भारतको उत्तर प्रदेशमा भर्खरै सार्वजनिक भएको तथाकथित ‘छंगुर बाबा’ उर्फ जलालुद्दिनको धर्मान्तरण सिन्डिकेटले धार्मिक रूपान्तरणको नाममा सक्रिय, भयावह र आपराधिक सञ्जालको पर्दाफास गरेको छ । यद्यपि घटनाको मूल केन्द्र भारत भए पनि यसमा नेपालको गहिरो सन्दर्भ जोडिनु हाम्रो सुरक्षागत कमजोरी, खुला सीमाको संवेदनशीलता र विदेशी फन्डिङप्रतिको लापरबाहीतर्फ संकेत गर्ने गम्भीर चेतावनी हो ।
छंगुर बाबाले कमजोर वर्ग, विशेषतः महिला, विधवा, दलित र अनाथ बालबालिकालाई लक्षित गरी धर्मान्तरण अभियान सञ्चालन गर्दै आएको तथ्यले धर्म परिवर्तनको विषयमा निहित स्वार्थ र योजनाबद्ध षड्यन्त्रलाई उजागर गर्छ । उनीमाथि हजारौं गैर–मुस्लिमलाई इस्लाममा रूपान्तरण गराएको आरोप मात्र होइन, धर्म परिवर्तन गराउन आर्थिक प्रलोभन दिने दर तोकिएको विवरण झनै खतरनाक छ । पुरुषलाई ५० हजार, महिलालाई १ लाख र दलित महिलालाई १ लाख ५० हजार भारतीय रुपियाँसम्मको दरले धर्मान्तरण भएको खुलासा हुनु मानव मूल्यको व्यापारजस्तै प्रतीत हुन्छ ।
यस सिन्डिकेटमा खाडी मुलुक, दुबई र नेपाल हुँदै फन्डिङ प्रवाह भएको भारतीय सुरक्षा निकायको दाबीले नेपाललाई यस जालोको ‘ट्रान्जिट’ वा सम्भावित ‘सफ्ट बेस’ बनाइएको आशंका बलियो बनाएको छ । भारतका अनुसन्धान निकायहरूले छंगुरको फन्ड नेपाल हुँदै भारत पुग्ने गरेको, दुई सय करोड रुपियाँभन्दा बढीको विदेशी रकम नेपालमा छिरेको र अब तीन सय करोड पठाउने तयारी भएको विवरण सार्वजनिक गरेका छन् । यति ठूलो रकम नेपालका बैंकिङ प्रणाली, नियमनकारी निकाय र सुरक्षा संयन्त्रको निगरानी क्षमतामाथिको प्रश्न हो । नेपालको रुपन्देही, नवलपरासी, बाँके, काठमाडौंजस्ता क्षेत्रमा बैंक खाता, एजेन्ट र संस्थागत नेटवर्क सक्रिय भएको आरोप गम्भीर छ । स्वास्थ्य शिविर, शिक्षामूलक कार्यक्रम र धार्मिक पुस्तक वितरणजस्ता ‘सामाजिक सेवा’ को आवरणमा धर्म परिवर्तनको प्रयत्न हुनु धर्म र सेवाको दुव्र्याख्या मात्र होइन, राज्यविरुद्धको सुनियोजित हस्तक्षेप हो ।
नेपालमा हालसम्म छंगुरको प्रत्यक्ष उत्तराधिकारी पहिचान नभए पनि उनका प्रभावमा रहेका एजेन्टहरू धार्मिक शिक्षालय तथा सामाजिक संस्थाहरूमा देखिनु चुपचाप फैलँदो संकट हो । अझ चिन्ताको कुरा त के भने, केही व्यक्तिहरूले हिन्दू नागरिकको परिचय बनाएरै धर्म परिवर्तनलाई वैधता दिने रणनीति अख्तियार गरेको देखिएको छ । यसले नेपालको नागरिकता, जातीय विवरण तथा धार्मिक स्वतन्त्रतासम्बन्धी नीति र संरचनाको दुरुपयोग भैरहेको पुष्टि गर्दछ ।
यस्तो पृष्ठभूमिमा नेपाल सरकार र सुरक्षा निकायले ‘हामीलाई जानकारी छैन’ भनेर पन्छिनु पर्याप्त होइन । छंगुर बाबासँग सम्बन्धित सम्पूर्ण गतिविधि, सम्पर्कहरू, फन्डिङ ट्रेल, बैंकिङ लेनदेन र संस्थागत संलग्नता गहिरो अनुसन्धानको विषय हुनुपर्छ । सामाजिक संस्था, विदेशी सहायता, धार्मिक शिक्षालय र बैकिङ प्रणालीमाथि निगरानी नबढाएसम्म यस्ता सिन्डिकेट पुनः जन्मिने जोखिम रहन्छ । नेपाल–भारतको खुला सीमा अपराध, तस्करी र अवैध कारोबारको प्रवेशद्वार बनेकै हो । अब यो धार्मिक रूपान्तरणजस्ता संवेदनशील विषयमा पनि प्रयोग हुन थालेको छ । यसले नेपालको सुरक्षा, धार्मिक सद्भाव, वैदेशिक नीति र सामाजिक स्थायित्वमाथि दीर्घकालीन असर पार्न सक्छ । जब धर्म परिवर्तन सुनियोजित रूपमा, विदेशी फन्डिङ, छलकपट, प्रलोभन र संस्थागत जालोमार्फत गरिन्छ भने त्यो स्वतन्त्रता होइन, आपराधिक षड्यन्त्र हो । नेपाल यस्तो षड्यन्त्रको भूमि बन्न नदिने दृढता देखाउनु आजको आवश्यकता हो ।











प्रतिक्रिया