लन्डन, (एजेन्सी)
स्पेनिस फुटबल क्लब एफसी बार्सिलोनामा कुनैबेला अर्जेन्टिनी लेजेन्ड लियोनेल मेसीले लगाउने गरेको आदर्श १० नम्बरको जर्सी अब युवा प्रतिभा लामिन यामलले लगाउने भएका छन ।
क्लब अध्यक्ष जोआन लापोर्टाले विशेष समारोहमार्फत १८ वर्षीय यामललाई यो जर्सी हस्तान्तरण गरेपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पने बार्सिलोनाको भावी योजना झल्किएको छ । १० नम्बरको जर्सी बार्सिलोनाको इतिहासमा गौरवपूर्ण छ । ब्राजिलियन जादुगर रोनाल्डिन्होबाट सुरु भएको यो यात्रालाई लियोनल मेसीले अमर बनाए । १७ वर्षसम्म क्लबको सिनियर टोलीमा खेलेका मेसी क्लबकै पर्याय बने । कप्तानको जिम्मेवारीमा मैदानमा उत्रिने मेसीले २०२१ मा क्लब छाडेपछि यो जर्सीप्रति समर्थकको भावना यति बलियो भयो कि धेरैले यसलाई संन्यास दिने प्रस्ताव नै गरे । तर, क्लबले त्यो जर्सी मेसीकै मार्गदर्शनमा उदाएका अन्सु फातीलाई जिम्मा दियो ।
अन्सु फातीबाट निकै अपेक्षा गरिए पनि चोटले उनको गति रोक्यो । बार्सिलोनाको योजनाबाट बाहिरिँदै हालै उनी फ्रेन्च क्लब मोनाकोमा लोनमा गएका छन् । यही समयमा क्लबले फेरि आफ्नो १० नम्बर नयाँ पात्रलाई सुम्पिएको छ । क्लबको एकेडेमी ‘ला मासिया’ बाट हुर्किएका यामलले केही दिन अघि मात्रै १८ औं जन्मदिन मनाएका थिए । अब उनी नयाँ सिजनदेखि १० नम्बर जर्सीमै मैदान उत्रिनेछन् ।
गत सिजनसम्म उनी १९ नम्बरमा देखिँदै आएका थिए । यामलभित्रको मेसीको झल्को क्लब र समर्थक दुवैले देखेका छन् । यामल उमेरले कलिलो भएपनि प्रतिभाले भने साह्रै परिपक्व छ । यामलको आँकडाले उनको क्षमतालाई पुष्टि गर्छ ।
बार्सिलोनाका लागि १०६ खेलमा २५ गोल र २८ असिस्ट गरेका उनले स्पेनको राष्ट्रिय टिमका लागि २० खेलमा ६ गोल गरिसकेका छन । यामलले २ ला लिगा, १ कोपा डेल रे, १ सुपर कप, साथै युरो कप र नेसन्स लिग पनि जितिसकेका छन् । जर्सी हस्तान्तरणपछि उनले आफ्ना भावना बाँडे,–“बाल्यकालदेखि नै मेरो सपना थियो बार्सिलोनाको पहिलो टिममा खेल्ने र १० नम्बरको जर्सी लगाउने । मेसीले यही जर्सीमा इतिहास बनाए, अब म मेरो बाटो बनाउनेछु ।” अहिले अब उनको काँधमा विश्वकै सबैभन्दा प्रसिद्ध फुटबल जर्सीमध्ये एकको गरिमा जोगाउने जिम्मा थपिएको छ । मेसीकै जस्तो खेलशैली र ट्यालेन्ट भएको मानिएका यामलले विश्व फुटबलमा आफूलाई ‘नयाँ मेस्सी’ को रूपमा स्थापित गर्ने संकेत दिइसकेका छन् । अब हेर्न बाँकी छ उनले १० नम्बरको जर्सीलाई कति उँचाइमा पु¥याउनेछ भनेर । यसको जवाफ चाहिँ समयले नै दिनेछ ।











प्रतिक्रिया