इजरायली हवाई आक्रमणमा गाजामा छ बालबालिकासहित १० जनाको मृत्यु


एजेन्सी।

इजरायली हवाई आक्रमणमा आइतबार मध्य गाजामा पानी लिन गएका छ बालबालिकासहित कम्तीमा १० जना मारिएका छन्। गाजाका आपतकालीन सेवा अधिकारीहरूले मृतकहरूको शव नुसेरातस्थित अल-अवदा अस्पतालमा पुर्‍याइएको जानकारी दिएका छन्।

अस्पतालका एक डाक्टरका अनुसार, आक्रमणमा परी सात बालबालिकासहित १६ जना घाइते भएका छन्। ती घाइतेहरूको अहिले उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीहरूले अल-नुसेरात शरणार्थी शिविरमा पानीको ट्याङ्कर नजिकै खाली क्यान बोकेर पानीको लाइनमा उभिएको भीडलाई लक्षित गरी हवाई आक्रमण भएको बताएका छन्।

यससँगै गाजा सिटी र मध्य गाजाका तीन आवासीय भवनमा भएको अर्को आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको गाजा नागरिक सुरक्षा एजेन्सीले जानकारी दिएको छ।

यता, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले पछिल्ला छ हप्तामा दक्षिणी गाजाको रफाह फिल्ड अस्पतालमा अघिल्लो १२ महिनाको तुलनामा बढी घाइतेहरूको उपचार गरिएको जनाएको छ।