एन्फाले घटनाबारे बुझ्न वाइल्डलाई पठायो पत्र


काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डि वाइल्डलाई पत्र पठाएको छ ।
एन्फा सचिवालयले हालै उज्बेकिस्तानमा भएको महिला एसियन कप छनोटमा भएको घटनाको जानकारी माग गर्दै पत्र पठाएको हो । एन्फाको अनुसार यस पत्रको जवाफ भने आएको छैन । महिला एसियन कप छनोटमा नेपाली टोलीको कप्तान छनोट विवाददेखि मुख्य प्रशिक्षकले दिएको अन्तर्वार्तासम्मको कुरा के हो प्रस्ट्याउन माग गरेको बताइन्छ ।

नेपाली महिला टोली उत्कृष्ट प्रदर्शन गर्दागर्दै उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा ४–२ ले पराजित भएपछि एसियन कपमा छनोट हुन सकेन । यसपछि कोच वाइल्डले एक अखबारमा अन्तर्वार्ता दिएका थिए । जसमा, एन्फामाथि थुप्रै आरोप थोपरेका थिए । यसपछि उनी नेपाल नफर्की सीधै उनको राष्ट्र बेल्जियम फर्के ।
बेल्जियम फर्कनेअघि उनले अन्तर्वार्तामा एन्फा नसुध्रेसम्म नेपाल नफर्कने बताएका थिए । यही विवादको विषयमा वाइल्डले दिएको अन्तर्रवार्ता र उज्बेकिस्तानमा गएका नेपाली टिमका हेड अफ डेलेगेट्स, टिम मेनेजर, सहायक कोचलगायतले नेपाल फर्केर पत्रकार सम्मेलन गर्दै कोचलाई दोषी ठहराएका थिए ।