भक्तपुर ।
भक्तपुरको दूधपाटीमा रहेको भक्तपुर अस्पतालमा मिर्गाैला रोगको उपचारका लागि डायलासिस सेवा शुरू भएको छ । बुधबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उक्त सेवाको शुरू गर्नुभएको हो ।
वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ बेडको डायलासिस सेवाको सुभारम्भ भएको छ । कार्यक्रममा बोल्दै मन्त्री थापामगरले मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी ५ मेसिन वागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको बताउनुभयो । मन्त्री थापा मगरले वागमती प्रदेशअन्तर्गतका १३ अस्पतालमध्ये ११ अस्पातलमा डायलासिस सेवा शुरू भइसकेको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले निकट भविष्यमै ‘वागमती डिजिटल हेल्थ’ कार्यक्रम शुरू गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले न्यूनतम सेवा मापदण्डमा आधारित मूल्यांकन गर्दा भक्तपुर अस्पताल वागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भइसकेको र यो प्रगति अन्य अस्पतालका लागि सिकाइको विषय बनेको बताउनुभयो ।
अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले एउटा मेसिनलाई आकस्मिक सेवाका लागि राखी बाँकी ४ मेसिनबाट दैनिक ३ सिफ्ट सञ्चालन गरी एकैदिन ३६ जनासम्म मिर्गौला फेल भएका बिरामीलाई डायलासिस सेवा प्रवाह गर्न सकिने बताउनुभयो ।
भक्तपुर अस्पतालकै परिसरभित्र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भए तापनि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन । प्रत्यारोपण केन्द्रमा डायलासिसको समय नपाएपछि दैनिक दर्जनौं बिरामी निजी क्लिनिकमा डायलासिस गराउन बाध्य छन् ।
निजीमा एकपटक डायलासिसको गरेको सामान्य शुल्कः रु २ हजार ५ सयदेखि ५ हजार ५ सय सम्म पर्ने गर्दछ । महिनामा औसत ८ देखि १२ पटकसम्म डायलासिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा महँगो पर्दछ ।
वीर अस्पताल पछिको देशकै दोस्रो जेठो यो अस्पताल बिगतमा रिफर सेन्टरको रूपमा सीमित रहेको भए पनि हाल प्रगति गरिरहेको छ ।
विगतमा संघअन्तर्गत रहेको र हाल वागमती प्रदेश सरकार मातहत सञ्चालित अस्पतालले आईसीयू, एनआईसीयू, एचडीयूसहित अत्याधुनिक शल्यक्रिया सेवासमेत प्रदान गर्दै आएको छ ।
अ
स्पतालमा डायलासिस सेवा विपन्न वर्गका लागि निःशुल्क हुने वागमती प्रदेश सभाका पूर्व सदस्यसमेत रहेका अस्पताल विकास समितिका अध्यक्ष शशीजंग थापाले बताउनुभयो ।
गत जेठदेखि ८ करोड लागतमा अस्पतालले सिटी स्क्यान सेवासमेत सञ्चालन गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो । अस्पतालमा ल्याब रिपोर्ट पनि क्यूआर कोडमार्फत उपलब्ध हुने गरेको छ ।











प्रतिक्रिया