इलाम।
तीन आर्थिक बर्षसम्म निरन्तर बजेट विनियोजन नहुँदा इलामको गौरवको योजनाको रुपमा रहेको रंगशाला अलपत्र परेको छ । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सकिने गरी इलाम नगरपालिका १० गोदक राजदुवाली स्थित टप्पुमा ६ बर्ष अघिबाट निर्माण थालिएको माइभगवती रंगशाला अलपत्र परेको हो ।
१ सय २० रोपनी क्षेत्रफलमा फैलिएको रंगशाला निर्माण गर्न ५० करोड रुपैयाँ लाग्ने गरी डीपीआर बनेको थियो । तर त्यो रंगशाला बनाउन हालसम्म कोशि प्रदेश सरकार र इलाम नगरपालिकाबाट चार करोड एकलाख मात्र बजेट बिनीयोजन भएर केही संरचनाको काम भयो । प्रगति १० प्रतिशत जति भएको इलाम नगरपालिकाका इञ्जिनियर क्षितिज दाहालले बताए ।
बनाइएका संरचना पनि भत्किने अवस्थामा पुगेको छ । यहि गतिमा बजेट बिनीयोजन गर्ने हो भने निर्माण सम्पन्न हुन ५० बर्ष लाग्ने निश्चित छ । राज्यले खेलकुद क्षेत्रलाई कति प्राथमिकतामा राखेको छ भन्ने कुरा बजेटको परिमाण हेर्दा प्रस्टै हुन्छ ।
इलाम नगरपालिका र कोशी प्रदेशको लगानीमा निर्माण थालिएको रंगशाला निर्माणका लागि अघिल्लो, गत र चालु आर्थिक बर्षमा बजेट नै बिनीयोजन भएन । प्रदेश सरकारसंग पटक पटक बजेट माग गरिएपनि सुनुवाइ नभएको तथा इलाम नगरपालिका एक्लैले बनाउन नसक्ने हुँदा समस्या समस्या उत्पन्न भएको इलाम नगरपालिकाका मेयर केदार थापाले बताए ।
निर्माणधीन रंगशाला अहिले झाडिले घेरीएको छ । यो मैदान निर्माण भए फूटबल, क्रिकेटका खेल सञ्चालनमा सहज बन्ने थियो । हालसम्म चार चरणमा पर्खाल, प्याराफिट, रेलिङ्ग निर्माणको काम भएका छन् । फूटबल खेल्न योग्य बनाउनका लागि पनि करोड भन्दा बढी बजेट लाग्ने देखिएको छ ।
फूटबललाई उर्वर भूमि मानिने इलाममा हाल खेलकुद गतिबिधि ठप्प झै छ । जिल्लाकै एकमात्र सदरमुकाममा रहेको ठूलो टुडिखेल समेत जिर्ण अवस्थामा छ । मैदानमा दुबो रोपणको काम भइरहेको छ । जसले गर्दा फुटबल÷क्रिकेट जस्ता खेल हुन सकेको छैन भने खेलाडीहरु प्रशिक्षण बिहिन् भएर घरमै थन्किएर छन् । यस्ता ठूला आयोजना निर्माणको गति धिमा हुँदा आयोजनाको लागत समेत बढ्ने निश्चित छ ।
रंगशाला निर्माणका लागि बजेट
आर्थिक बर्ष ०७६-७७ मा १ करोड ३६ लाख ८७ हजार
आर्थिक बर्ष ०७७-०७८ मा ८४ लाख १९ हजार
आर्थिक बर्ष ०७८-०७९ मा ८४ लाख १९ हजार
आर्थिक बर्ष ०७९-०८० मा १ करोड २ लाख ९८ हजार











प्रतिक्रिया