बनेका थिए । राजनीतिक संक्रमणकालको केही समयमा बाहेक उनलाई स्थान दिन समाजले कहिल्यै कन्जुस्याइँ गरेन ।
व्यक्तित्व भनेको निश्चित सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशमा निर्माण हुने हो । ललितपुरको परिवेश, धार्मिक, सांस्कृतिक मनोविज्ञान, कला, संस्कृति र सम्पदा संरक्षणको चेतबाट हुर्किएर वज्राचार्यको व्यक्तित्व बनेको हो । यही चासो र चिन्ताले उनको पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्रकाल हुँदै गणतन्त्रकालसम्म राजनीतिक र सामाजिक सक्रियता निरन्तर रहिरह्यो । अनि यही परिस्थति र परिवेशमा जन्मिएका संघसंस्थाले उनको लोकप्रिय छवि निर्माणमा टेवा पुर्‍याइरहे । उनलाई मूलतः सामाजिक व्यक्तित्व बनाइरहे । राजधानीको छायामा परेको ललितपुरलाई ब्रान्डिङ गर्ने अग्लो व्यक्तित्वका रुपमा वज्राचार्यलाई यहाँको परिवेशबाट बुझ्न सकिन्छ ।

जीवनमा जन्मिएपछि मृत्यु स्वाभाविक परिणति हो । जीवन अनिश्चित छ तर मृत्यु भने निश्चित । जीवनको आखिर समयसम्म सक्रिय हुने क्रममा यही श्रावण २ गते शुक्रबार उनको निधन भयो । वज्राचार्यको निधनलाई ललितपुर नगरको समग्र विकासको एउटा अध्यायको अन्त्यको रुपमा लिइएको छ । ललितपुरको कला, संस्कृति र सम्पदाको संरक्षणको स्मृतिमा उनी लामो समयसम्म बाँचिरहने छन् ।