भक्तपुर ।
भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पतालमा मृगौला रोगको उपचारका लागि डायलासिस सेवाको सुरु भएको छ । आज अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उक्त सेवाको सुरु हरेका हुन्।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ बेडको डायलासिस सेवाको शुभारम्भ भएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री थापामगरले मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी ५ मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको बताए । मन्त्री थापा मगरले बागमती प्रदेश अन्तर्गतका १३ अस्पतालमध्ये ११ अस्पतालमा डायलासिस सेवा सुरु भैसकेको जानकारी दिए । स्वास्थ्य मन्त्री थापाले मन्त्रालयले निकट भबिष्यमै ‘बागमती डिजिटल हेल्थ’ कार्यक्रम सुरु गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले न्युनतम सेवा मापदण्डमा आधारित मूल्यांकन गर्दा भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भइसकेको र यो प्रगति अन्य अस्पतालका लागि सिकाइको विषय बनेको बताइन्।

अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले एउटा मेशिनलाई आकस्मिक सेवाका लागि राखी बाँकी ४ मेशिनबाट दैनिक ३ सिफ्ट सञ्चालन गरी एकैदिन ३६ जनासम्म मिर्गौला फेल भएका बिरामीलाई डायलासिस सेवा प्रवाह गर्न सकिने बताए ।
भक्तपुर अस्पतालकै परिसर भित्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भएतापनि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन ।
प्रत्यारोपण केन्द्रमा डायलासिसको समय नपाएपछि दैनिक दर्जनौं बिरामी निजी क्लिनिकमा डायलासिस गराउन बाध्य छन् ।
निजीमा एकपटक डायलासिसको गरेको सामान्य शुल्क रु २ हजार ५ सयदेखि ५ हजार ५ सय सम्म पर्ने गर्दछ ।
महिनामा औसत ८ देखि १२ पटकसम्म डायलासिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा महँगो पर्दछ ।
वीर अस्पताल पछिको देशकै दोस्रो जेठो यो अस्पताल विगतमा रिफर सेन्टरको रुपमा सीमित रहेको भए पनि हाल प्रगति गरिरहेको छ ।
विगतमा संघ अन्तर्गत रहेको र हाल बागमती प्रदेश सरकार मातहत संचालित अस्पतालले आइसियु, एनआइसियु, एचडियु सहित अत्याधुनिक शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको छ ।
अस्पतालमा डायलासिस सेवा विपन्न वर्गका लागि निःशुल्क हुने बागमती प्रदेश सभाका पूर्व सदस्य समेत रहेका अस्पताल विकास समितिका अध्यक्ष शशीजंग थापाले बताए ।
गत जेठदेखि ८ करोड लागतमा अस्पतालले सिटी स्क्यान सेवा समेत सञ्चालन गर्न सफल भएको अध्यक्ष थापाले बताए ।अस्पतालमा ल्याब रिपोर्ट पनि क्युआर कोडमार्फत उपलब्ध हुने गरेको छ ।











प्रतिक्रिया