कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोडको घोटाला, ४ जना पक्राउ, १०४ जना फरार


काठमाडौं।

कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको घोटाला भएको निष्कर्षसहित प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

सीआईबीका अनुसार बैंकको सञ्चालक समिति र कर्मचारीको मिलेमतोमा ठगी भएको पुष्टि भएको छ। अनुसन्धानमा १११ जनालाई प्रतिवादी बनाउने राय दिइएको छ, जसमा राष्ट्र बैंकका पूर्वनिर्देशक भुवन बस्नेतसहित दुई जना पूर्वअध्यक्ष पनि छन्।

४ जना पक्राउ, ३ जनाको मृत्यु, र १०४ जना फरार रहेका छन्। भुवन बस्नेतको खातामा बैंकबाट रकम जम्मा भएको पाइएपछि उनी अनुसन्धानको घेरामा परेका हुन्।

राष्ट्र बैंकले यसअघि ११ मंसिर २०८१ मा बैंकलाई शिघ्र सुधारात्मक कारबाही गरिसकेको थियो। निष्क्रिय कर्जा ४०.८५% पुगेपछि बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन समितिसमेत पठाइएको थियो।

बैंकले नक्कली मुद्दति निक्षेप प्रमाणपत्र देखाएर रकम अपचलन गरेको पाइएपछि सीआईबीले २०७० देखि भएको सुपरिवेक्षणसमेतको आधारमा अनुसन्धान अघि बढाएको हो।