काठमाडौं ।
थाइल्यान्ड र कम्बोडियाबीच पुरानै विवादित भूमिलाई लिएर भएको सैन्य झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सीमा क्षेत्रमा जारी तनावका कारण सयौं स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
बिहीबार भएको झडपमा ११ जना सर्वसाधारण र एक जना सैनिकको मृत्यु भएको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा थाइल्यान्डको सुरिन प्रान्तमा ८ वर्षीय बालकसहित २ जना, उबोन रत्चाथानीमा १ जना र सिसाकेट प्रान्तमा ८ जना सर्वसाधारण छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मारिनेमा सबै थाई नागरिक रहेका छन् ।
सीमा क्षेत्रमा अझै पनि सैनिक तैनाथी कडा बनाइएको छ ।
दुवै मुलुकले आ–आफ्नो सुरक्षा बललाई सतर्क अवस्थामा राखेका छन् । केही स्थानमा हल्का गोलीबारी र ग्रेनेड विस्फोटका आवाज सुनिएको जानकारी सीमा सुरक्षा स्रोतले दिएका छन् । सुरक्षाको दृष्टिकोणले सीमावर्ती गाउँहरूबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । उद्धार टोली तथा रेडक्रसले राहत सामग्री पु¥याउन थालेका छन् ।
थाइल्यान्ड र कम्बोडियाबीच सीमा विवाद पुरानो हो । विशेषतः प्रेह विहेयर मन्दिर क्षेत्र वरपरको भूमि स्वामित्वबारे दुवै मुलुकले दाबी गर्दै आएको छ । सन् १९६२ मा अन्तर्राष्ट्रिय अदालतले मन्दिर कम्बोडियाको क्षेत्रभित्र पर्ने निर्णय गरे पनि त्यस वरपरको भूमि कुन देशको हो भन्ने अझै स्पष्ट भइसकेको छैन । दुवै पक्षले आफ्नो–आफ्नो राष्ट्रिय स्वाभिमान र भू–भागको रक्षा गर्ने दृष्टिले यो विवादलाई संवेदनशील बनाएर राखेका छन् ।
यसरी सीमाको अस्पष्टता, ऐतिहासिक दाबी र भू–राजनीतिक महत्वका कारण बारम्बार यहाँ साना ठूला झडपहरू हुने गरेका छन् । यी झडपले दुवै मुलुकको जनजीवनमा असर पु¥याउने मात्र होइन, द्विपक्षीय सम्बन्धमा पनि तनाव उत्पन्न गर्ने काम गरेको छ ।











प्रतिक्रिया