रुसमा ५० जना सवार यात्रुवाहक विमान बेपत्ता, खोजी कार्य जारी


काठमाडौँ।

रुसको टिन्डा सहर नजिक यात्रुवाहक विमान बेपत्ता भएको छ। विमानमा करिब ५० जना यात्रु सवार थिए। समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार विमानसँग हवाई ट्राफिक नियन्त्रकहरूको सम्पर्क बिहीबार टुटेको थियो।

स्थानीय अधिकारीका अनुसार विमान चीनको सीमासँग नजिक रहेको अमुर क्षेत्रको टिन्डा सहरतिर जाँदै गर्दा राडारबाट गायब भएको हो। प्रारम्भिक विवरणअनुसार विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र चालक दलका ६ जना सदस्य थिए।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभले विमान बेपत्ता भएको पुष्टि गर्दै टेलिग्राममा लेखेका छन्, “विमान खोज्न सबै आवश्यक बल र साधनहरू तैनाथ गरिएको छ। खोजी कार्य तीव्र रूपमा भइरहेको छ।”

रुसी आपतकालीन मन्त्रालयका अनुसार सम्भावित दुर्घटना क्षेत्र आसपास उद्धार टोली परिचालन गरिएको छ। तर, हालसम्म विमानको अवस्था वा स्थानबारे कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन।

विमान कुन एयरलाइन्सको थियो र त्यसको उडान गन्तव्य के थियो भन्ने विषयमा थप विवरण आउन बाँकी छ।

सरकारी अधिकारीहरूले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान थालिसकेका छन्।