काठमाडौं।
भारत सरकारको अनुदान सहयोग अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाउन काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो । यी परियोजनाहरुको कुल अनुमानित लागत ३९ करोड रुपैयाँ रहेको छ ।
समझदारी भएका परियोजनाहरुमा धनुषाको बटेश्वर गाउँपालिका बटेश्वर–३ को श्रीजनशक्ति माध्यमिक विद्यालय भवनको निर्माण ; पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालयको निर्माण ; अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालयको निर्माण ; बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालयको विद्यालय भवन, छात्रावास तथा पुस्तकालयको निर्माण ; र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शय्याको अस्पताल भवनको निर्माण रहेका छन् । यी परियोजनाहरुको कार्यान्वयन नगरपालिका र गाउँपालिकासहित स्थानीय निकायहरु तथा संस्थाहरु मार्फत गरिने जनाइएको छ ।
यी संरचनाहरुको निर्माणले नेपालका जनतालाई राम्रो शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने विश्वास लिइएको भारतीय दूतावासले जनाएको छ ।
सन् २००३ यता भारत सरकारले सोमबार समझदारी पत्रमा हस्ताक्षर भएका पाँच वटा परियोजनाहरुसहित नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ । यीमध्ये भुँइतहमा नेपालका ७ वटै प्रदेशभरि स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ क्षेत्रमा र सार्वजनिक उपयोगी वस्तुको निर्माणमा ४९६ परियोजनाहरु सम्पन्न भइसकेका छन् । बाँकी परियोजनाहरु विभिन्न चरणका रहेको बताइएको छ ।











प्रतिक्रिया