क्यानाडाका पूर्व प्रधानमन्त्री ट्रुडो र गायिका केटी पेरीबीच मोन्ट्रियलमा डिनर, नयाँ सम्बन्धको अड्कलबाजी


मोन्ट्रियल, क्यानाडा।

क्यानाडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी चर्चित पपगायिका केटी पेरीले हालै क्यानाडाको मोन्ट्रियलस्थित एक उच्चस्तरीय चमेनागृहमा सँगै रात्रिभोज गरेका छन्। उनीहरूबीच ले भियोलोँ नामक रेस्टुरेन्टमा भएको यो भेटघाटले नयाँ सम्बन्धको चर्चा सृजना गरेको छ।

रेस्टुरेन्टका सञ्चार सल्लाहकारले मंगलबार उक्त भेटघाटको पुष्टि गर्दै बताएका छन् कि सोमबार साँझ करिब दुई घण्टा उनीहरू चमेनागृहमा बसेका थिए। यो खबर सार्वजनिक भएपछि अमेरिकी चर्चित मिडिया टीएमजेडले दुई जनाको साथमा रहेका केही तस्बिरहरू प्रकाशित गरेको थियो, जसले सामाजिक सञ्जालमा उनीहरूबीच प्रेमसम्बन्धको हल्ला फैलाएको छ।

यद्यपि, रेस्टुरेन्टकी कर्मचारी सामन्था जिनले भने, “उनीहरू दुवै शान्त स्वभावका थिए, प्रेमिल संकेत देखिएन।” उनका अनुसार सुरक्षाकर्मीहरूले सुरुदेखि अन्त्यसम्म उनीहरूलाई नियालिरहेका थिए।

एपी समाचार एजेन्सीका अनुसार, ट्रुडो र पेरीले भान्सेले तयार पारेको विशेष भोज— टुना, कुरिलो र भेडाको मासु—को स्वाद लिएका थिए। भोजनपछि उनीहरूले भान्सा टोलीसँग व्यक्तिगत रूपमा भेट गरी धन्यवाद दिएका थिए।

दुबै छुट्टिएको अवस्थामा

केटी पेरी हालै आफ्ना लामो समयका जोडी ओर्ल्यान्डो ब्लुमबाट छुट्टिएकी हुन् र अहिले सांगीतिक भ्रमणमा छिन्। उता, ट्रुडोले पनि आफ्नी पूर्वपत्नी सोफी ग्रेगोयरसँग सन् २०२३ मा सम्बन्ध विच्छेद गरेका थिए।

प्रेम र सम्बन्धबारे सार्वजनिक रूपमा दुबैले केही बताएका छैनन्। तर यिनको भेटले राजनीति र मनोरञ्जनको दुनियाँ एकै टेबलमा आएको चर्चा चुलिएको छ।