ब्राजिल कोपा अमेरिकाको फाइनलमा


लन्डन, (एजेन्सी)

साबिक विजेता ब्राजिल इक्वेडरमा भइरहेको महिला कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

रोड्रिगो पाज डेल्गाडोमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा ब्राजिलले उरुग्वेमाथि एकपक्षीय ५–१ को जित निकालेको हो । टोलीलाई जित दिलाउन अमान्डा गुटिएरेसले दुई तथा जियो गार्बेलिनी, कप्तान मार्टा र डुडिन्हाले समान एक गोल गरे । उरुग्वेका लागि एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको ११औं मिनेटमा गुटिएरेसको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । दुई मिनेटपछि नै गार्बेलिनीले टोलीको अग्रता दोब्बर बनाइन् ।

मार्टाले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा ब्राजिलले ३–० को आरामदायी अग्रता लिएको थियो । ५१ औं मिनेटमा इसा हासबाट आत्मघाती गोल हुन पुग्दा खेल ३–१ को स्थितीमा आयो ।

गुटिएरेसले ६५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा डुडिन्हाले गोल गरिन् ।

ब्राजिलले उपाधिका लागि कोलम्बियाको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा कोलम्बियाले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो।

सर्वाधिक आठ पटकको च्याम्पियन ब्राजिलले १०औं पटक (हालसम्मका सबै ) फाइनल यात्रा तय गरेको हो । कोलम्बियाले भने चार पटक फाइनलको यात्रा गरेपछि उपाधि भने जित्न सकेको छैन ।