बौद्ध धर्मको माध्यमबाट आत्म–अनुशासन सिकौँ

1.32k
Shares

शाक्यमुनी गौतम बुद्धले मानवमात्रमा रहेको दुःखको कारण पत्ता लगाई आफ्नो शिक्षाको प्रचार गर्न हिँडदै पुरै भारतवर्षको भ्रमण गरे । चार आर्य सत्यको पत्ता लगाउन निकै लामो समयसम्म कठोर ध्यान गरे । निर्वाण र दुःख मोक्षको बाटो पत्ता लगाउन उनले गरेको प्रयत्नमा उनलाई साथ दिने एउटै कुरा थियो– आत्म अनुशासन । बौद्ध धर्मको मुख्य जोड व्यक्तिको दुःख हटाउनमा केन्द्रित छ, दुःख मानव जीवनमा विभिन्न रूपमा देखा पर्छ, जस्तै– शारीरिक वा मानसिक पीडा ।

दुःख समाप्त गर्न र सुखी एवं खुशी रहन हामीलाई आध्यात्मिक ज्ञानको आवश्यकता पर्छ । गहिरो ध्यान अभ्यास गरेर र सचेत भएर आध्यात्मिक विकास गर्न सकिन्छ । आध्यात्मिक रूपमा अघि बढ्ने प्रक्रियामा हामीले आत्म–अनुशासन सिक्नुपर्छ, जसलाई बौद्ध धर्ममा ‘शील’ वा नैतिक आचरण भनेर चिनिन्छ । ती शीलहरुमा हानिकारक व्यवहारबाट टाढा रहनु, आफ्नो बोली नियन्त्रण गर्नुजस्ता सकारात्मक गुणहरू समावेश छन् ।

भगवान् बुद्धले सधैँ नैतिक आचरण वा पञ्चशील वा पाँच नैतिक उपदेशहरूको अभ्यासमा ध्यान केन्द्रित गर्नुभएको छ, जसले ज्ञान प्राप्त गर्ने मार्गप्रशस्त गर्दछ । यो बौद्ध धर्मको अन्तिम लक्ष्यमध्ये एक हो । यो कुनै न कुनै रूपमा हिन्दु धर्ममा मोक्ष वा सांसारिक जीवनबाट मुक्ति प्राप्त गर्ने लक्ष्यजस्तै छ ।

ती पाँच उपदेशहरू केवल बौद्ध गुम्बाहरूमा बस्ने भिक्षुहरूले मात्र अभ्यास नगरेर बुद्धको शिक्षामा विश्वास गर्ने सामान्य मानिसहरूले पनि गर्छन् । तिनीहरूलाई शाब्दिकरूपमा यसरी भनिएको छ– प्राणीमात्रको हत्या वा हानि नगर्नुहोस्, झुटो वा कठोर बोलीबाट टाढा रहनुहोस्, यौन दुव्र्यवहारबाट टाढा रहनुहोस्, मदिरा वा मादक पदार्थ सेवन नगर्नुहोस् र आफ्नो होइन भन्ने कुरा ग्रहण गर्नबाट टाढा रहनुहोस् । प्रवर्जित भिक्षुहरू र भिक्षुणीहरूले अभ्यासमा थप तीन आचरणहरु पालना गर्छन् तर साधारण मानिसहरूका लागि यी पाँच उपदेशहरू नै पर्याप्त छन् ।

बौद्ध धर्मको शिक्षाले ध्यानजस्ता ‘माइन्डफुलनेस’ वा दिमागी सजगताका अभ्यासहरूमार्फत आत्म–जागरूकता, आत्म–नियन्त्रण र आत्म–रूपान्तरणको आवश्यकतामा ध्यान केन्द्रित गर्दछ, जसले गर्दा मान्छेले आत्म–अनुशासन विकसित गर्न सक्छन् र अन्ततः आन्तरिक शान्ति र सद्भावको अवस्था प्राप्त गर्न सक्छन् । व्यक्तिको आन्तरिक शान्तिले निर्वाण प्राप्त गर्ने होस् वा अन्य कुनै उद्देश्य, पक्कै सफलताको मार्गमा डो¥याउन सहयोग गर्न सक्छ । आधुनिक वैज्ञानिकहरू र मनोवैज्ञानिकहरूले पनि माइन्डफुलनेस र ध्यानको अभ्यासमा आफ्नो खोज केन्द्रित गरिरहेका छन् ।

उदाहरणका लागि, ‘एटोमिक हाबिट्स’ का प्रसिद्ध लेखक जेम्स क्लियरले तनाव व्यवस्थापन गर्न र सकारात्मक मानसिकता विकास गर्ने तरिकाको रूपमा हाम्रो दैनिक जीवनमा माइन्डफुलनेसलाई एकीकृत गर्न सुझाव दिएका छन् । उनले थप सुझाव दिँदै लेखेका छन कि छोटो अवधिको सजगता अभ्यासले पनि व्यक्तिलाई अझ बढी जागरुक र केन्द्रित बनाउन सक्छ, विशेष गरी अनिश्चितताको समयमा, जसरी बुद्धले आफ्नो अन्तिम प्रवचनमा आफ्ना मन पर्ने शिष्य आनन्दलाई भन्नुभएको थियो कि उनको शिक्षा र अनुशासनले उनको मृत्युपछि पनि मानवजातिको लागि मार्गदर्शनको रूपमा काम गर्नेछ । उनले आनन्दसँगै अन्य भिक्षुहरूलाई पनि प्रवचन दिने समयमा अनुशासनलाई उल्लेखनीय महत्व दिँदै जीवनको नश्वरताको प्रकृतिलाई उजागर गर्दै भनेका छन् कि दुःखबाट मुक्ति खोज्ने सबैका लागि धर्म वा नैतिक आचरण अनिवार्य छ ।

बौद्ध धर्ममा अर्को प्रमुख स्पष्ट पक्ष भनेको नश्वरताको विचार हो । जीवनमा सबै चीजहरू निरन्तर परिवर्तन भइरहेका हुन्छन् भन्ने बुझाइलाई हामीले आत्मसात् गर्नुपर्छ । नश्वरताको व्याख्या गर्दा बुद्धले मकैको बीउको उदाहरण दिनुभएको छ । यदि यी मकैको बीउको अनित्य प्रकृति नभैदिएको भए, त्यो बीउबाट फेरि मकैका हरिया बिरुवा पलाउने थिएनन् । त्यसैले, नश्वरताको प्रकृति अपरिहार्य छ ।

जीवनको क्षणिक प्रकृतिलाई पहिचान गरेर, मानवले आफ्नो इच्छा र आशक्तिबाट अलग रहन सक्छ । यो अलगावको भावनाले कुनै पनि व्यक्तिलाई आवेग वा लालचहरूमा नपरेर आत्म–अनुशासन अवलम्बन गर्न प्रेरणा दिन्छ । माइन्डफुलनेस ध्यानको अभ्यासबाट हरेक व्यक्तिले आफ्नो दिमागलाई शान्त र केन्द्रित रहनका निमित मद्दत पु¥याउँछ, जसले हामीलाई बहकाउन सक्ने प्रलोभनको प्रतिरोध गर्न मद्दत गर्न सक्छ ।

त्यस्तै गरी, बौद्ध धर्ममा आत्म–अनुशासन विकास गर्न ‘मध्यमार्ग’ को अवधारणा पनि महत्वपूर्ण छ । मध्यमार्ग आत्म–संयमको मार्ग हो, आत्म–भोग र आत्म–दुःखको चरम सीमाबाट बच्ने सरल उपाय । सांसारिक सुखमा लिप्त हुने र आफू पूर्णरूपमा सुखहरू अस्वीकार गर्ने कार्यबीच सन्तुलन खोजेर मानिसहरूले दिगो र स्वस्थ तरिकाले आत्म–अनुशासन जगाउन सक्छन् । एक लोकप्रिय थाई भिक्षु थिच नाच हानका अनुसार, यसले व्यक्तिहरूलाई लागूपदार्थको लत, अत्यधिक मदिरापान र आत्म–अनुशासनको अभावबाट उत्पन्न हुन सक्ने अन्य हानिकारक व्यवहारहरूको जोखिमबाट बच्न मद्दत गर्न सक्छ ।

यदि हामी बौद्ध धर्ममा आत्म–अनुशासनको सबैभन्दा आवश्यक पक्ष अर्थात् हानि नगर्ने र करुणाको सिद्धान्तअनुसार जीवन बिताउने नैतिक आचरणको अभ्यासमा केन्द्रित हुन सक्यौँ भने हामी यस धर्तीमा शान्ति कायम गर्न सक्छौँ । बौद्ध धर्मको नैतिक सिद्धान्तहरू पालना गरेर व्यक्तिले आफ्नो र अरूको लागि लाभदायक कार्य गरी आत्म–अनुशासन कायम गर्न सक्छन् । समग्रमा बौद्ध धर्ममार्फत आत्म–अनुशासन सिक्नु अहिलेको आधुनिक युगमा परिवर्तनकारी र सशक्तीकरणतर्फको कदम हुन सक्छ ।