टोकियो, (एजेन्सी)
जापानका १६ वर्षीय युवा धावक सोरातो शिमिजुले १ सय मिटर दौड केवल १० सेकेन्डमा पूरा गर्दै अन्डर–१८ उमेर श्रेणीमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
शनिबार जापानमा सम्पन्न इन्टर हाई स्कूल च्याम्पियनसिपमा शिमिजुले उक्त उपलब्धि हासिल गरेका हुन् । शिमिजुको गति यति तीव्र थियो कि उनले आफ्ना प्रतिस्पर्धीहरूलाई सहजै पछि पार्दै दौड समाप्त गरे ।
दोस्रो स्थान हासिल गर्ने धावकले १०.२७ सेकेन्ड समय लिएका थिए । यसअघि, अन्डर–१८ श्रेणीको विश्व रेकर्ड १०.०६ सेकेन्ड रहेको थियो, जुन सन् २०२३ मा अमेरिकी धावक क्रिश्चियन मिलर र थाइल्याण्डका पुरिपोल बूनसनले बनाएका थिए ।
को हुन् सोरातो शिमिजु ?
सोरातो शिमिजु जापानको इशिकावा प्रिफेक्चर निवासी हुन् र हाल विद्यालयस्तरमै अध्ययनरत छन् । उनी अध्ययन गर्ने विद्यालयले खेलकुदमा विशेष इतिहास बोकेको छ । जसले विगतमा पनि धेरै प्रतिभाशाली खेलाडीहरू उत्पादन गरिसकेको छ ।
गत वर्षको हाई स्कूल च्याम्पियनसिपमा उनले १०.३७ सेकेन्डमा १ सय मिटर दौड पुरा गरेका थिए । यसै जुलाईमा उनले आफ्नो समय घटाउँदै १०.१९ सेकेन्ड पु¥याएका थिए । तर, यो हप्ता उनले संसारभरका खेलप्रेमीहरूको ध्यान आकर्षित गर्दै कीर्तिमान नै तोडे ।
बोल्टको रेकर्ड तोड्लान त ?
अस्ट्रेलियाका किशोर धावक गोउट गोउट हाल विश्वभर चर्चित छन । उनलाई ‘नेक्स्ट उसैन बोल्ट’ भन्ने गरिन्छ । यद्यपि, गोउट गोउटको छायाँमा रहेका शिमिजुले आफ्नो गति र दृढताले सबैलाई चकित पारेका छन् । १६ वर्षको उमेरमै उनी जापानको इतिहासमा पाँचौं सबैभन्दा छिटो १ सय मिटर दौडने खेलाडी बन्न सफल भएका छन् ।
अझ रोचक कुरा त के छ भने शिमिजुले पुरा १ सय मिटर १० सेकेन्डमा दौडेर जमैकन लिजेन्ड उसैन बोल्टले २० वर्षको उमेरमा बनाएको व्यक्तिगत कीर्तिमान (१०.०३ सेकेन्ड) लाई उछिनेका छन् ।
अब शिमिजुको यात्रा कता ?
शिमिजुको यो प्रदर्शन भविष्यका लागि निकै आशाजनक छ । उनले १० सेकेन्डको समय निकालेर सेप्टेम्बरमा टोकियोमा हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा सहभागिताका लागि योग्यता प्राप्त गरेका छन् ।
यद्यपि उनी प्रतियोगितामा सहभागी होलान् वा नहोलान्, तर उनले अहिले नै प्रमाणित गरिसकेका छन् कि उनी गोउट गोउटका कडा प्रतिस्पर्धी हुनसक्छन् भनेर । भविष्यमा उनले आफ्नो क्षमता सुधारे ओलम्पिकमा पनि नयाँ रेकर्ड बनाउने आशा गर्न सकिन्छ ।











प्रतिक्रिया