काठमाडौं ।
काठमाडौं जिल्ला तेक्वान्दो संघले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।
मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने छन् । टोली साउन १३ गते मलेसिया जाने छ । पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् । महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् ।
चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट मलेसिया जाने छिन् । पारा तेक्वान्दोका सफल प्रशिक्षक कविराज नेगी लामा यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् ।
प्रशिक्षक लामाले वरीयता सुधार गर्न प्रतियोगता महत्वपूर्ण भएको बताए । नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउदै हालसम्म १ रजत र ५ गरी ६ पदक जितेको छ । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् भने पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य जितेका छन् ।











प्रतिक्रिया