पत्रकारिताका समस्या र चुनौती : को कति जिम्मेवार ?

1.22k
Shares

‘यदि तपाईं संसार परिवर्तन गर्न चाहनुहुन्छ भने पत्रकारिता नै सबैभन्दा छिटो हतियार हो ।’ –टोम स्टोपार्ड ।
बेलायतका विख्यात नाटककार स्टोपार्डको यस कथनले पत्रकारिताको शक्ति र प्रभावलाई प्रस्टरूपमा दर्शाउँछ । पत्रकारिता केवल सूचना प्रवाहको माध्यम मात्र होइन, यो सामाजिक उत्तरदायित्व, जनचेतना र सत्ता निगरानीको अभिन्न अंग हो ।
लोकतान्त्रिक समाजमा जनताले सरकार, सत्ता र शक्तिकेन्द्रसँग जवाफदेहिता खोज्ने माध्यम पत्रकारिता नै हो । विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्ने प्रमुख अवयव स्वतन्त्र पत्रकारिता हो, जसविना प्रजातन्त्रको अस्तित्व केवल औपचारिकता मात्र हुन्छ ।

नेपोलियन बोनापार्ट भन्छन्– ‘पत्रकार भनेका आरोपी, समालोचक, सल्लाहकार, बादशाहका प्रतिनिधि र राष्ट्रका सेवक हुन् । चारवटा विरोधी पत्रिका ४ हजार सैनिकभन्दा पनि डरलाग्दा हुन्छन् ।’

यिनै कारणले पत्रकारितालाई ‘चौथो अंग’को रुपमा विश्वव्यापीरुपमा मान्यता दिइएको छ, जसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कार्यलाई निगरानी गर्दै जनताको पक्षमा बोल्ने काम गर्छ । यसले नीति निर्माणमा बहस र विमर्शलाई जन्म दिन्छ, सार्वजनिक चासोका मुद्दालाई प्राथमिकता दिन्छ, र सत्तालाई जनउत्तरदायी बनाउन दबाब सिर्जना गर्छ ।
अमेरिकाका तेस्रा राष्ट्रपति थोमस जेफर्सनको ऐतिहासिक भनाइ अझ गहिरो छ– ‘यदि सरकारविनाको समाचारपत्र र समाचारपत्रविनाको सरकारमध्ये रोज्नुपर्‍यो भने म सरकारविनाको समाचारपत्र रोज्नेछु ।’

महात्मा गान्धीले पनि पत्रकारिताको नैतिक उचाइबारे उल्लेख गरेका छन्– ‘पत्रकारिताको उद्देश्य केवल आम्दानी गर्नुहोइन, जनताको आवाज बोल्नु हो ।’

यति धेरै महत्व बोकेको पत्रकारिताले आज विश्वव्यापीरुपमा चुनौती र संकट व्यहोर्नुपरिरहेको छ । यस्ता चुनौती र संकट अरुहरुको तुलनामा नेपाललगायत तेस्रो विश्वका देशहरुमा बढी छ । प्रजातन्त्रको अभावमा कतिपय मध्यपूर्वी देशमा पत्रकारिताले अत्यधिक दुःख र कष्ट व्यहोर्नुपरिरहेको छ । आन्दोलनका नाममा कैयौँ पत्रकारहरु मृत्युको मुखमा पर्न बाध्य भइरहेका छन् । नेपालमा भने विश्वमै उन्नत मानिएको शासन प्रणालीको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र रहे पनि नेपालको पत्रकारिताले आफूलाई पूर्ण सुरक्षित भएको अनुभूति गर्न सकिरहेको छैन । यो ठूलो विडम्बनापूर्ण तथ्य हो । पत्रकारिताको जिम्मेवारी निकै गहिरो र संवेदनशील छ । लोकतान्त्रिक भनिएकै शासकहरु उदार हुन नसक्दा र पत्रकारिता क्षेत्रलाई फराकिलो दृष्टिले हेर्न नसक्दा यहाँको पत्रकारिताले समस्या र चुनौती भोग्नुपरेको हो । तथापि, हाल हामीकहाँ देखिएको एक चिन्ताजनक अवस्था भनेको सकारात्मक पत्रकारिता गर्न नसक्नु र पत्रकारहरूमा सकारात्मक चिन्तनको अभाव हुनु पनि हो । अधिकांश समाचारहरू नकारात्मक घटना, आरोप, असफलता र विफलताको वरिपरि घुमिरहेका छन् । यसबाट समाजमा ‘मुलुक खत्तम भयो’, ‘देश बर्बाद हुँदै छ’ भन्ने किसिमका निराशाजनक भाष्यहरू जन्मिइरहेका छन् ।

यो प्रवृत्ति दीर्घकालीनरूपमा लोकतन्त्र, सुशासन र सामाजिक मनोविज्ञान दुवैका लागि घातक हुन सक्छ । पत्रकारिताको मूल उद्देश्य केवल गलतलाई उजागर गर्नु मात्र होइन, समाज र देशमा आशाको किरण देखाउनु पनि हो । खबरदारीसँगै उत्प्रेरणा दिन सक्ने शक्ति पनि पत्रकारितामा हुनुपर्छ । समाजमा आशा जगाउने, उदाहरणीय कार्यहरू देखाउने, विकास र निर्माणका सकारात्मक प्रयासहरूलाई उजागर गर्ने जिम्मेवारी पनि पत्रकारिताकै हो ।

नेपालमा पत्रकारिता एउटा यस्तो क्षेत्र हो, जसले राष्ट्र निर्माणका प्रत्येक मोडमा साक्षीको भूमिका निर्वाह गर्दै आएको छ । विश्वव्यापीरुपमा यसलाई लोकतन्त्रको चौथो अंगको रुपमा लिइने भए पनि नेपालका शासकहरुको दिमागमा यो तथ्य राम्ररी घुस्न सकेको छैन । यसका कारण पनि नेपालको पत्रकारिता जगत्ले स्थायीरुपमा नै विभिन्न चुनौती र संकट व्यहोर्नुपरिरहेको छ, जुन हाम्रो लोकतान्त्रिक शासन व्यवस्थाको लागि अशोभनीय कुरा हो ।

नेपालको पत्रकारिता क्षेत्रले भोग्नुपरेका चुनौतीलाई निम्नरुपमा उल्लेख गर्न सकिन्छ । यिनै चुनौतीका आधारमा यहाँको पत्रकारितालाई समस्या र संकटमा पार्ने पक्षहरु को हुन् ? भन्ने बारेमा समेत बुझ्न सकिन्छ ।

१. सरकारी पक्षबाटै चुनौती :

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेको झन्डै एक दशकभन्दा बढी समय बितिसकेको छ । तर पनि पत्रकारिता र सञ्चारमाध्यमको विकास तथा संरक्षणका लागि आवश्यक नीति, कानुन र संरचनागत व्यवस्था अझै पनि अधुरो र अस्पष्ट छ । सरकारका विभिन्न निकायहरू प्रेसप्रति संवेदनशील छैनन् । सञ्चारकर्मीहरूमाथि प्रहरी लगाउने, मनपरी कानुनी व्यवस्था लागू गर्ने र साइबर कानुनको नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भइरहेका छन् । पछिल्लो समय ‘डिजिटल सुरक्षा’को नाममा आउने कानुनी विधेयकहरू आलोचना र सेन्सरको औजार बन्न पुगेका छन् । सूचनाको स्रोतमा पहुँचलाई पनि सरकारी अधिकारीहरुले सरल र सहज बनाउनेतर्फ कुनै ध्यान नै दिएका छैनन् । बरु कसरी हुन्छ, सूचना लुकाउनेतर्फ नै उनीहरुको ध्यान केन्द्रित हुने गरेको छ ।

२. आर्थिक अभाव र पेसागत असुरक्षा :

नेपालमा पत्रकारिता गर्दा २४ सै घण्टा खटिने पत्रकारहरूसमक्ष बिहान–बेलुका पेट भर्ने चिन्ता छ । यो यथार्थताले पत्रकारिताको आत्मसम्मानमा ठेस पु¥याएको छ । उचित पारिश्रमिक नपाउने, कामको सुरक्षा नभएको, बिमा र पेन्सन सुविधा नपाउने अवस्थाले पत्रकारलाई निराश बनाएको छ । पेसामा टिक्न नसकेर धेरै दक्ष पत्रकार वैकल्पिक पेसा रोज्न बाध्य भएका छन् भने केही विदेश पलायन भएका छन् । आर्थिकरूपमै कमजोर पत्रकारलाई आफ्नो स्वतन्त्रताको रक्षा गर्न कठिन हुन्छ । एउटै सञ्चारमाध्यममा २०–२५ वर्षसम्म बिताएका सञ्चारकर्मीहरुको सुरक्षाको ग्यारेन्टी शून्य प्रायः छ । ती मिडियाले त्यस्तो पत्रकारको सुरक्षाको लागि कुनै प्रकारका विशेष योजना र कार्यक्रम ल्याउन सकेका छैनन् ।

३. राजनीतिक प्रभाव र पक्षधरता :

नेपालको सञ्चार क्षेत्रमा राजनीतिक प्रभाव निकै गहिरो छ । कतिपय मिडिया घरानाहरू राजनीतिक दल, नेताहरू वा व्यावसायिक समूहहरूको स्वार्थमा चलिरहेका छन् । यसले समाचारको निष्पक्षता, सन्तुलन र विश्वसनीयतामा प्रश्न उठाएको छ । पत्रकारिता सूचना दिने माध्यम नभई अभियान चलाउने हतियार बन्ने होडबाजी देखिन थालेको छ । यसले सम्पूर्ण पत्रकारिता क्षेत्रको नैतिक धरातल कमजोर बनाइरहेको छ । पार्टी पत्रकारिताले पनि समस्या र चुनौती थपिएको छ ।

४. पेसागत आचारसंहिता र पीत पत्रकारिता :

कतिपय सञ्चारमाध्यम र पत्रकारहरूले आफ्नो पेसागत धर्म र मर्म बिर्संदै गएका छन् । समाचारको सत्यतथ्य, पुष्टि र स्रोतको सम्मानभन्दा पनि सनसनी, लाभ वा प्रभावको खोजीमा पीत पत्रकारिताको अभ्यास बढ्दो छ । यस्ता प्रवृत्तिले सम्पूर्ण पत्रकारितामाथि नै अविश्वासको बादल मडारिएको छ । पत्रकारितालाई मात्र कमाई खाने भाँडोको रूपमा लिँदा यस पेसाको आत्मा नै खल्बलिएको छ । यसैले पत्रकारितामाथि जनताको विश्वास घट्दै गएको छ । पत्रकारहरु व्यावसायिक मर्यादालाई उल्लङ्घन गर्दै आर्थिक र अन्य लाभ उठाउन तल्लीन छन् । सरकारी सेवामा जस्तै पत्रकारिता क्षेत्रमा पनि घुस प्रथा मौलाउन पुगेको भन्दै आलोचना हुने क्रम बढेको छ ।

५. प्राविधिक चुनौती र डिजिटल संक्रमण :

सूचना प्रविधिको तीव्र विकासले पत्रकारितामा नयाँ सम्भावनासँगै गम्भीर चुनौती पनि ल्याएको छ । डिजिटल प्लेटफर्म, अनलाइन मिडिया, सामाजिक सञ्जालको विस्तारसँगै ‘फेक न्यूज’, भ्रमपूर्ण सूचना र तथ्यहीन प्रचारको प्रवाह बढेको छ । यस्ता समाचारको तथ्य जाँच गर्ने प्रविधि, दक्ष जनशक्ति र समयको अभावले समाचारको विश्वसनीयता कमजोर बनिरहेको छ । साथै, प्रिन्ट मिडिया बजार पनि खुम्चिँदै गएको छ, जसले धेरै संस्थाहरू बन्द हुने वा डिजिटलमा रुपान्तरण हुने बाध्यता ल्याएको छ ।

६. संरचना, पूर्वाधार र जनशक्तिको अभाव :

नेपालका अधिकांश जिल्ला र ग्रामीण भेगमा सञ्चार संस्थाहरू आवश्यक पूर्वाधार र स्रोतविनाको अवस्थामा सञ्चालित छन् । ग्रामीण पत्रकारिताको अवस्था अझ दयनीय छ, जहाँ न त प्रविधि छ, न त तालिम प्राप्त जनशक्ति । सञ्चार क्षेत्रको समग्र विकासका लागि समान पहुँच र समान अवसरको प्रत्याभूति नभएसम्म पत्रकारिताको सन्तुलित विकास सम्भव छैन ।

७. सुरक्षा जोखिम र प्रेस स्वतन्त्रताको सीमारेखा :

नेपालमा पत्रकारहरूले अझै पनि लेख्न डराउनुपर्ने अवस्था छ । विशेष गरी सत्ता वा ठूला व्यावसायिक समूहविरुद्ध कलम चलाउँदा धम्की, डर त्रासा वा मुद्दा लगाउने क्रम अझै पनि जारी छ । कतिपय अवस्थामा पत्रकारहरूमाथि हातपात, गैरकानुनी पक्राउ र अपमानजनक व्यवहार भएका तथ्यहरू सार्वजनिक भएका छन् । यो अवस्थाले स्वतन्त्र पत्रकारिता गर्ने वातावरणको अभाव देखाउँछ । यस्तो अवस्थामा शासकहरुले पत्रकारिताको संरक्षणका लागि कुनै पहल गर्ने गरेका छैनन् । उल्टो मौन बसेर पत्रकारलाई दुःख दिने प्रवृत्तिमा सहयोगी बन्ने गरेको देखिन्छ । यसै गरी अदालतमा हुने भ्रष्टाचार र त्यसमा हुने न्यायाधीशको संलग्नताका बारेमा पनि पत्रकारलाई लेख्न कठिन हुने गरेको छ ।

८. आन्तरिक अनुशासन र जिम्मेवारीबोधको अभाव :

पत्रकारिता स्वतन्त्र छ भनेर जे–जति मन लाग्यो त्यही लेख्न वा प्रसारण गर्न पाइन्छ भन्ने होइन । स्वतन्त्रता जिम्मेवारीसहित आउँछ । तर कतिपय पत्रकार र मिडिया संस्थाले आन्तरिक अनुशासन र आत्मसंयमको पालना गर्न सकेका छैनन् । स्रोतको गोपनीयता, पीडितको मर्यादा, संवेदनशील मुद्दामा सन्तुलित व्यवहारजस्ता पक्षमा कमजोरी देखिन्छ । पत्रकारहरूबीच प्रतिस्पर्धा स्वस्थ नभई ‘को अघि कसरी उछिन्ने’ भन्ने होड चलिरहेको छ । सामाजिक सञ्जालमा आएका फेक विषयलाई पत्रकारितामा घुलन गराएर झनै बदनाम गराउने कामसमेत हुने गरेको छ ।

९. सकारात्मक चिन्तन फैलाउन असफल :

समाजमा आशा जगाउने, उदाहरणीय कार्यहरू देखाउने, विकास र निर्माणका सकारात्मक प्रयासहरूलाई उजागर गर्ने जिम्मेवारी पनि पत्रकारिताकै हो । नेपालमा भइरहेका ठूला पूर्वाधार निर्माण, स्वास्थ्य र शिक्षामा भएका सुधार, स्थानीय तहका सफल कार्यक्रमहरू, युवाले शुरु गरेका सिर्जनात्मक अभियानहरू– यस्ता उदाहरणहरूलाई प्राथमिकता दिइनु अत्यावश्यक छ । जनतालाई केवल समस्या मात्र होइन, समाधानतर्फ पनि डो¥याउने पत्रकारिता आजको आवश्यकता हो । तर यस्ता विषयमा नेपाली पत्रकारिता नराम्ररी चुक्दै आइरहेको छ ।

१०. सन्तुलित पत्रकारितामा समस्या :

अवश्य सत्ताको आलोचना गर्नुपर्छ, गलतमा औँला ठड्याउनुपर्छ, तर त्यो सँगसँगै आशा, प्रेरणा र समाधानको दिशातर्फ डो¥याउने ‘सन्तुलित पत्रकारिता’ पनि अपरिहार्य छ । लोकतन्त्रमा पत्रकारिता ‘चौथो अंग’ मात्र होइन, समाजको सांस्कृतिक प्रतिविम्ब र भविष्यप्रति मार्गदर्शन दिने शक्ति पनि हो । त्यसैले, खबरदारी गर्दै सकारात्मकता भर्नु आजको पत्रकारिताको प्रमुख जिम्मेवारी बन्न पुगेको छ ।

११. सामाजिक पछौटेपन :

हामीकहाँ शिक्षित, चेतनशील र जागरुक समाजको संख्या निकै कम छ । किनकि पत्रकारिताको प्रमुख आधार भनेकै शिक्षित, सभ्य र सुसंस्कृत समाज हो । त्यसैले यहाँको पत्रकारिता चुनौतीमा छ ।नेपालमा पत्रकारिताका चुनौतीहरू गम्भीर र बहुआयामिक छन् । तीमध्ये केही बाह्य छन् भने केही पत्रकारिता स्वयंभित्रका छन् । समाधानका लागि राज्य पक्षले पत्रकारिता अनुकूल नीति, सुरक्षा, उचित पारिश्रमिक, पेसागत सम्मान र सशक्त संरचना निर्माणमा ध्यान दिनुपर्छ ।

यस्तै, सञ्चारमाध्यमहरूले राजनीतिक दासत्वबाट मुक्त भई पेसागत आचारसंहितामा आधारित विश्वसनीय पत्रकारितालाई अँगाल्न जरुरी छ ।पत्रकारिता केवल समाचार लेख्ने वा प्रकाशन–प्रसारण गर्ने माध्यम मात्र होइन, जनताको भावना बोकेर सत्ता, प्रणाली र नीतिलाई प्रश्न गर्ने सशक्त यन्त्र हो । त्यसैले यसको संरक्षण, सुधार र सुदृढीकरणमा सम्पूर्ण सरोकारवाला एकै ठाउँमा उभिनु आजको आवश्यकता हो । पत्रकारिता बचाउन सकिएन भने लोकतन्त्रको मेरुदण्ड आफैँ खुम्चिन थाल्नेछ ।