समृद्ध समाजका लागि पठन संस्कृति

6.96k
Shares

मान्छे सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकाले उसले व्यक्तिगतरुपमा र सामूहिकरुपमा विविध अभ्यास गर्दछ । लामो निरन्तर अभ्यासले त्यो समाजमा संस्कृतिकोे स्थापना गर्दछ । चाडपर्व, रीतिरिवाज, पहिरन, जीवनशैली त्यसै क्रममा संस्कृतिका रुपमा स्थापित भएका हुन् । तर कतिपयलाई लाग्ने ती मात्र संस्कृति हैनन्, पठन संस्कृति पनि आधुनिक समाजको महत्वपूर्ण संस्कृति हो । पठन संस्कृति अर्थात् चालचलन जुन समाजमा औपचारिक शिक्षाभन्दा बाहिर पनि पढ्ने बलियो परम्परा छ, जुन समाजमा पुस्तकप्रति (पुस्तकको साथै अन्य पठन सामग्रीसमेत) मोह छ, जुन समाजमा पठनका लागि उमेरले छेक्दैन, जुन समाज जड हैन चलायमान छ, जुन समाजमा अध्ययन, विमर्श, प्रश्न र अन्तक्रियालार्ई महत्व र प्रोत्साहन गरिन्छ, त्यस्तो समाज पठन संस्कृति भएको समाज हो । त्यस्तो समाजमा साँच्चिकै पुस्तक पूजनीय हुन्छ । सार्वजनिक पुस्तक पढ्ने स्थल अर्थात् पुस्तकालयदेखि घरघरमा पुस्तक पढ्ने पर्याप्त व्यवस्था हुन्छ । जहाँ व्यक्ति, परिवार, समाज, राष्ट्र र राष्ट्रको नीति निर्मातासमेतले पढ्ने, प्रश्न गर्ने, आलोचनात्मक चेत राख्ने कुरालाई आफ्नो जीवनशैलीमा अनिवार्य अङ्ग बनाएको हुन्छ ।

स्कूल, विश्वविद्यालयको औपचारिक पढाइ निश्चित अवधिको हुन्छ । त्यहाँ पनि पढाइ भनेको ज्ञान नै हो । तर त्यो धेरै हदसम्म प्रमाणपत्रसँग जोडिएको हुन्छ । तर पठन संस्कृति समय र अवधिको घेरामा बाँधिएको हुँदैन । जीवन रहँदासम्म रहिनै रहन्छ । ज्ञान र चेतना मान्छेको जीवनको अभिन्न अङ्ग हो । सिक्नु, जान्नु, बुझ्नु कुनै निश्चित अवधिको प्रक्रिया हैन, जबसम्म जीवन छ जबसम्म शरीर र मस्तिष्कले काम गर्दछ, यो निरन्तर चलिरहन्छ । जिज्ञासु, उत्सुक एवम् तर्क–बहसमा विश्वास गर्ने व्यक्ति निश्चित अवधिको औपचारिक पढाइमा सीमित रहँदैन, जीवनभर पढिरहन्छ । किनभने ज्ञानको भण्डार यति विशाल, यति व्यापक र यति अनन्त छ कि जीवनभर पढिरहे पनि त्यो अपूर्ण नै हुन्छ ।

पठन संस्कृतिले हामीलाई ज्ञान दिन्छ । ज्ञानले तर्क गर्न सिकाउँछ । तर्कले प्रश्न गर्न सिकाउँछ । प्रश्न नगर्ने समाज र संस्कृतिको जड हो । जतिसुकै विशाल र सफा पानी भएको पोखरी भए पनि त्यो चलायमान भएन भने अन्ततः फोहोर नै हुन्छ । त्यसैले जतिसुकै समृद्ध परम्परा र संस्कृति भएको समाज भए पनि त्यहाँ प्रश्नहरुको अन्त्य भएपछि त्यो जडमा रुपान्तरण हुन्छ । बुद्धले भनेका छन्–‘चलिआएको चलन भनेर नमान, पुस्तकमा लेखिएको छ भनेर नमान, गुरुले भनेको हो भनेर नमान, परम्परादेखि मान्दै आएको हो भनेर नमान, समाजका ठूलाबडा भन्नेहरुले भनेको हो भनेर नमान, हरेक कुरालाई प्रश्न गर ।’ मानव विकास यहाँसम्म आइपुग्नुको एउटा मुख्य कारण प्रश्न गर्ने संस्कृति हो । प्रश्न गर्ने संस्कृतिले गर्दा कतिपय स्थापित मान्यता भङ्ग भए, नयाँ मान्यता स्थापना भए ।

यस्ता मान्यता समाज, विज्ञानमा मात्र हैन शुद्ध विज्ञानमा पनि भङ्ग भए । आज न्युट्रनको सिद्धान्तमाथि प्रश्न उठेको छ । आइन्स्टाइनका मान्यतामाथि प्रश्न उठेको छ । संसारमा कुनै पनि कुरा अन्तिम सत्य छैन । प्रश्न नगर्ने संस्कृतिले जे छ त्यसैलाई अन्तिम सत्य मान्छ । त्यस्तो संस्कृतिले समाजको चौतर्फी विकास अवरुद्ध हुन्छ । प्रश्नले सम्भावनाको नयाँ क्षितिज खोल्छ । वुद्धले जस्तै माक्र्सले पनि प्रश्न गर्ने संस्कृतिलाई जोड दिएका छन् । माक्र्सले भनेका छन्, ‘हरेक कुरामा सन्देह गर ।’ पठन संस्कृतिले प्रश्न गर्न सिकाउँछ, सकारात्मक सन्देह गर्न पे्ररित गर्दछ । किनभने तपाईं पढ्नुहुन्न भने तपाईंले जायज र सबल प्रश्न गर्ने शक्ति प्राप्त गर्न सक्नुहुन्न । कारण र तर्कसहित सन्देह गर्न सक्नुहुन्न । त्यसैले पठन संस्कृति व्यक्तिलाई मात्र होइन, समाज र मानवजातिकै सुन्दर भविष्यका लागि अनिवार्य र महत्वपूर्ण छ । पठन संस्कृतिले व्यक्तिलाई मात्र हैन, समाजको सोचलाई समृद्ध पार्दछ ।

समृद्धि के हो ? सम्भवतः अल्पविकसित देश भएर होला, हाम्रो अगाडि समृद्धि भन्नासाथ भौतिक संरचनाको चित्र आउँछ । ठूला–ठूला सडक, विशाल भवन, ठूला परियोजना आदि । तथापि ती मात्र समृद्धि होइनन् । समृद्धिको भौतिक मापदण्ड मात्र तय ग¥यौं भने त्यो एकपक्षीय हुन्छ । मानवीय समृद्धि सबैभन्दा महत्वपूर्ण समृद्धि हो । भौतिक समृद्धि त मानवीय समृद्धिका लागि सहायक मात्र हो । मूल लक्ष्य मानवीय समृद्धि हो । जीवनका सन्दर्भमा, जीवनका लक्ष्यका सन्दर्भमा एउटा उन्नत र सम्पूर्ण मानवको परिकल्पनाको परिपूर्ति मानवीय एवम् बौद्धिक समृद्धिले मात्र प्राप्त गर्दछ । पठन संस्कृति यस्तो समृद्धि प्राप्त गर्ने औजार हो, बाटो हो । पठन संस्कृतिले मान्छेलाई चेतनशील, कल्पनाशील, जागरुक र मानवीय बनाउँछ । आखिर मान्छेको अन्तिम लक्ष्य भनेकै चेतनशील, कल्पनाशील, जागरुक र मानवीय भावनाले ओतप्रोत भएको समाज नै हो । त्यस्तो समाज निर्माण गर्ने एउटा प्रमुख मार्ग पठन संस्कृति नै हो ।

पठन संस्कृतिले आलोचनात्मक चेतको विकास गर्दछ । हरेक कुरालाई कुनै विमर्शविना स्वतः स्वीकार गर्ने व्यक्ति वा समाज यथास्थितिवादी हुन्छ । हुन त यथास्थितिमा समाज न हिजो रह्यो न आज नै रहन सक्छ । संसारका सबै वस्तु सिद्धान्त, आर्दश, मान्यता, परम्परा परिवर्तनशील छन् । मान्छेको जीवनको अवधि छोटो भएकाले हामी त्यो परिवर्तनलाई महसुुस नगर्न पनि सक्छौं । तर मानवजातिको इतिहासलाई फर्केर हेर्दा मानव इतिहास अपूर्व, अकल्पनीय र अद्भुतरुपमा निरन्तर परिवर्तन हुँदै आएको छ । अन्य प्राणीजगत्ले यस्तो परिवर्तन गर्न नसक्नु तर सामाजिक प्राणी ठानिने मानिसले इतिहासका हजारौं कालखण्डमा आश्चर्यजनक परिवर्तन गर्न सक्नु उसको बुद्धिमत्ताले नै हो । कैयौं कालखण्डका इतिहास र प्रमाण अहिले हामीसँग छैनन् । तर जे जति छन्, तिनले मान्छेमा सोच्ने, विमर्श गर्ने सामथ्र्यले मात्र परिवर्तन सम्भव भएको हो भन्ने प्रमाणित गर्दछन् । अझ पूर्वीय संस्कृतिमा पठन संस्कृतिको बलियो परम्परा रहँदै आएको छ । त्यसैले त पूर्वीय संस्कृतिको मूल मर्म ‘वादे वादे जायते तत्वबोध’ अर्थात् बहसले ज्ञानको उदय हुन्छ भन्ने रहेको छ । हाम्रो वेद, उपनिषद्लगायत पूर्वीय साहित्यको विशाल भण्डार छ । पूर्वीय दर्शनमा ईश्वर, आत्मा, स्वर्ग, नरक मान्नेदेखि यी सबै कुरालाई दृढतापूर्वक अस्वीकार गर्ने लोकायतजस्ता भौतिकवादी दर्शन पनि छन् ।
पठन संस्कृतिको त्यो विशाल परम्परा अहिले केही कमजोर भएको छ । पठन संस्कृतिको पक्षमा हुने अभियानले त्यो टुटेको कडीलाई पुनः जोड्नेछ, जोड्नुपर्दछ।

आज समाज कताकता दिशाविहीनजस्तो भएको छ । भविष्यको सम्भावना भएका युवाजमात लागूपदार्थजस्ता कुलतमा फसेको छ । वृद्ध उमेरदेखि प्रायः सबै उमेरका व्यक्तिहरु जुवातासजस्ता कुरामा आफ्नो जीवनको महत्वपूर्ण समय खेर गैरहेका छन् । मदिरालयमा हुने भीडको अत्यन्त सानो अंश पुस्तकालयमा देख्न पाइँदैन । बाबुआमा आफ्ना सन्तानले गलत बाटो हिँड्ने हुन् कि भन्ने त्रासमा रहेको पाइन्छ । पढेलेखेका मान्छेहरुसमेत गम्भीर अध्ययन, सिर्जनशील विमर्शभन्दा मोबाइलका त्यो पनि फाल्तु वा कम महत्वका कुरामा अमूल्य समयको नाश गरिरहेका छन् । हाम्रो छोराछोरी, घरपरिवार, समाज र सिङ्गो समाजमा पठन संस्कृति पुनस्र्थापना गर्न सकियो भने हाम्रो समाजलाई माथि उल्लिखित वा अन्य त्यस्तै खाले गलत प्रवृत्तिबाट बचाउन सकिन्छ । हिन्दीमा उखान छ, ‘खाली दिमाग सैतानका घर’ अर्थात् खाली दिमाग खराब कुराको घर । पठन संस्कृतिले दिमागलाई खाली हुन दिँदैन बरु सिर्जनशील बनाउँछ र दिमागलाई ‘सैतान’ को घर अर्थात् कुविचारबाट मुक्त राख्न मद्दत गर्दछ । सानो उमेरदेखि हाम्रा बाबुनानीलाई अनावश्यक फाल्तु कुरामा रुचि बढ्न नदिएर पुस्तक पढ्न प्रेरित ग¥यो भने उनीहरु भविष्यमा खराब आचरणको हुने सम्भावना अत्यन्त न्यून हुन जान्छ ।

पुस्तक पाठकको लागि गतिलो साथी हो । साथीभाइसँग समय दिन नसकिने व्यस्ततापूर्ण अहिलेको अवस्थामा पुस्तक अभिन्न साथी बन्न सक्छ । पुस्तकको ज्ञान वा त्यहाँ उल्लिखित पात्रसँग पाठकको अन्तरक्रियाले पाठकलाई अनुपम आनन्द दिन सक्छ । पुस्तकले जीवन बुझाउँछ, जगत् बुझाउँछ, यथार्थको साथै कल्पनालोकमा पु¥याउँछ ।

त्यसैले पठन संस्कृति विकास गर्नु सबैको दायित्व हो । पठन संस्कृतिले सम्बन्धित व्यक्ति, परिवार र सिङ्गो समाजलाई बौद्धिक रुपले सबल र समृद्ध बनाउँछ । नबिर्सौं, भौतिक समृद्धि मात्र समृद्धि होइन, बौद्धिक वा मानसिक समृद्धिको सन्तुलन नै वास्तविक समृद्धि हो । त्यसैले पठन संस्कृतिको विकास गरौँ । समृद्ध समाजको निर्माण गरौँ ।