स्पेन भ्रमणबारे छानबिन गर्न समिति गठन


काठमाडौँ।

स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको छ। सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी समिति बनाइएको हो।

एसएसपी बोगटीले समिति गठन भएसँगै काम सुरू भइसकेको बताए।

सोमबार गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी दीपक थापालाई यसको छानबिन गर्न निर्देशन दिएका थिए।

स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय के हो?, अरू कुन संस्थामार्फत कसरी गए?, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍यो?, कसको समन्वयमा गए? भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएका थिए।

केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने निर्णय भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।

स्पेन भ्रमणबाट फर्किएपछि रास्वपा सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर बोलेका थिए।