सन्दर्भ:राष्ट्रिय रक्तसञ्चार दिवस रगत दिऔँ, जीवन जोगाऔँ हामी सबैको

2.91k
Shares

आज श्रावण १२ गते, हाम्रो देशमा राष्ट्रिय रक्तसञ्चार सेवा दिवसको दिनको रूपमा हामी मनाउँदै आइरहेका छौँ । हरेक वर्षझैँ यो वर्ष पनि नियमित वार्षिकोत्सवको रूपमा समीक्षा गरेर मात्र सीमित गर्नुहुन्न । विगतदेखि वर्तमानसम्म आइपुग्दा रक्त व्यवस्थापनको क्षेत्रमा कतिको सफलता हासिल गर्न सक्यौँ ? कतिको सकेनौँ ! यो नै भविष्यको दूरगामी सोचं हुन जरुरी छ ।
इतिहासले २००० सालदेखिको अभिलेख साक्षी छोडेको छ । राष्ट्रिय रक्तसञ्चार सेवा दिवस २०२३ सालदेखिको मात्र भन्ने गरेको पाइयो । यी दुई साल आफँैमा अन्तरद्वन्द्व र विरोधाभास किन बनाइरहेका छन् ? सम्बन्धित निकायले यस विषयमा निक्र्याैल गर्नुपर्ने हो, तर भइरहेको छैन । सन्दर्भ राष्ट्रिय रक्तसञ्चार सेवा दिवस श्रावण १२ को ! राष्ट्रिय रक्तसञ्चार सेवा दिवसलाई ८२औँ भनौँ कि ६०औँ ?

विषयगत आवश्यकता र त्यसप्रतिको समर्पणविनाको नेतृत्वले गर्दा देशको हरक्षेत्र अस्तव्यस्त एवं डामाडोलको अवस्थामा पुगेको छ भन्दा अत्युक्ति नहोला । यसरी यस्तो अवस्थाको सिकार क्रमिक तवरले विभिन्न निकायहरूमा पर्दै गइरहेको छ । राज्यको अति संवेदनशीलभन्दा अति संवेदनशील क्षेत्रमा समेत यसको प्रभाव पर्दै आइरहेको छ ।

सन्दर्भ माथि उल्लिखित ८२औँ भनौं कि ६०औँ राष्ट्रिय रक्तसञ्चार सेवा दिवसको– विकल्परहित रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको व्यवस्थापन कतिसम्म प्रभावकारिताका साथ सेवामा छ त ? यो विषय बर्सेनि उठान हुन्छ तर महत्वको विषय बन्न सकेको छैन । यो ‘चल्नुपर्ने, चलिरहेको छ’ भन्नुसिवाय अरू केही छैन ! रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको माग र आपूर्तिले र गुणस्तरीय परीक्षणले नै यस क्षेत्रमा भए गरेका सेवाकार्यको सन्तुलनलाई पुष्टि गर्दछ ।

संसारको कुनै पनि कुनामा रक्त व्यवस्थापनको क्षेत्रभित्र अहं भूमिका निर्वाह गर्दछ त केवल स्वयंसेवी रक्तदाताहरूले मात्र गर्दछ । विनारगत कुनै किसिमको अत्याधुनिक प्रविधिहरूको आवश्यकतालाई सार्थक तुल्याउन सकिन्न । तसर्थ रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको महत्व तथा उपादेयताका बारे सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूमा केही हदसम्म भए पनि समर्पण र समाधानका उपाय अवलम्बन गर्ने क्षमता हुन जरुरी छ ।

विगतदेखि वर्तमानसम्म आइपुग्दा क्षेत्रगत सुधार र गुणस्तरमा सन्तोषजनक उपलब्धि हासिल गर्न सकेको अवस्था छैन । आज ८२औँ भनौँ कि ६०औँ राष्ट्रिय रक्तसञ्चार सेवा दिवस मनाइरहँदासम्ममा पनि यही अवस्था रहिरहनु र चित्रण गरिनुपर्दा रक्त व्यवस्थापन पक्ष कहाँनिर चुकिरहेको छ त ? कमसे कम सम्बन्धित निकायले मनन गर्नुपर्ने हो । तर त्यसप्रति आत्मबोध गरेको छ जस्तो लागेन ।

यो विश्व ब्रह्माण्ड यति साँघुरिएको छ कि औंँलाको टुप्पोमा सीमित हुँदै गइरहेको छ । यो वर्तमान समयमा सुरक्षित एवं स्वस्थ रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडितसमक्ष उपलब्ध गराउन विज्ञानले थुप्रै प्रविधिहरुको आविष्कार गरिसकेको छ । यसले गर्दा मानवजीवनमा जीविकोपार्जन र उपचार कार्यमा सहजता मिल्न गएको छ ।

कल्पना नै नगरेका अनेकौँ प्रकारका रोगहरूले मानवजीवन आक्रान्त एवं भयावह बन्दै आइरहेको छ । नयाँ–नयाँ विविधखाले रोगहरूलाई सहजरूपमा निराकरण गर्न वैज्ञानिकहरूले आवश्यकताअनुसार विविध प्रविधिहरू र औषधिहरूको आविष्कार गर्दै मानवजीवनलाई यस धर्तीबाट रोगमुक्त बनाउने प्रयासमा दत्तचित्त भइरहेको हामी पाउँछौँ । फलस्वरूप वैज्ञानिकहरू आफ्नो प्रयासमा सफलता पनि हासिल गर्दै आइरहेका छन् ।

आजको यो वैज्ञानिक युगमा भौतिकतावादी जीवनशैलीले मावनजीवन व्यतीत भइरहेको छ । यसको सकारात्मक र नकारात्मक दुवै पक्षले हाम्रो सामाजिक परिवेशमा प्रभाव पारिँदै लगेको अवस्था छ । सकारात्मक पक्ष हाम्रो लागि वरदान नै भयो । तर नकारात्मक पक्षसँग संघर्षरत हुन बाध्य हुनुपरेको छ । जीवनलाई हामीले सकारात्मक सोचका साथ अगाडि बढाउनुको विकल्प पनि छैन ।

हरेक क्षेत्र, हरेक पक्ष समयसँग समयसापेक्ष हुन जरुरी छ । हामीले हाम्रो देशभित्र कुनै पनि क्षेत्रमा यो अनुभूति गर्न पाएको छ जस्तो लागेको छैन । अवस्था र आवश्यकतालाई बुझ्न जति जरुरी छ, त्योभन्दा बढी हामीले आफूलाई त्योसँग रूपान्तरित गर्न आवश्यक छ÷छैन, बुझ्न र जान्न अति जरुरी छ । कुन बेला, कसलाई, कुन समस्या आइपर्ने हो, त्यो तपाईं हाम्रो वशको कुरा छैन । फेरि पनि तपाईं हामीले नै योसँग सामना गर्नु बाध्यता हो ।

मानवजीवन कतिखेर, कुन बेला कुन रोगको सिकार बन्नुपर्ने हो ? त्यो तपाईं हाम्रो काबुको कुरा पनि होइन । रोग लाग्नु आफैँमा एउटा दुःखद पक्ष हो । यसको निराकरणको लागि चिकित्सक नै एकमात्र विकल्पभन्दा फरक नपर्ला । यस्तो अवस्थामा चिकित्सकहरूद्वारा माग गरिने रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको व्यवस्थापन नै चुनौतीको विषय बनेको छ ।

रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको व्यवस्थापनको जिम्मेवारी हिजोका दिनमा नेपाल रेडक्रस सोसाइटीको काँधमा रहेको थियो भने अहिले आएर निजी क्षेत्रलाई पनि सहभागी गराउँदै ल्याएको छ, जसले गर्दा रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको खुलेआम बिक्री वितरण हुन थालिएको छ । निजी रक्तसञ्चार सेवा टिक्छ कसरी ? स्वयंसेवी रक्तदाताहरूको रगत र त्यस रगतबाट तयार पारिएका रक्त–तत्वहरू बिक्री वितरण गरेर ? त्यसबाट नाफा खाएर ? यही हो त राज्यले निःशुल्क भनेको ? यो आम स्वयंसेवी रक्तदाताहरूको सझा सवाल रहेको छ ।

निजी रक्तसञ्चार सेवालाई छोडेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले देशभित्र ७३ जिल्लाअन्तर्गत १२० स्थानबाट रक्तसञ्चार सेवा प्रदान गर्दै आइरहेको छ । निम्न चार जिल्ला मनाङ, मुस्ताङ, डोल्पा र रूकुम (पश्चिम) यो सेवाबाट हालसम्म वञ्चित रहेका छन् । गत श्रावण १ देखि २०८२ अषाढसम्ममा जम्मा २,९४,८४८ युनिट रगत संकलन गरी ४०,२,५१०. युनिट वितरण गरिएको तथ्यांक सार्वजनिक गरिएको हामीलाई विदितै छ । बाँकी रह्यो निजी रक्तसञ्चार सेवाको । दुवैको लेखाजोखा सरकारले हालसम्म राखेको जानकारीमा छैन । यसरी वर्षभरिको यकिन लगतसमेत प्रस्तुत गर्न असमर्थ छ, नेपाल सरकार ।

गुणस्तरीय परीक्षणपश्चात् रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको उपलब्धता एकद्वार प्रणालीअन्तर्गत गर्नुपर्नेमा त्यसो नगरी यस क्षेत्रलाई अस्तव्यस्त स्वेच्छाचारी प्रवृत्ति हाबी बनाउने रणनीतिमा सरकार रहेको बुझिन्छ । यतिका समयका बाबजुद पनि अहिलेसम्म आउँदा सिन्के प्रविधिदेखि क्लिया प्रविधिबाट रगतको परीक्षण गरिरहेको छ । यहाँ प्रविधिको नाममा फेरि अर्काे व्यापार गरिरहेको छ । राज्यले निःशुल्क वितरण गर्न लगाउनुको साटो उल्टै राज्यद्वारा शुल्क निर्धारण गरेर स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगत र त्यस रगतबाट तयार पारिएका रक्त–तत्वहरू विक्रीवितरण गर्न आधिकारिकता प्रदान गरेको छ । यो हदैसम्मको गैरजिम्मेवारी र अकर्मण्यताकै पराकाष्ठा हो ।

सरकारको यो रवैयाले गर्दा निजी क्षेत्रका रक्तसञ्चार सेवालाई त पीडितसमक्ष चर्को रकम असुली गर्न सहज भएको छ भने यता रू. ४९५÷– मा उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले पनि मौकाको फाइदा लिने गरी रू. ६५०÷– र रू. ८००÷– (क्रसम्याचसहित) रकम लिएर बिक्री गरिरहेको छ । यो बेथितिको जिम्मेवारी कसले लिने ? एकातिर फेरि स्वयंसेवी रक्तदाताहरूले दानमा दिएको रगत लिन सोधभर्नाको माग गर्ने निजी रक्तसञ्चार सेवा पनि कमको छैन । यो प्रवृत्ति आफैँमा अपराध नै हो ।

निजी क्षेत्रद्वारा सञ्चालित रक्तसञ्चार सेवा केवल सुगम र शहरी क्षेत्रवरिपरि मात्र सीमित छन् । यो रक्तसञ्चार सेवाको व्यवस्थापन राज्य आफैँले देशको चौतर्फी पु¥याउनुपर्नेमा अरूको जिम्मामा छोडेर दायित्वबाट पन्छिई बसेको अवस्था छ । सरकार यसरी नागरिकको अति संवेदनशील विषयबाट टाढा हुनु शोभनीय कार्य भने पक्कै होइन । सरकारको गैरजिम्मेवारीपनाले गर्दा यस क्षेत्रमा हुने दुर्घटनाको जिम्मेवारी कसले लिने ?

(लेखक कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुनुहुन्छ ।)