लन्डन, (एजेन्सी)
इंग्लिश प्रिमियर लिग क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधिमा ऐतिहासिक जित हात पारेको छ ।
आइतबार राति अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलमा चेल्सीले युरोपियन च्याम्पियन फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । परिमाजित र नयाँ ढाँचाको फिफा क्लब विश्वकप फुटबलको पहिलो संस्करणको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको हो ।
केही समयअघि मात्र च्याम्पियन्स लिगसहित चार उपाधि जितेर आएको पिएसजीलाई क्लब विश्वकपको फाइनलमा चेल्सीले अप्रत्यासित हारको सिकार बनायो । पहिलो हाफमा ३–० को अग्रता लिएको चेल्सीलाई पिएसजीले दोस्रो हाफमा भने गोल गर्न दिएन ।
पिएसजीले खेलभरि नै एकतर्फी पकड र पोसेसन राखे पनि नतिजा भने चेल्सीको पक्षमा गयो । धेरैजसो बल पिएसजीको नियन्त्रणमा रहे पनि एक गोल पनि फर्काउन सकेन । जबकि चेल्सीले तीन गोल गर्न सफल भयो ।
चेल्सीको जितमा इंग्लिस स्टार कोले पाल्मर नायक बने, उनले पिएसजीविरुद्ध दुई गोल र एक असिस्ट समेत गर्दै नायकी प्रदर्शन गरे । टिमका सुरुआती दुवै गोल उनी आफैंले गरेका थिए । चेल्सीले खेलमा निकै चाँडो अग्रता लिएर जितको बाटो समातेको थियो ।
क्वार्टरफाइनलमा बार्यन म्युनिखलाई २–० ले हराएर आएको पिएसजीले सेमिफाइनलमा रियल मेड्रिडलाई ४–० ले स्तब्ध पारेको थियो । तर, फाइनलमा चेल्सीसँग पिएसजीले खराब हार पन्छाउन सकेन । यो खेलमा पिएसजीलाई जितको प्रबल दाबेदार मानिएको थियो । तर, पिएसजीले एक गोल पनि गर्न सकेन, बरु उल्टै तीन गोल बेहोरेर उपाधि चेल्सीलाई सुम्पियो ।
चेल्सीका लागि २२औं मिनेटमा पाल्मरले पहिलो गोल गरे भने दोस्रो गोल ३०औं मिनेटमै गरेका थिए । मात्रै ८ मिनेटको बीचमा पाल्मरले दुई गोल गरेर पिएसजीलाई हारतर्फ धकेलेका थिए । दुई गोल बेहोरेर चर्को दवाबमा परेको पिएसजी खेलमा फर्किन संघर्षरत रहेका बेला ४३औं मिनेटमै तेस्रो गोल बेहोरेपछि खेल एकपक्षीय देखियो । सो गोल पाल्मरकै असिस्टमा जोआओ पेड्रोले गरेका थिए । पहिलो हाफमा तीन गोल बेहोरेको चेल्सीले दोस्रो हाफमा गोल फर्काउन निकै संघर्ष गरेपनि सफल भएन ।
दोस्रो हाफमा पिएसजीले खेलाडी परिवर्तन गर्दै खेलमा फर्किन सबैखाले प्रयास गरे पनि सकेन । खेलको ८५औं मिनेटमा पिएसजी १० खेलाडीमा सीमित भयो । जोआओ नेभेसले चेल्सीका मार्क कुकुरेलाको कपाल तानेपछि रेफ्रीले भीएआर समीक्षा गर्दै उनलाई सीधा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
उक्त खेलका ‘म्यान अफ द म्याच’ घोषित भएका चेल्सीका कोल पाल्मर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि चुनिए । खेलभरिमा पिएसजीले ६७ प्रतिशत बल पोसेसन राख्दै मात्रै ८ सट प्रहार गरेकोमा ६ सट अन टार्गेट थिए ।
चेल्सीले ३३ प्रतिशत बल पोसेसन राख्दै १० सट प्रहार गरेकोमा ५ सट मात्रै अन टार्गेटमा थिए । यो नतिजासँगै पिएसजीको यो सिजन शतप्रशित उपाधि जित्ने अभियान पूरा हुन सकेन । यता, चेल्सीले भने निकै खराब बन्दै गरेको सिजनको अन्त्य निकै सुन्दर ढंगले बिदाइ गरेको छ ।











प्रतिक्रिया