इंग्ल्यान्ड लगातार दोस्रो पटक युरो कप च्याम्पियन


लन्डन, (एजेन्सी)

इंग्ल्यान्ड लगातार दोस्रो पटक महिला युरो कप च्याम्पियन बनेको छ ।
इंग्ल्यान्डले उपाधि जितेसँगै महिला विश्वकप फुटबलको वर्तमान विजेता स्पेनको युरो कप च्याम्पियन बन्ने सपना आइतबार राति स्वीट्जरल्यान्डमा टुंगियो । रोमाञ्चक फाइनल खेलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै लगातार दोस्रोपटक युरोपियन उपाधि उचाल्न सफल भयो ।
इंग्ल्यान्डले सन् २०२२ मा पनि युरो कप जितेको थियो । यसपटक इंग्ल्यान्डले विश्वकप विजेता स्पेनलाई स्तब्ध पार्दै आफ्नो दबदबा कायम राखेको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो, जहाँ इंग्ल्यान्डले बाजी मा¥यो ।

स्पेनले पहिलो पेनाल्टीमा गोल गरे पनि त्यसपछि लगातार तीन पेनाल्टी चुकायो । अर्कोतर्फ, इंग्ल्यान्डले पाँच पेनाल्टी प्रहारमध्ये तीनमा गोल गर्दै खेलको नतिजा आफ्नो पक्षमा पा¥यो । स्पेनले पाँचौँ पेनाल्टी प्रहार गर्न नपाउँदै इंग्ल्यान्ड विजयी घोषित भयो । यो हारसँगै युरो कपको उपाधि हात पार्ने स्पेनको पहिलो प्रयास असफल भएको छ ।

गत वर्ष फिफा महिला विश्वकपको उपाधि जितेको स्पेन यसपटक युरो कप पनि जित्ने योजनामा थियो । तर, अनुभवी इंग्लिस टिमले स्पेनको सपना अधुरै बनाईदियो । स्पेनको खराब पेनाल्टी प्रहारहरू नै हारको मुख्य कारण बने । सन् २०२२ मा इंग्ल्यान्डले वेम्बली स्टेडियममा अतिरिक्त समयमा जर्मनीलाई २–१ ले हराउँदै पहिलो पटक यस च्याम्पियनसिपको उपाधि जितेको थियो ।

यसपटक भने उपाधि इंग्ल्यान्डले जिते पनि व्यक्तिगत अवार्ड भने अधिकांश स्पेनका खेलाडीले जिते । पेनाल्टी सुटआउटमा चुक्ने मिडफिल्डर अइटाना बोनमाटीलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित गरियो । उनले ६ खेलमा एक गोल र एक असिस्ट गरेकी थिइन् । यस प्रदर्शनका आधारमा उनलाई ‘बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट’ को उपाधि प्रदान गरिएको हो । त्यस्तै, ६ खेलमा चार गोल गर्ने इस्थर गोन्जालेजले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा ‘गोल्डेन बुट’ जितिन् ।

यो प्रतियोगिता सन् १९८४ मा सुरु भएको थियो, जसको पहिलो उपाधि स्विडेनले जितेको थियो । त्यसपछि नर्वे र जर्मनी बलियो टिमका रूपमा उदाए । विशेषगरी जर्मनीले उत्कृष्ट प्रदर्शन गर्दै सन् १९८९ देखि २०१३ सम्म आठपटक उपाधि जित्यो । त्यसमध्ये १९९५ देखि २०१३ सम्म ६ पटक लगातार च्याम्पियन बनेर जर्मनीले कीर्तिमान नै बनाएको छ ।

उल्लेखनीय फाइनलहरूमध्ये जर्मनीले सन् २००९ मा इंग्ल्यान्डलाई ६–२ ले हराएको र २०१३ मा नर्वेलाई १–० ले पराजित गरेको खेल पर्दछन् । त्यस अवधिमा नर्वे, स्विडेन र इटालीले पनि धेरै पटक फाइनलमा स्थान हासिल गरे । सन् २०१७ मा नेदरल्यान्ड्सले घरेलु मैदानमै पहिलो उपाधि जित्दै नयाँ इतिहास रचेको थियो।