काठमाडौँ ।
थाईल्यान्ड र क्याम्बोडियाले “बिनासर्त तत्काल लागू हुने” गरी युद्धविराम गर्न सहमत भएका छन् । मलेशियाको मध्यस्थतामा दुई देशका प्रधानमन्त्रीहरूबीच भएको शान्तिवार्तापछि यो सहमति घोषणा गरिएको बीबीसीले जनाएको छ।
दुवै देशबीचको तनाव पछिल्लो समय उच्च विन्दुमा पुगेको थियो। गत साता सीमावर्ती क्षेत्रमा भएको सैन्य झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो।
शान्तिवार्तापछि आयोजित पत्रकार सम्मेलनमा क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले सहमतिलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गरे। उनीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ सरकारलाई शान्ति प्रक्रिया अघि बढाउन भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरे।
अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिणपूर्वी एसियाका यी दुई छिमेकी देशलाई वाशिङ्टनसँगको व्यापार वार्ता अघि युद्धविराम गर्न आह्वान गरेका थिए। उनले दिएको कूटनीतिक दबाबपछि थाईल्यान्डले मलेशियाको मध्यस्थता स्वीकार गरेको बताइएको छ। त्यस्तै, चीनले पनि शान्ति स्थापनाको लागि आफ्नो प्रतिनिधिमण्डल वार्तामा पठाएको थियो।
मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले भने, “यो सहमति दक्षिणपूर्वी एसियामा शान्ति र स्थायित्वका लागि एक ऐतिहासिक प्रगति हो। दुबै पक्षको प्रतिबद्धता र संयमता सराहनीय छ।”
युद्धविराम सम्झौताअनुसार दुई देशबीच उच्चस्तरीय प्रत्यक्ष संवाद पुनः सुरु गरिनेछ। प्रधानमन्त्री, विदेशमन्त्री र रक्षामन्त्रीस्तरमा नियमित सम्पर्क कायम गर्ने सहमति पनि भएको छ। साथै, युद्धविरामको कार्यान्वयन र अनुगमन गर्नका लागि विस्तृत संयन्त्र बनाउने विषयमा तीन देश (मलेशिया, थाईल्यान्ड र क्याम्बोडिया) का रक्षामन्त्री तथा विदेशमन्त्रीहरूलाई जिम्मेवारी दिइने उल्लेख गरिएको छ।
विश्लेषकहरूका अनुसार यो सहमति तत्कालीन हिंसात्मक अवस्थालाई मत्थर पार्न सहयोगी हुने भए पनि दीर्घकालीन समाधानका लागि प्रष्ट र पारदर्शी संवाद प्रक्रिया अझै आवश्यक छ।
झन्डै एक शताब्दीदेखि थाईल्यान्ड र क्याम्बोडिया बीच सीमा विवाद जारी छ। ऐतिहासिक दस्तावेजहरूको भिन्न व्याख्या, धार्मिक सम्पदा र सीमामा रहेको भूमिको स्वामित्व विवाद यस्ता द्वन्द्वको मुख्य कारण रहँदै आएको छ।
हालैको सहमति सकारात्मक सुरुवात भए पनि स्थायी शान्तिका लागि दुवै देशको सहकार्य, विश्वास निर्माण र कूटनीतिक संयमता अत्यावश्यक रहनेछ।











प्रतिक्रिया