क्यान बोर्ड बैठक सुरु, एनपीएल समीक्षा र आर्थिक प्रतिवेदन मुख्य एजेन्डा


काठमाडौं ।

नेपाल क्रिकेट संघ क्यानको बहुप्रतीक्षित बोर्ड बैठक आज बिहान मूलपानीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा सुरु भएको बैठकमा नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणको समीक्षा र आर्थिक प्रतिवेदन मुख्य एजेन्डाका रूपमा प्रस्तुत हुने भएको छ।

क्यान भित्रैका केही असन्तुष्ट सदस्यले एनपीएल अपारदर्शी रूपमा सञ्चालन गरिएको आरोप लगाउँदै बैठकमा सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेका छन्। यही कारण आजको बैठकलाई क्रिकेट सरोकारवालाहरूले विशेष चासोका साथ हेरिरहेका छन्।

सचिव र कोषाध्यक्षद्वारा प्रस्तुति

बैठकमा क्यानका सचिव पारस खड्का ले एनपीएल आयोजनाको समग्र समीक्षा प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष पदम खड्का ले आर्थिक प्रतिवेदन बोर्डमा पेस गर्ने तयारी छ। क्यानले पहिलो संस्करणमै मुनाफा भएको दाबी गरे पनि यसको यथार्थ विवरण, आम्दानी, खर्च र पारदर्शिता अझै प्रश्नको घेरामा छ।

विशेषतः खेलाडी भुक्तानी, प्रायोजन सम्झौता, बजेट व्यवस्थापन लगायतका विषयमा स्पष्ट विवरण बाहिर नआएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ।

विश्वास पुनःस्थापना आवश्यक

क्रिकेट सम्वद्ध विश्लेषकहरू भन्छन्, “क्यानले यदि आजको बैठकमार्फत सम्पूर्ण आर्थिक र व्यवस्थापन विवरण सार्वजनिक ग¥यो भने मात्र संस्था प्रतिको विश्वास फर्किन सक्छ।” उनीहरूका अनुसार, एनपीएलजस्तो ठूलो आयोजनामा पारदर्शिता कायम गर्नु संघको दायित्व हो।

दोस्रो संस्करणको भविष्यप्रति चासो

आजको बैठकले एनपीएलको दोस्रो संस्करणको सम्भावना, समयावधि र तयारीको खाका पनि तय गर्ने अपेक्षा गरिएको छ। आयोजक र क्यान नेतृत्वले “सबै प्रक्रिया नियमानुसार भएको” जिकिर गर्दै आलोचनालाई अस्वीकार गर्दै आएका छन्।

एनपीएलको सफलतासँगै उठेका प्रश्नको उत्तर क्यानको पारदर्शिता र जवाफदेहितामै निर्भर रहनेछ। आजको बैठक त्यस दिशामा निर्णायक बन्ने अपेक्षा राखिएको छ।