पूर्वराष्ट्रपति भण्डारीलाई रोक्नु संविधानविपरीत : देव गुरुङ


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले राजनीतिमा संलग्न हुन रोक्ने निर्णय संविधानविपरीत रहेको बताएका छन्।

गुरुङले संविधानको धारा १७ अनुसार प्रत्येक नागरिकलाई राजनीतिक स्वतन्त्रता प्राप्त हुने भन्दै पूर्वराष्ट्रपतिलाई राजनीतिक अधिकारबाट वञ्चित गर्न नपाइने तर्क गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत एमालेको निर्णय मौलिक हकको गम्भीर उल्लंघन भएको बताउँदै उक्त निर्णय प्रथम दृष्टिमा बदरयोग्य भएको दाबी गरेका छन्।

गुरुङले संविधानले पूर्वराष्ट्रपतिलाई पनि नागरिककै रुपमा चिन्ने उल्लेख गर्दै, पदावधिपछि उनी नेपाली नागरिक सरह स्वतन्त्रता उपभोग गर्न सक्ने धारणा राखेका छन्।