गाजामा सहायता लिने क्रममा इजरायली गोलीबारी, कम्तीमा ३० भन्दा बढीको मृत्यु भएको हमासको दाबी


गाजा।

हमासको नागरिक रक्षा एजेन्सीले बुधबार उत्तरी गाजामा मानवीय सहायता लिने क्रममा भएको इजरायली गोलीबारीमा कम्तीमा ३० जना प्यालेस्टिनीको ज्यान गएको दाबी गरेको छ। एजेन्सीका अनुसार घटनामा ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

समाचार संस्था एएफपीसँग कुराकानी गर्दै गाजा नागरिक रक्षा एजेन्सीका प्रवक्ताले घटनास्थलमा ठूलो संख्यामा सर्वसाधारणहरू सहायता सामग्रीको प्रतीक्षामा रहेको बताउँदै गोलीबारी भएको जानकारी दिए। उनका अनुसार घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्नेछ।

यस घटनापछि गाजास्थित अल-शिफा अस्पतालमा ३५ जना मृतकको शव ल्याइएको अस्पताल निर्देशक डा. मोहम्मद अबु सल्मियाले एएफपीलाई जानकारी दिए। अर्कोतर्फ, एसोसिएटेड प्रेसले अस्पताल स्रोतको हवाला दिँदै कम्तीमा ४८ जना मारिएको उल्लेख गरेको छ।

तर इजरायली सेना (IDF) ले घटनाबारे फरक धारणा राखेको छ। सेनाले भनेको छ, “सहायता ट्रक वरिपरि ठूलो भीड जम्मा भएपछि जनतालाई तितर-बितर गर्न चेतावनीस्वरूप गोली चलाइएको हो, कुनै हताहतको रिपोर्ट हामीसँग छैन।” IDF ले थप अनुसन्धान भइरहेको जनाएको छ।

हाल गाजामा खाद्यान्न र औषधिको चरम अभावका कारण मानवीय संकट गहिरिँदै गएको छ। संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय निकायहरूले दुबै पक्षलाई नागरिकको सुरक्षामा संवेदनशील बन्न आग्रह गरेका छन्।