मनसुन शुरुवातसँगै वर्षाको मात्रा बढ्दै गएको छ । यो वर्षा औसतमा भनिएबमोजिम छैन । यो क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको तथ्यांकले देखाएको छ । नेपालको जलवायुको सामान्य ज्ञानले बताउँछ कि नेपालमा मनसुन जुन महिनाको १० तारिखदेखि शुरु भएर झन्डै ४ महिना रहने गर्दछ । तर अहिलेको मनसुन मेको ३० तारिखदेखि नै नेपाल छिरेको हो । बङ्गालको खाडी हुँदै पूर्वतर्फबाट आउने मनसुनको समयमा कुल वार्षिक वर्षाको ८० प्रतिशत पर्ने गर्दछ । यो समय नै खेती बाली लगाउने समय हो । जलवायुजन्य विपद्ले उल्लेख्य क्षति गर्ने समय पनि हो यो ।
मनसुन अवस्था :
यस वर्षको प्रि–मनसुन शुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा ४ लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो ।
प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउन सक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।अबको मनसुनमा २० लाख मानिस प्रभावित हुने आँकलन गर्दै देशका सबै प्रदेश प्रभावित हुने आँकलन पनि छ, त्यही अनुसारका तयारी गर्न क्षेत्रगतरूपमा जिम्मेवारी तोकेर सबै सरोकारवालालाई तम्तयार रहेर बस्न अनुरोध गर्नुपर्ने देखिन्छ । भनिएको छ, ‘मौज्दात सामग्री के छ, कति थप आवश्यक पर्दछ भन्ने सबै विषय आँकलन गरेर कार्ययोजना तयार पारिएको छ ।’
यसरी हेर्दा यो वर्षाको मनसुनमा नेपाली पहाडी क्षेत्रमा औसतभन्दा धेरै वर्षा हुने देखिएको छ । वर्षाको मापन २४ घण्टामा १०० मिलिलिटरभन्दा धेरै वर्षा भएको खण्डमा हाम्रो भूगोल तथा भूगर्भ विपद्को कारक बन्न सक्छ । त्यसबाहेक जलवायु परिवर्तनको एउटा असरको रुपमा वर्षाको प्रकृति पनि हो । वर्षा हुने मौसममा अधिक वर्षा हुने तथा छोटो समयमा धेरै मात्रामा हुने वर्षा याने कि अतिवृष्टिको क्रम बढेको कुरा जल तथा मौसम विज्ञान विभागको तथ्यांकले बताउँछ । त्यसकारण पनि पछिल्लो समय हुँदै गरेको वर्षाको प्रकृतिले गर्दा यो वर्षाको मनसुनलाई अलिक सावधानीपूर्र्वक हेर्नुपर्ने देखिन्छ ।
अरु औसत मनसुनभन्दा अहिलेको मनसुनमा सावधानी अपनाउनुपर्ने कारणहरु छन् । मूलतः वर्षाको मात्रा अघिल्लो अथवा औसतभन्दा धेरै हुने भनी दक्षिण एसियाली मनसुन फोरम तथा जल तथा मौसम विज्ञान विभागको अनुमान छ । यो वर्षको मनसुनको समयमा औसतभन्दा बढी पानी पर्नुले नै विपद्को सम्भाव्यता बढाउने गर्दछ ।
पूर्वतयारी :
यसअन्तर्गत सम्भावित विपद्को कारण हुन सक्ने क्षतिलाई कम गर्न गरिएका पूर्वतयारीका कार्यहरु पर्दछन् । विपद् भइहालेको खण्डमा गर्न सकिने उद्धारको लागि पूर्वअभ्यास तथा आवश्यक पर्ने सामग्री तथा भौगोलिक अवस्था अनुरुप यातायातका साधानहरुको उपलब्धता तथा तिनीहरुको उचित अवस्थासहित तयारी अवस्थामा राखिरहनुपर्दछ । जोखिम सम्भावित स्थानहरुमा जल तथा मौसम विज्ञान विभागको समन्वयमा जलीय तथा मौसमी अवस्थाको विश्लेशण गरी पूर्वसूचना प्रणालीलाई चुस्त–दुरुस्त राख्नुपर्दछ । माथिल्लो तटीय क्षेत्रमा भएको जलीय अवस्थामा जोखिम देखिएको अवस्थामा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने जनमानसलाई तुरुन्तातुरुन्ती खबर गरी उद्धार गर्न सक्ने गरी तयारी हुनुपर्दछ । त्यसबाहेक उद्धारको लागि एउटा छुट्टै अवधारणा लागू गर्न आवश्यक देखिन्छ ।
मनसुनसँग सम्बन्धित प्रमुख विपद्, पहिरो र डुबान हुने सम्भावना भएका क्षेत्रहरू पहिचान गर्नु पूर्वतयारीको पहिलो चरण हो । नेपाल सरकारका विभिन्न निकायहरू जस्तै– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विभाग, भूगर्भ विभाग आदिले पहिल्यै जोखिमयुक्त क्षेत्रहरूको अध्ययन गरिसकेका छन् । यी जानकारीलाई अद्यावधिक गर्दै प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका उच्च जोखिमयुक्त बस्ती, विद्यालय, स्वास्थ्य चौकी, सडक र अन्य पूर्वाधारहरूको विवरण संकलन गर्नुपर्छ ।
डिजिटल नक्सा र भूउपग्रह चित्रहरूको सहायताले जोखिमको पूर्वमानचित्र तयारी गर्नु आगामी विपद् व्यवस्थापनमा सहयोगी हुन्छ । मनसुनको समयमा एकछिन्मा भारी वर्षा हुन सक्ने भएकाले प्रभावकारी पूर्वानुमान प्रणाली अपरिहार्य हुन्छ । मौसम विभागले दिने सूचना, जल सतहको अनुगमन र नदी प्रवाहको मूल्यांकन समयमै गर्न सक्नुपर्ने हुन्छ । यसका लागि प्रारम्भिक चेतावनी प्रणालीलाई सबै जोखिमयुक्त क्षेत्रमा विस्तार गर्नुपर्छ । स्थानीय जनतालाई मोबाइल सन्देश, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत ताजा मौसम जानकारी उपलब्ध गराउने संयन्त्र बलियो बनाउनुपर्छ । बहु–स्रोतबाट सूचना प्रवाह हुने व्यवस्था गर्दा जनताको विश्वास पनि बढ्नेछ ।
प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिनुपर्छ, जसमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शिक्षकमात्र नभई स्थानीय समुदायका अगुवा, महिला, दलित र युवाको समेत प्रतिनिधित्व हुनु आवश्यक छ । यसले निर्णय प्रक्रियामा सहभागिता बढाउँछ र सबै वर्गलाई समेटेर विपद् प्रतिकार्य प्रभावकारी बनाउँछ । युवाहरूलाई स्वयंसेवकको रूपमा तालिम दिएर तैनाथ गर्न सकिन्छ । यसले सूचना प्रवाह, राहत वितरण, खोज–उद्धारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
मनसुनको समयमा जोखिमयुक्त बस्तीहरूबाट सुरक्षित स्थानतर्फ सार्ने आवश्यकता पर्न सक्छ । त्यसैले प्रत्येक स्थानीय तहले सुरक्षित स्थानहरूको पहिचान गरी अस्थायी आवास (राहत शिविर), खानेपानी, शौचालय, औषधोपचार, विद्युत्, सञ्चार सुविधासहितको पूर्वाधार तयार गर्नु आवश्यक हुन्छ । पुराना विद्यालय भवनहरू, सार्वजनिक हलहरू वा खुला स्थलहरूलाई आपत्कालीन आश्रय स्थलको रूपमा उपयोग गर्न सकिन्छ । साथै तिनको पूर्वतयारी समयमै गर्नुपर्नेलगायत संकटको बेला यी संरचनाहरू अपुग हुन सक्छन् ।
मनसुनका समयमा आवागमन अवरुद्ध हुन सक्ने भएकाले बाढी वा पहिरोको उच्च जोखिम भएको क्षेत्रमा पहिले नै आवश्यक औषधि, खाद्यान्न, लुगाफाटो, शुद्ध खानेपानी, प्राथमिक उपचार सामग्री आदिको भण्डारण गरिनु आवश्यक हुन्छ । विशेष गरी गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिका लागि आवश्यक विशेष सामग्रीको व्यवस्था गर्नुपर्छ । सरकारी गोदामसहित स्थानीय सामुदायिक भण्डारण केन्द्रहरू निर्माण गर्न सकिन्छ । विपद् आइपरेपछि सबैभन्दा महत्वपूर्ण कुरा सूचनाको प्रवाह र समन्वय हो ।
जिल्ला विपद् व्यवस्थापन समिति, पालिका स्तरीय विपद् समिति, सुरक्षा निकाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यमहरू र नागरिक समाजबीच समन्वय आवश्यक छ । यसका लागि स्पष्ट जिम्मेवारी तोकिएको कार्ययोजना बनाइनुपर्छ । कुनै निकायले काम दोहोरो नगरोस् वा कतै कामै नहुने हो कि भन्ने सुनिश्चितता प्रदान गर्न घटना आदेश प्रणाली लागू गर्न सकिन्छ । बाढी नियन्त्रणका लागि नदीकिनारमा बाँध, तटबन्ध, ग्याबिन पर्खाल आदिको निर्माण र मर्मत समयमै गरिनुपर्छ । सडक, पुल, विद्यालय, अस्पतालजस्ता पूर्वाधारहरूलाई प्राकृतिक प्रकोप सहन सक्ने गरी बनाइनुपर्छ । वर्षा–पानीको व्यवस्थापन, ढल प्रणालीको सफाइ, जथाभावी निर्माणको नियन्त्रण र हरियाली विस्तार (बायो–इन्जिनियरिङ) का उपायहरू समयमै गर्नु आवश्यक हुन्छ । यसले बाढी, पहिरोलगायतका विपद् न्यूनीकरणमा सहयोग पुर्याउँछ ।
मनसुनसँगै हुने विपद्को मूल जड पर्यावरणीय असन्तुलन र जलवायु परिवर्तन पनि हो । त्यसैले दीर्घकालीनरूपमा प्राकृतिक स्रोतहरूको संरक्षण, वनक्षेत्र विस्तार, जलसम्पदा व्यवस्थापन, माटो संरक्षण, कृषि प्रणालीको परिमार्जनलगायतका उपायहरू अनिवार्य छन् । जलवायु सापेक्ष स्थानीय योजनामार्फत समुदायमै वातावरणमैत्री अभ्यासहरूको प्रवद्र्धन गर्नु सान्दर्भिक हुन्छ ।
विपद्को बेला तत्काल प्रयोग गर्न सकिने आपत्कालीन कोष राख्नु आवश्यक छ । प्रत्येक स्थानीय तहमा आपत्कालीन राहत कोषको व्यवस्था गरिनुका साथै सरकारी निकायहरूले पूर्वस्वीकृत बजेट छुट्याउनुपर्छ । साथै किसान र गरिब परिवारका लागि बाली तथा पशु बिमा प्रणाली, घर र सम्पत्तिको विपद् बिमा प्रवद्र्धन गर्नु दीर्घकालीन सुरक्षा उपाय हो ।
स्थानीय, प्रदेश र संघबीच समन्वय :
विपद्सँगको अनुभव, भीड व्यवस्थापन तथा अन्य अनुभवले के बताउँछ भने, स्थानीय सरकार र सरोकारवालाहरु नै विपद् उद्धारको पहिलो उद्धारक हो । उद्धारको मूल मर्मलाई हेरेर विपद्सम्बन्धी सबै सरोकारवालाहरुले बुझ्नुपर्ने कुरा के हो भने, स्थानीय सरकारलाई उद्धारको प्राथमिक प्रविधि उपकरण र अन्य व्यवस्थापनका कुराहरूबाट सुविधा सम्पन्न बनाउनुपर्दछ । नेपालको पहाडी क्षेत्रमा धेरै सावधानी अपनाउनुपर्ने पहिरो हो भने समथर क्षेत्रमा चाहिँ बाढी तथा त्यसबाट हुन सक्ने प्रभाव र असरको उाद्धार एवं व्यवस्थापन हो ।
त्यसकारण यो पूर्वतयारीको पहिलो खाका स्थानीय सरकारबाट शुरु हुनुपर्दछ । स्थानीय सरकारले आफ्नो सम्पूर्ण क्षेत्रको जोखिम पहिचान गरी तत्–तत् स्थानमा हुन सक्ने सम्भावित खतरा, त्यसको क्षतिको आँकलन गर्दै सुरक्षित दस्ता, प्रविधि, उपकरण तथा दक्षता तत्काल उद्धारको लागि तयार गरेर राख्नुपर्दछ । स्थानीय सरकारले प्राथमिकरुपमा उद्धार गर्न सकेमा मात्रै पनि धेरै मानिसको जीवन र धनको क्षतिलाई रोक्न सकिनेछ । त्यसबाहेक अलिक जटिल र थप प्राविधिक सहयोगका लागि प्रदेश तथा संघसँग समन्वय आवश्यक छ । संघीयरुपमा रहेका मन्त्रालय विपद् व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, अन्य सरोकारवाला निकायले आ–आफ्नो प्राविधिक पक्षबाट गृह मन्त्रालयअन्तर्गतका पुलिस, सैनिक, अन्य निकाय झनै चनाखो भएर रहनुपर्ने देखिन्छ । गृह मन्त्रालयको उद्धार हेर्ने निकायले आफ्नो तर्फबाट मनसुनको समयमा विपद् उद्धारको उपयोगी योजनासहित तयारी अवस्थामा रहनुपर्ने देखिन्छ ।
मूलतः विपद्भन्दा पूर्वको अवस्थामा, विपद्को समयमा तथा विपद्भन्दा पछाडि के कसरी तयारी गर्ने, उद्धारमा समन्वय गरी एउटा प्रणालीबाट परिचालन गर्ने हो भने पहिले नै कार्ययोजना बनाउनुपर्ने हुन्छ । पछिल्लो अनुभवले के पनि देखाएको छ भने, कतिपय विकासे आयोजनाहरु जहाँ धेरै कामदार काम गरिरहेका हुन्छन्, त्यस्ता स्थानमा पनि ठूलो क्षति एकैपटक हुने गरेको देखिएको छ । जलविद्युत् निर्माण, सडक तथा पुल निर्माणस्थलमा थुप्रै क्षति भएको तथ्यांक भेटिएको छ । त्यस्तो अवस्थामा मनसुनको समयमा कसरी व्यवस्थापन गर्न सकिन्छ ? तत् स्थानको पूर्वसूचना कसरी पाउन सकिन्छ र त्यसको जानकारी काम गरिरहेका कर्मचारीसम्म कसरी पुर्याउन सकिन्छ ? त्यसको कार्ययोजना हुनुपर्दछ ।
(लेखक पोखरेल वातावरणविद् हुनुहुन्छ ।)











प्रतिक्रिया