मस्को।
रुसको सुदूर पूर्वी क्षेत्रको घना जङ्गलमा यात्रुबाहक विमान दुर्घटना हुँदा सवार सबैको ज्यान गएको छ।
करीब ५० यात्रु बोकेको एन्टोनोभ–२४ ट्विन प्रोपेलर विमान बिहीबार ब्लागोभेश्चेन्स्कबाट टिन्डा जाँदै गर्दा दुर्घटनामा परेको हो। स्थानीय समय अनुसार दिउँसो १ बजे राडारसँग सम्पर्क विच्छेद भएपछि उद्धार टोलीले खोजी कार्य सुरु गरेको थियो।
दुर्घटनास्थल टिन्डाबाट करिब १५ किलोमिटर दक्षिणको जङ्गली पहाडको ढलानमा जलिरहेको अवस्थामा विमानको भग्नावशेष फेला परेको थियो। घटनास्थलका दृश्यमा जङ्गलमा छरिएका टुक्रा र कालो धुवाँ देखिएको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन्।
रुसी सरकारी समाचार संस्था तासका अनुसार दुर्घटनाको केही घण्टापछि मात्र उद्धार टोली घटनास्थलमा पुगेको थियो र त्यहाँ जीवित कोही नरहेको पुष्टि भएको छ।
दुर्घटनाको कारण भने अझै खुलाइएको छैन। अङ्गारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सेर्गेई सलामनोभका अनुसार दुर्घटनाका बेला मौसम खराब भए पनि क्याप्टेनले उडान गर्ने निर्णय गरेका थिए।
करीब ३० हजार मानिसको बसोबास रहेको टिन्डा सहर चिनियाँ सीमाबाट करिब २०० किलोमिटर टाढा, घना ताइगा जङ्गलमा अवस्थित छ। दुर्घटनाग्रस्त विमानमा कम्तीमा एक चिनियाँ नागरिक पनि सवार रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
रुसी अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेको भिडियोमा दुर्घटनास्थलबाट बाक्लो धुवाँ उठिरहेको र छरपस्ट अवस्थामा विमानका टुक्राहरू देखिएको छ। यो दुर्घटना रूसको दुर्गम क्षेत्रमा पछिल्लो समय भएको सबैभन्दा दुखद घटनामध्ये एक बनेको छ।











प्रतिक्रिया