लन्डन, (एजेन्सी)
विश्व नम्बर एक टेनिस खेलाडी यानिक सिनरले विम्बल्डन २०२५ को उपाधि जितेका छन् ।
आईतबार राती भएको उपाधि भिडन्तमा सिनरले डिफेन्डिङ च्याम्पियन स्पेनका कार्लोस अल्काराजलाई चार सेटको अन्तरमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएका हुन् । सिनरले पहिलो पटक विम्बल्डन पुरुष एकल उपाधि जितेका हुन् । उनी विम्बल्डन च्याम्पियनसिपको पुरुष एकल उपाधि जित्ने पहिलो इटालियन खेलाडी समेत बनेका छन् ।
सिनरले आइतबार राति अल इंग्ल्याण्ड क्लबको सेन्टर कोर्टमा ३ घण्टा ४ मिनेटसम्म चलेको फाइनल खेलमा स्पेनका कार्लोस अल्काराजलाई ४–६, ६–४, ६–४, ६–४ को सेटमा पराजित गरेका हुन् । पहिलो सेट गुमाए पनि दोस्रो, तेस्रो र चौथो सेटमा अल्काराजको सर्भिस तोड्दै सिनरले बिम्बल्डनको उपाधि जितेका थिए ।
निकै प्रतिस्पर्धात्मक रहेको फाइनल खेलको तेस्रो सेट टाईब्रेकतर्फ उन्मूख भईरहँदा सिनरले अल्काराजको सर्भिस ब्रेक गर्दै ५–४ ले अग्रता कायम गर्दै तेस्रो सेट आफ्नो पक्षमा पारेका थिए ।
यो जितसँगै, सिनरले अल्काराजसँगको पाँच हप्ता अघि बेहोरेको हारको बदला समेत लिएका छन् । गत ८ जुनमा अल्काराजले सिनरलाई हराएर फ्रेन्च ओपन उपाधि जितेका थिए । फ्रेञ्च ओपनमा लगातार दुई सेट जितेका सिनर अन्तिममा तीन सेट गुमाएर अल्काराजसँग पराजित भएका थिए ।
सिनरको यो आफ्नो क्यारियरको चौथो ग्रान्डस्लाम उपाधि हो । उनी अस्ट्रेलियन ओपन (२०२४, २०२५) मा दुई पटक र युएस ओपन (२०२४) मा एक पटक च्याम्पियन बनिसकेका छन् ।











प्रतिक्रिया