नेपालको लागि उत्तर कोरियाको चुनौती


काठमाडौं।

भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटका लागि खेल्ने नेपाली यू–२० महिला फुटबल टोलीलाई बुधबार बिदाइ गरिएको छ ।
अखिल नेपाल फुबल संघ (एन्फा) ले दशरथ रंगशालामा एक कार्यक्रम गर्दै बिदाई गरेको हो । अगस्ट ६ देखि ११ तारिखसम्म चल्ने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ ।

नेपालको लागि उत्तर कोरिया जस्तो बलियो टोलीसँग प्रतिस्पर्धा गर्नु पर्ने चुनौती रहेको छ । उत्तर कोरिया गत संस्करणको विजेता टोलीसमेत हो । साथै उत्तर कोरियाले यु २० एसियन कप दुई पटक जितेको छ ।
तर, नेपाली युवा महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले भने इतिहास रच्ने बताए । उनले उत्तर कोरियालाई बराबरीमा रोक्ने प्रयास गर्ने बताएका थिए । यस्तै, टोली कप्तान बिर्सना चौधरीले जित्नैको लागि खेल्ने बताइन् ।

यस समूहमा अन्य दुई टोलीमा आयोजक भुटान र साउदी अरेबिया रहेका छन् । एक टोली मंगोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएपछि यस समूहमा चार टोली रहेको हो ।

नेपालले भुटानसँग भर्खरै बंगलादेशमा सम्पन्न यु २० साफ महिला च्याम्पियनसिपमा खेलिसकेको छ । जसमा, नेपालले दुबै खेलमा फराकिलो जित निकालेको थियो । पहिलो खेलमा ६–१ ले जितेको नेपालले दोस्रो खेलमा भुटानलाई ८–० ले हराएको थियो ।

सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि प्रत्येक समूहको शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपमा छनोट हुनेछ । आठ समूहमा विभाजित छनोट प्रतियोगिताबाट उत्कृष्ट तीन उपविजेता टोली पनि छनोट हुने प्रावधान रहेको छ । एक आयोजक टोली थाइल्यान्डसमेत गरी २०२६ को यु २० महिला एसियन कपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली
गोलकिपर : लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्डर : सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर : कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फरवार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर
नेपालको खेल (यही साउनमा)
२१ गते भुटान
२३ गते साउदी अरेबिया
२५ गते उत्तर कोरिया