ओडिशामा छात्राको मृत्यु प्रकरणले लियो उग्र रूप, बीजु जनता दलको विरोध प्रदर्शनमा प्रहरीको अश्रुग्यास


भुवनेश्वर, ओडिशा।

ओडिशामा एक छात्राको शंकास्पद आत्महत्यापछि उत्पन्न आक्रोश अब सडकमा आइपुगेको छ। यौन उत्पीडनको आरोपमा न्याय नपाएको भन्दै आत्महत्या गरेकी छात्राको पक्षमा न्यायको माग गर्दै बीजु जनता दल (बीजद) का कार्यकर्ताहरूले मंगलबार राजधानी भुवनेश्वरमा प्रदर्शन गरे।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीलाई अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

बीजदका विधायक सुशान्त कुमार राउतले समाचार एजेन्सी एएनआईलाई भने, “हाम्रो माग छ – पीडित छात्रालाई न्याय मिलोस्। उनको परिवारलाई २० लाख होइन, २ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्छ।”

मुख्यमन्त्रीले यसअघि छात्राको परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेका थिए।

के भएको हो?
छात्रा ओडिशाको फकिर मोहन कलेज, बालासोरकी थिइन्। उनले कलेजका विभाग प्रमुख समीर साहूमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी थिइन्।

उनको उजुरीका बाबजुद कलेज प्रशासनले कारबाही नगरेको छात्रा परिवारको भनाइ छ। न्याय नपाएको निराशामा परेकी छात्राले शनिबार आत्महत्या प्रयास गरेकी थिइन्। उनलाई गम्भीर अवस्थामा भुवनेश्वरस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको मृत्यु भयो।

अनुसन्धानको वर्तमान स्थिति
यो घटना सार्वजनिक भएपछि कलेज प्रिन्सिपल दिलीप कुमार घोष र अभियुक्त समीर साहूलाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धान अगाडि बढिरहेको प्रहरीको भनाइ छ। बीबीसीबाट