हटाइएका कामपा सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारी दैनिक महानगरमा

3.67k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आठ दिनअघि कार्यालयबाट हटाएका सहरी योजना आयोगको उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी दैनिकजसो कार्यालय जाने गर्नुभएको छ । मेयर बालेन्द्र साहले कारबाही गरेको पत्र नदिएपछि राजभण्डारी नियमित कार्यालय जान थाल्नुभएको हो ।

मेयर साहले स्वकीय सचिव भुपदेव साहमार्फत् महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई हटाउन आग्रह गरेका थिए । साहको निर्देशनलगत्तै महानगर प्रहरी प्रमुख पाण्डेल महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलगायतका टिम खटाएर कोठा खाली गराएका थिए । कोठामा साथीसँग गफ गरिरहनुभएका राजभण्डारीलाई प्रहरीले तत्काल बाहिर निस्कन निर्देशन भएको भन्दै अपमानजनक रूपमा हटाइएको थियो । हटाएलगत्तै आफूले पत्रकार सम्मेलन गरेर मेयर साहको पर्दाफास गर्ने चेतावनी दिनुभएका राजभण्डारीले फेरि काम थाल्नु आश्चर्य ठानिएको छ । स्रोतका अनुसार मेयर साहले पत्र नदिएको र आफूले जिम्मा लिएका केही परियोजनाको लागि सहयोग गर्न राजभण्डारी केही दिनको लागि कार्यालयमा हाजिर हुनुभएको हो ।

उपाध्यक्ष राजभण्डारी बिहानै कार्यालय आएर करिब एकदुई घण्टा बसेर फर्कने गर्नुभएको छ । उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘साथीहरूले पुराना काम को लागि सहयोग गर्न आग्रह गरेकाले आफू केही दिनको लागि कार्यालय आएको हुँ । केही दिन सहयोग गर्न जान्छु होला, त्यसपछि फर्किन्नँ ।’उपाध्यक्ष राजभण्डारी कार्यालय पुग्नासाथ आयोगका सदस्य र मेयर सचिवालयका सदस्यले सहयोग गरिदिन आग्रह गर्ने गरेका छन् ।

मेयर साहले करिब २ वर्षअघि नियुक्ति गर्नुभएका उपाध्यक्ष डा. राजभण्डारीलाई हटाएनुको कारणबारे खुलाइएको छैन । साथै हालसम्म हटाएको पत्र किन नदिईएन भन्ने विषय अहिले पनि अनुत्तरित छ । स्रोतका अनुसार मेयर सचिवालयका सदस्यले मेयरलाई नररात्मक कुरा लगाउने र मेयरले हटाउने आदेश दिने संस्कार बसेको कामपामा मेयर साहका गुरु उपाध्यक्ष राजभण्डारीलाई सजिलै हटाउनसक्ने अवस्था छैन । यसअघि मेयर साहले हटाएका कर्मचारी र आयोगका सदस्यलाई हटाउनासाथ तत्काल पत्रदिने, छानबिन समिति बनाउने, नगर प्रहरी लगाएर कार्यकक्षको ताला लगाउनेलगायतका हर्कत गर्ने गरिन्थ्यो ।

उपाध्यक्षलाई हटाउँदा कुनै कारबाही गरिएको छैन । न पत्र दिइएको छ । न त कार्यालय बन्द नै ? उहाँ अहिले पनि ढुक्क साथ कार्यालय जानुहुन्छ, केहीबेर बसेर आवश्यक सहयोग गरेर फर्कने गर्नुभएको छ । –स्रोतले भन्यो । स्रोतका अनुसार मेयर साहले प्रहरी उपरीक्षक पाण्डेमार्फत् उहाँलाई बोलाउनु भएकोले उहाँ केही समयको लागि आउनुभएको हो ।

खरिद इकाइ प्रमुखविरुद्ध कर्मचारी एकता

काठमाडौं महानगरपालिका खरिद इकाइ प्रमुख रामरतन साहले खरिद प्रक्रियामा एकलौटी गर्ने निर्णयमा कामपाका कर्मचारीहरूले आफू सहभागी नहुने बताएका छन् । अस्ति बुधबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग भेटगरी ती कर्मचारीहरूले इकाइ प्रमुख साहले गरेको निर्णयमा आफूहरू सहभागी नहुने बताएका थिए ।

२०जनाभन्दा बढी सदस्यले सामूहिक रूपमा प्रप्रअलाई भेटेर खरिद इकाइ प्रमुख साह खरिदमा रहुन्जेल आफूहरू बोलपत्र मूल्यांकनसम्बन्धी कार्य गर्न असमर्थ रहेको गुनासो राखेका थिए । स्रोतले ती कर्मचारीहरुलाई उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भन्यो– ‘फाइल विभागमा पु¥याउने काम कार्यालय सहयोगीले गर्छन् तर तिनलाई तपाईंहरूको फाइल बोकेवापत रकम दिनुपर्छ भनेर कार्यलय सहयोगीका नाममा रकम बुझ्ने गरेको सुनेका छौं, यही अवस्थामा हामीले काम गरिरहे जुनसुकैबेला फस्छांै, हाम्रो सरुवा गरिदिनुप¥यो ।’

गर्नेमध्येका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘खरिद इकाइ प्रमुखले अति गरेपछि सहन नसकेर हामीले प्रमुख प्रशासकीय अधिकृत भेटेका हौं । भेटका क्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंले प्रक्रियागत रूपमा आएकाबाहेक अन्यबाटोबाट आएका फाइलमा जबरजस्ती हस्ताक्षर गर्न खोजे सम्बन्धित विभागीय प्रमुखलाई जानकारी दिनुस्, नभए मलाई भन्नुस् त्यसमा के भएको रहेछ अनुसन्धान गरौंला ।’

खरिद इकाइकै कारण पछिल्लो समय विद्यालयको लागि खरिद गरेको करिब ५ सय स्मार्टबोर्ड पद्मोदय माविमा ताला लगाएर राखिएको छ । त्यस्ता दर्जनौं विवादित विषयमा प्रश्न उठ्न थालेपछि कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई भेटेका थिए ।