उपाधि जित्न बंगलादेशसँग सिक्नु पर्ने हो कि ?

3.38k
Shares

काठमाडौं

बंगलादेशको महिला फुटबल टोलीले दक्षिण एसियाली फुटबलमा धाक जमाउन थालेको केही वर्ष मात्रै भएको छ । बंगलादेशको सिनियर टोलीले आगामी वर्ष अस्टे«लियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने पक्का गरेको छ ।

यस्तै, यही टोलीले गत दुई संस्करणको महिला साफ च्याम्पियनसिपमा उपाधि जितेको छ । यति मात्रै होइन, बंगलादेशको जुनियर टोलीले समेत साफ च्याम्पियनसिपमा लगातार उपाधि जितेको छ । बंगलादेशको जुनियर टोलीले नेपाललाई अन्तिम खेलमा हराएर यस वर्षको साफ यु २० महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।

सबैभन्दा पहिले बंगलादेशले अहिले गरेको प्रगति देख्दा नेपालमा किन यस्तो हुन नसकेको भन्ने प्रश्न उठ्छ । पहिले त नेपाल बंगलादेशभन्दा राम्रो रहेको सबैले थाहा नै छ । तर, अहिले नेपालले बंगलादेशलाई हराउनै सकिरहेको छैन । यति ग्याप देखियो कि नेपाल बंगलादेशसँग दबाबमा खेल्न थाल्छ ।

उदाहरणको लागि गत दुई साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा नै भएको थियो । जुन फाइनल खेलमा नेपाल दुबै पटक बंगलादेशसँग पराजित भएर उपाधि जित्न अक्षम भयो । नेपाली समर्थकले भरिएको दशरथ रंगशालामा बाहिरको टोली दबाबमा खेल्नु पर्नेमा उल्टो नेपाल नै दबाबमा परेको थियो । यहीबाट अनुमान लगाउन सकिन्छ कि बंगलादेशको महिला फुटबल कहाँबाट कहाँ पुगिसक्यो ।

यति मात्रै होइन, बंगलादेशले एसियन कपमा खेल्ने तय गर्दा नेपाल भने समूह चरणबाटै बाहिरिनु प¥यो । नेपाल उज्बेकिस्तानसँग हार्दा, अखिल नेपाल फुटबल संघ (एन्फा) बाट कुनै जिम्मेबारी प्रतिक्रिया नै आएन । एन्फाबाट आयो त नयाँ कोचमाथि सबै दोष थोपरेर पन्छिने खालको प्रतिक्रिया । नेपाली महिला फुटबल टोली दक्षिण एसियाको च्याम्पियन नभएपनि विपक्षी टोलीसँग कडा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्दछ ।

हारपछि अब कसरी जाने, के गर्ने, भन्ने एन्फासँग योजना नै छैन । मुख्यतया प्रतियोगिता हुन एक वा दुई महिना अघि मात्रै खेलाडी छनोट गरिन्छ । त्यसपछि एक टिम बनाएर प्रतियोगितामा खेल्न पठाउने काम मात्रै भएको छ । भर्खरै मात्र सकिएको साफ यु २० महिला च्याम्पियनसिपमा समेत यसरी नै प्रतियोगितामा सहभागिता जनाएको खेलाडीले नै बताउँछन् । अनि, यस्तो तालले उपाधि जित्ने सपना देख्दछ, यसरी देखेको सपना पनि कहिले पुरा हुन्छ त ?

बंगलादेशले पछिल्लो केही वर्षदेखि फुटबलमा गरेको प्रगति त्यतिकै भएको होइन । पहिलो त बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले युवाप्रति लक्षित गरेर फुटबलमा योजना बनाएको छ । बीएफएफले नयाँ युवा खेलाडीहरूका लागि नै सबैभन्दा बढी ध्यानकेन्द्रीत गरेको छ । यसको नतिजा सागोरिका जस्ता अद्भुत स्ट्राइकरको जन्म भएको छ । साफ यु २० महिला च्याम्पियनसिपमा सागोरिका एक्लैले नेपाली महिला टोलीलाई हराउन काफी भएको थियो ।

दोस्रो घरेलु लिगमा ध्यान केन्द्रीत गरिएको छ । बीएफएफले बंगलादेशमा महिला फुटबल लिग निरन्तर गरेको छ । त्यहाँको तुलनामा नेपालमा महिला लिग खासै नियमित हुन सकेको छैन । फुटबलको मेरुदण्ड भनेकै घरेलु लिग हो । तर, एन्फा भने लिग नै नियमित संचालन गर्न नै सक्दैन । यो भन्दा दुर्भाग्य फुटबलरहरूका लागि अरु के नै होला?

तेस्रो आर्थिक टेवा हो । बीएफएफले आर्थिक टेवा गर्न महिला फुटबलका लागि प्रायोजकसमेत ल्याउने गर्छ । जबकी नेपालमा यति ल्याउन सक्ने देखिएको छैन । नेपालमा हेर्ने हो भने तीन विभागिय क्लब (सेना, प्रहरी, शसस्त्र) लाई छाड्ने हो भने ए डिभिजनबाट महिला फुटबल क्लब नै छैन । गत महिला लिगमा ए डिभिजन क्लब संकटाले महिला टोली तयार गरेको थियो । तर, यो टोली अहिले खारेज भइसकेको छ ।

मुख्य चाहिने ग्रासरूट नेपाली पुरुष फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले फुटबलमा दिगो सफलता हासिल गर्नु छ भने ग्रासरुटलाई बढी ध्यान दिनु पर्छ भन्दै आइरहेका छन् ।

विश्वकप र ओलम्पिक्स खेल्ने संभावना

बंगलादेशको महिला फुटबल टोलीले भविष्यमा विश्वकप र ओलम्पिक्समा खेलेमा नेपालका फुटबलको सम्बन्धित निकाय आश्चर्यमा नपरे हुन्छ । आगामी वर्ष अस्टे«लियामा हुने एसियन कपमा खेल्न अझै १ वर्षको समय छ । त्यति समयमा बीएफएफले त्यस्तै तरिकाले टोलीलाई अघि बढाउने नै छ, यसमा कुनै शंका छैन । अर्को महिला फुटबलमा पुरुष फुटबलमा जस्तो त्यति कडा प्रतिस्पर्धा छैन । यसैले बंगलादेशले विश्वकप खेल्ने संभावना हुन सक्नेछ ।