ओलीवादको घेराभित्र भण्डारीको चुनौती

12.97k
Shares

नेपालका कम्युनिस्ट पार्टीहरूका थालनीकालीन उद्देश्य वर्ग संघर्ष, सर्वहारा सशक्तीकरण र पूँजीवादी शोषणको अन्त्य थियो । तर, समयक्रममा यिनै उद्देश्यहरू छायामा परे । अब पार्टीभित्र मिसन होइन, म्यान प्रधान बन्यो ।‘पार्टी त म हुँ’ भन्ने मानसिकताले ग्रस्त नेताहरूले आफ्नो वरिपरि यस्तो घेरा बनाएका छन्, जहाँ सचेत कार्यकर्ता होइन, ताली बजाउने भक्तहरू मात्र बाक्लिन्छन् । यसले संगठनको आधारभूत संरचना नै ध्वस्त बनाइदिन्छ ।कम्युनिस्ट दर्शनमा पार्टी विचारप्रधान हुन्छ, व्यक्ति होइन । सिद्धान्त र वर्ग–संघर्षमार्फत समाज रूपान्तरण गर्ने दाबी गर्ने कम्युनिस्ट पार्टीहरूमा विडम्बनापूर्णरूपमा व्यक्तिपूजाको संस्कृति मौलाउँदै गएको देखिन्छ । त्यो पनि नेपाली सन्दर्भमा मात्र होइन, छिमेकी मुलुकहरूमा समेत ।

अहिलेको चीनमा राष्ट्रपति सी जिनफिङको ‘विचार’ संविधानमै अंकित गरिएको छ भने, नेपालमा नेकपा एमाले र माओवादी केन्द्रका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कुनै विकल्प नै नरहेको जस्तो बनाइएको छ ।
ओली र प्रचण्ड दुवैको वरिपरि त्यस्ता पात्रहरूको भीड छ, जो आलोचना गर्न सक्दैनन्, सुझाव दिन सक्दैनन्, केवल आदेश पालना गर्छन् । परिणामस्वरूप पार्टी नेतामुखी होइन, ‘नेतामात्र मुखी’ बनेको छ । तर इतिहासले देखाएको छ । जब व्यक्तिपूजा चरममा पुग्छ, विचारको हत्या हुन्छ । अहिले त्यही कुरा नेपाली कम्युनिस्ट राजनीतिले भोग्दै छ । ओली र प्रचण्डको सत्ताकामना यति चरम पुगेको छ कि अब आफ्ना ‘पूर्वसाथी’ वा ‘पार्टीको पुराना स्तम्भ’ पनि खलनायक हुन थालेका छन् । पछिल्लो घटनाक्रम हेर्ने हो भने, नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः प्रवेशलाई लिएर देखिएको छटपटाहट, अराजनीतिक चरित्र हत्याको प्रयास र लाञ्छनाले त्यो यथार्थलाई अझ प्रमाणित गर्छ ।

विद्या भण्डारीले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेपछि नेकपा एमालेभित्र अघोषित भुइँचालो आएको छ । यिनै विद्या भण्डारी एक समय ओलीको राजनीतिक अभिन्न अंग थिइन् । राष्ट्रपति पदमा रहँदा उनले प्रधानमन्त्री ओलीको पक्षमा अनेकन निर्णयहरू गरिन्, संसद् विघटनदेखि मन्त्रिपरिषद् विस्तारसम्म । पार्टीभित्र ‘ओली + विद्या = शक्ति सन्तुलन’ भन्ने धारणा थियो ।
कार्यकर्तामाझ भण्डारीप्रति गहिरो सम्मान थियो । उनलाई पार्टीकी कर्मठ, बलियो महिला नेतृका रूपमा हेर्ने गरिन्थ्यो । तर आज त्यही महिला नेतृ पार्टी राजनीतिमा पुनः फर्किने संकेत गरेपछि उनीमाथि लाञ्छना, हमला र चरित्र हत्या हुँदै छ । किन ? किनभने ओलीलाई अब भण्डारी टाउको दुखाइको पात्र भएकी छिन् ।

ओलीवादको नयाँ मोडेल

कम्युनिस्ट पार्टी विचारले चल्ने भनिए पनि अहिले नेकपा एमाले ओलीको ‘व्यक्तिगत पार्टी’ बन्न पुगेको छ । ओलीलाई ‘अप्रतिस्पर्धी नेता’ बनाउने, उनको विकल्प खोज्नेलाई ‘देशद्रोही’ ठहर गर्ने र नेतृत्वमा ओलीबाहेक कोही हुनै नसक्ने भाष्य निर्माण गरिएको छ ।

महासचिव शंकर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेलजस्ता प्रभावशाली नेताहरूसमेत ओलीको छायामा सीमित छन् । पार्टीमा विचारको बहस सट्टा ‘ओलीवाद’ जप्ने एकल सन्देश मात्र बाँकी रह्यो । यही सन्दर्भमा भण्डारीको पुनरागमनले ओलीको एकछत्र सत्तालाई चुनौती दिने डर पैदा भयो ।

पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओली । यी दुई फरक पार्टीका नेता भए पनि प्रवृत्तिमा यिनमा असाध्यै मिल्दोजुल्दो छ । दुवैजना आफू बाँचुन्जेल कुनै पनि विकल्प स्वीकार्न तयार छैनन् । माओवादी केन्द्रमा अहिले पनि ‘प्रचण्डपन्थी’ हैसियत कायम छ र विकल्प उठाउने कार्यकर्तालाई संगठनमै अपमानित गर्ने प्रवृत्ति हाबी छ ।

प्रचण्डले आफू ‘गुरु’ हो, अरू कार्यकर्ता ‘गधा’ हुन् भन्ने शैलीमा राजनीति चलाउँदै आएका छन् । उनलाई चुनौती दिने नेताहरू चाहे नारायणकाजी श्रेष्ठ हुन् वा जनार्दन शर्मा हुन्, उनीहरुको राजनीतिक उचाइ जानाजान थिचिएको छ । अहिले प्रचण्डपथले माओवादीलाई भित्रभित्रै सिध्याउँदै छ । तर प्रचण्डको दम्भ भने कहीँ कतै घटेको देखिँदैन । यसले के नेकपा माओवादीलाई फाइदा पु¥याएको छ त ? यो कुनै पनि नेताले सार्वजनिकरुपमा बहस गर्न सक्ने अवस्था देखिँदैन ।

विद्या भण्डारीको राजनीति प्रवेशसँगै ओलीवादी वर्चश्वमा दरार आउन थालेको छ । पूर्वराष्ट्रपति भण्डारीको सक्रियता ओलीका लागि ‘नयाँ शत्रु’ बन्न पुगेको छ । शंकर पोखरेललगायत नेताहरू प्रयोग गरेर उनीमाथि टिप्पणी गरिनु, उनको अघिल्लो भूमिका झिकेर आलोचना गर्नु र उनलाई ‘राजनीति अयोग्य’ ठहर गर्ने प्रयास गर्नु, यिनै कुराले स्पष्ट गर्छ । नेकपा एमालेभित्र अब ओलीबाहेक कोही पनि नेता बन्न सक्दैन भन्ने चिन्ताजनक धारणाले जरा गाडिसकेको छ ।

भण्डारीका बारेमा सामाजिक सञ्जालदेखि नेताका सार्वजनिक भनाइसम्ममा देखिएको चरित्र हत्या अभियान, उनीमाथि गरिएको मानसिक हमला र पार्टीभित्रै उनको वर्चश्व खलबल्याउने चलखेल ओलीको डर र असहिष्णुता देखाउने प्रमाण हो ।
के महिला नेतृको राजनीति प्रवेश आपराध हो ? भण्डारीमाथि उठाइएको प्रमुख प्रश्न यही हो । के एक महिला, त्यो पनि पार्टीको पूर्वसांसद, पूर्वमन्त्री, पूर्वउपाध्यक्ष र पूर्वराष्ट्रपति रहिसकेकी नेतृले राजनीति गर्नुहुँदैन ? यदि राजनीतिमा फर्किन्छु भनिन् भने किन उनलाई दुश्मनजस्तो व्यवहार गरिन्छ ?

यो प्रश्न मात्र भण्डारीको होइन । समग्र महिला नेतृत्वको हो । पुरुष नेताहरूले जीवनभर राजनीति गर्न सक्छन् तर महिला नेतृ राजनीतिमा फर्किंदा ‘सत्ताको लोभी’ ठहरिनुपर्छ ? यस्ता भेदभावपूर्ण रवैया स्वयं एमालेको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठाउने विषय हो ।

ओलीको सत्तामोह र देशभित्र चर्किंदै गएको असन्तोषले सीमा नाघ्न लागेको छ । ओली नेतृत्वको एकछत्रवादी व्यवहारले पार्टीभित्र असन्तोष चुलिँदै गएको छ । केन्द्रीय समिति, स्थायी समिति वा पोलिटब्युरो कतै पनि बहस हुँदैन । निर्णय ‘ओली भन्छन्’ मा सीमित छ । कार्यकर्ताको भूमिका ‘ताली बजाउने’ सम्म घटाइएको छ । तर पछिल्लो समय पार्टीभित्र असहमतिका स्वरहरु गुन्जन थालेका छन् । जिल्लास्तरका नेताहरू, युवा कार्यकर्ता र सिभिल सोसाइटी ओलीवादप्रति असन्तुष्ट देखिँदै गएका छन् । यस्तै बेला भण्डारीको सक्रियताले ओलीको रणनीतिमा दरार ल्याइदिएको हो ।

च्यासल भेटवार्तालाई कार्यकर्ताहरुले ‘मीठो तर नुन नहालेको तरकारी’ जस्तो भएको टिप्पणी गर्न थालेका छन् । ओली र भण्डारीबीच भएको पछिल्लो भेटवार्तालाई कतिपयले ‘पार्टी एकताको प्रयास’ मानेका छन् भने केहीले ‘संघर्ष टार्ने रणनीति’ । तर यथार्थमा यो भेट ‘मीठो तर नुन नहालेको तरकारी’ बन्यो । हाँसो त आयो, तर स्वाद आएन ।

यो भेटपछि पार्टीभित्र ‘भण्डारीले ओलीलाई चुनौती नदिने’ जस्तो सन्देश दिन खोजिएको भए पनि ओलीका निकट नेताहरूको व्यवहारले उल्टो सन्देश दिएको छ । उनको सक्रियता रोक्न चरित्र हत्या अभियान फेरि चर्किएको छ ।
व्यक्तिवादको अन्त्य, विचारवादको पुनरागमनको रुपमा भण्डारीको सक्रियतालाई लिएको पाइन्छ । नेपालका कम्युनिस्ट पार्टीहरू अब विचार होइन, व्यक्ति केन्द्रित हुँदै गएका छन् । चाहे ओली हुन् वा प्रचण्ड, दुवैले आफूमात्र सही भन्ने मानसिकता पालेका छन् । यस्ता प्रवृत्तिले पार्टीमा नयाँ नेतृत्व जन्मिन दिँदैन, बहसको संस्कृति मार्छ र अधिनायकवादलाई जन्म दिन्छ ।
भण्डारीको पुनः सक्रियता कुनै व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, पार्टीभित्र वैकल्पिक नेतृत्वको बहस शुरु गर्ने अवसर पनि हो । यदि नेकपा एमालेभित्र विचार र लोकतन्त्र बाँकी छ भने, भण्डारीको आगमनलाई अवसरको रूपमा लिनुपर्छ, चुनौतीको रूपमा होइन ।

ओलीवादी सत्ता कामना र भण्डारीको सम्भावित पुनरागमनबीचको द्वन्द्वले नेपाली कम्युनिस्ट राजनीतिमा व्यक्तिपूजाको त्रासदी फेरि उजागर गरिदिएको छ । अब पनि पार्टीले आत्मचिन्तन गरेन भने, भोलि जनता नै वैकल्पिक राजनीतिक शक्ति खोज्न बाध्य हुनेछन् । त्यो बेला न ओली बाँकी रहनेछन्, न प्रचण्ड ।

कम्युनिस्टहरूमा छलफल र बहसको संस्कार मूल थलो हो भन्ने मानिन्छ । तर अहिले त्यो संवाद नष्ट भएको छ । कुनै नेताको आलोचना गर्नासाथ उसलाई अर्को पार्टीको ‘गुप्तचर’ घोषित गरिन्छ, उसको अतीत कोट्याएर सार्वजनिक अपमान गरिन्छ ।
पार्टीभित्रै राजनीतिक प्रश्न उठाउने कार्यकर्तालाई ‘रेखाबाहिर’ को पात्र ठहर गर्ने अभ्यास संस्थागतरूपमा मौलाउँदै गएको छ । विद्या भण्डारीमाथि अहिले देखिएको व्यवहार पनि यही प्रक्रियाको अर्को अध्याय हो । जहाँ संवादको सट्टा दमन प्रयोग हुँदै छ । विचारप्रधान पार्टीहरू जब व्यक्तिपूजामा फस्छन्, तब संगठन र विचार दुवै गुमाउँछन् । नेकपा एमाले र माओवादी केन्द्रका हालका घटनाक्रमले यही सन्देश दिएको छ । अब नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र र आलोचनाको स्वीकार्यता पुनस्र्थापना नगरेसम्म यस्ता पार्टीहरू शक्तिशाली होइन, केवल शक्तिको टेकोमा टिकेका भीड मात्र हुनेछन् ।