भोलिको देश र समाज विकासको बीज आजको शिक्षा व्यवस्थाले रोप्ने हुँदा जनजीवनमा सभ्यता, शिष्टता, संस्कार, संस्कृतिको समुन्नयनदेखि लिएर मुलुकको विकास निर्माणलगायत प्रगतिको सम्पूर्ण स्थापत्य निर्माणमा शिक्षा तथा शिक्षक–शिक्षिकाको भूमिका सर्वोपरि रहन्छ भन्नेमा धेरैको सहमति रहेको पाइन्छ । आज हामी जुन अवस्थामा छौँ, हिजो हामीले पाएको शिक्षाकै परिणाम हो । हाम्रा नयाँ पुस्ता आज जसरी निराश र पलायनपरक बन्दै देश छोडेर विदेशिने हतारमा छ त्यो पनि हामीले उनीहरुलाई उपलब्ध गराएको शिक्षाकै करामत हो ।
समग्रमा आजको हाम्रो राष्ट्रिय पलायन परायणताको श्रेय हाम्रो पाश्चात्यपरक शिक्षा व्यवस्था र देशभक्तिपराङमुख राजनीतिक पृष्ठभूमिमा रुमल्लिएका बिचरा शिक्षक–शिक्षिकाहरुमै जान्छ ।देशको समुन्नत भाग्य भविष्य उभ्याइने शिक्षाकै जगमा हो । शिक्षाको उन्नत खेतीमा सभ्यता र संस्कृतिको उल्लेखनीय भूमिका रहिआएको छ भने शिक्षाले पनि मानव सभ्यता र संस्कृतिको उत्तरोत्तर विकास एवम् परिमार्जनमा त्यत्तिकै उल्लेखनीय भूमिका खेल्दै आएको छ । जुनसुकै युगमा पनि नयाँ पुस्तालाई युगानुकूल शिक्षादीक्षा उपलब्ध गराउनु परिवार, समाज र राज्यको अनिवार्य दायित्व मानिदै आएको र यो दायित्व पूरा गर्ने माध्यम भने गुरु–गुरुआमा नै रहिआएका साक्ष्यहरु पनि इतिहासमा अभिलिखित भेटिन्छन् ।
अघिल्ला युगहरुमा पनि गुरु बनिनु चानचुने जिम्मेवारीको कुरा थिएन । जिम्मेवार हुनुकै कारण गुरुबाट गौरव शब्द बनाइन्थ्यो । गुरुहरुकै पहलमा मुलुकमा यत्रतत्र गुरुकुलहरु सञ्चालित रहेका हुन्थे । कतिपय गुरुकुलहरु समयक्रममा विश्वविद्यालयसम्म विकसित पनि भए । गुरुकुलदेखि विश्वविद्यालयसम्मका सवै शिक्षण संस्थाहरु विद्यार्थीहरुकै मेहनतमा सञ्चालित रहन्थे । गुरुहरु उपलब्ध खानपिन र आवासका भरमा दायित्वशीलताका साथ अध्यापन सेवा गर्थे । कति गुरुहरु गुरुकुल आपैmँ व्यवस्था गर्थे । विद्यार्थीको काम त्यहाँको अनुशासनमा रहेर शिक्षा हासिल गर्नु हुन्थ्यो । शिक्षामा विद्या पनि सम्मिलित रहन्थ्यो । यसैका आधारमा शिक्षा ददाति विनयं भनिन्थ्यो । अहिले समय फेरिएको छ ।
पहिले विद्यार्थीलाई जीवनमा चाहिने सबै कुरामा पोख्त, सभ्य, शिष्ट, सुसंस्कृत नागरिक बनाउनु गुरुको अनिवार्य दायित्व मानिन्थ्यो । यसै भएर गुरुहरु शिक्षाका लागि आएकाहरुको सर्वआयामिक जाँच लिन्थे र त्यसमा पास भएपछि चेलाका रुपमा जिम्मा लिन्थे । कथंकदाचित् कुनै चेलाले गल्ती गरेछ भने त्यसको सजाय बेहोर्न गुरु तदारुकताका साथ दण्डाधिकारीसमक्ष उपस्थित हुन पुग्थे । दृष्टान्तका लागि यहाँ एउटा पुरातन कथालाई अगाडि सार्न सकिन्छ । जस्तै– दृष्टान्तका लागि एउटा घटना कथा ।
महर्षि आश्वलायन उत्तरवेदकालीन ज्ञान, विज्ञान, प्रविधि, नीति, राजनीतिलगायत समस्त शिक्षणमा दायित्वबोधका साथ लगनशील गुरुका रुपमा कहलाइएका आफ्ना समयका धेरै ठूला विद्वान् थिए । उनका आश्रममा देश–विदेशबाट विभिन्न विद्याका जिज्ञासु अनेकौँ विद्यार्थीहरु पढ्न आउँथे । कति राजकुमारहरु पनि पढ्न आउँथे । एक जिम्मेवार र विशेषज्ञ गुरुका रुपमा उनको ख्याति टाढाटाढासम्म पैmलिएको थियो । उनले पढाएको हरेक विद्यार्थी राष्ट्रको प्रतिभाशाली र यशश्वी व्यक्तित्वमा गनिएको हुन्थ्योे । उनका विद्यार्थी कति लोकप्रिय राजा थिए त कति प्रतिभाशाली प्रधानमन्त्री थिए, कति सफल सेनापति थिए, कति सहकारमुखी कृषिविज्ञ थिए त कति विख्यात चिकित्साकर्मी थिए । कति कुलपति थिए त कति शिक्षाप्रवीण उपाध्याय थिए । आफ्ना चेलाहरुका यी सफलतालाई लिएर महर्षि आश्वलायनलाई गर्व लाग्थ्यो ।
महर्षि आश्वलायनले सदाचार तथा सनातन संस्कृतिसम्बन्धी विभिन्न सूत्रग्रन्थ पनि लेखेका थिए । उत्तरवैदिक कालीन नेपाल र कतिपय छिमेकी मुलुकमा मात्र होइन पूरै भारतीय उपमहाद्वीपमै एक बहुआयामिक विज्ञ गुरुका रुपमा महर्षि आश्वलायनलाई नचिन्ने कोही थिएन । उनको ख्याति साँच्चिकै बेजोड थियो ।
एकदिनको कुरा हो । आकाशमा घाम पश्चिमतिर ओर्लने तर्खरमा थिए । आश्रममा गुरु–शिष्यको अध्ययन, अध्यापन, जाँगर ओर्लने तर्खरमा थिएन । शिक्षण सिकाइ कक्षा आफ्नो गतिमा चलिरहेको थियो । अचानक एक खाइलाग्दो जीउडालको युवक शिष्ट गतिमा आश्रममा आयो । सरासर अघि बढेर ऋषि आश्वलायनलाई आदरपूर्वक अभिवादन गर्यो । बगलमा उभिएर क्षमायाचनासाथ सम्बोधन गर्दै भन्यो, ‘गुरुवर, तपाईंले पढाएका प्रतिभाशाली विद्यार्थीमध्येको एक विद्यार्थी देवदत्त कुरुजनपदका नजिक एक घना जङ्गलमा भयङ्कर डाँका बनेर अखडा जमाउँदै बसेको छ । जङ्गल पार गरेर आफ्नो गन्तव्यमा पुग्न हिँडेका जनतालाई काटमार र लुटपाट गरेर खपिनसक्नुको दुःख दिइरहेको छ । उसका त्रूmर कर्मले गर्दा त्यस भेगका तमाम जनता त्राहिमामको अवस्थामा छन् । राज्यका सेना र सेनापतिले पनि उसलाई नियन्त्रण गर्न सकेका छैनन् ।’
देवदत्तलाई आश्चर्य लाग्यो । एकछिन् ट्वाँ परेर आगन्तुकको अनुहार हेरे । आगन्तुक प्रतिष्ठित वनवासी समुदायको एक सत्यभाषी युवा थियो । समाचारले ऋषिलाई भित्रैबाट रन्थन्यायो । महर्षि आश्वलायन शान्त रहन सक्ने अवस्थामा रहेनन् । मनमा देवदत्त र उसको प्रतिभाशील व्यक्तित्वको सम्झना आयो । प्रतिभाको अपराधमाय दुरुपयोग भन्दै लामो निश्वास छोडे । आँखा उठाएर अगाडिका विद्यार्थीहरुलाई सम्बोधन गर्दै आश्वलायनले भने, ‘सुन्यौ, प्रतिभा पनि एक किसिमको हतियार हो । सही हातमा परेको हतियारले जनजीवन जोगाउन सक्छ भने गलत हातमा परेको हतियारले जनजीवनलाई ध्वस्त बनाउन पनि सक्छ । मान्छेमा जीवन र जगत्माथि माया–ममता हुनुपर्छ । विवेक हुनुपर्छ । करुणा हुनुपर्छ । अन्यथा प्रतिभाले रावण बन्न पनि सकिन्छ । रावण नबन्न प्रत्येक प्रतिभाशालीले जीवनमा निरन्तर सतर्क रहनुपर्छ । यो आजको थप एउटा पाठ हो । बाँकी आजको शिक्षण सिकाइ यहीँ रोकौँ । यस्तो खबर सुनेपछि मैले चुपचाप बसिरहन मिल्दैन । मैले पढाएको मेरो आफ्नै विद्यार्थी हो देवदत्त । उसका क्रियाकलापका बारेमा यति दुःखद समाचार सुनिसकेपछि मैले खाना खान, सुत्न, निदाउन मिल्दैन । मिल्दै मिल्दैन । मैले अविलम्ब त्यहाँ जानै पर्छ ।’ यति भन्दै आश्वलायन आसनबाट उठे । ‘हामी पनि जान्छौँ गुरु’, एकजना विद्यार्थीले भन्यो । गुरुले भने, ‘होइन, अरु कोही जाँदैन । मेरो दायित्व हो म जान्छु । एक्लै जान्छु ।’
गुरु आश्वनलायन आफ्ना काँधको उपर्ना सम्हाल्दै पूर्वविद्यार्थी देवदत्तलाई भेट्न उसले अखडा जमाएको जङ्गलतिर जान बाटो लागे । परिजनहरुले रोक्न खोजे । महर्षि रोकिएनन् । गन्तव्य टाढा थियो । जाँदाजाँदै रात प¥यो । रात भनेर उनले विश्राम लिएनन् । भोलिपल्ट दिनभरि हिँड्दा अर्को रात आयो । गन्तव्य आएन । रात भयङ्कर अन्धकारमय थियो । आकाशमा बादल गर्जिरहेको थियो । महर्षि आश्वलायन रोकिएनन् । अगाडि बढ्दै गए । बढ्दै गए । रात धेरै छिप्पिइसकेपछि अब बल्ल डाँकू देवदत्तले अखडा जमाएको जङ्गल भेटियो । सरासर त्यसै जङ्गलभित्र छिरे, जहाँ देवदत्त तरबार नचाएर बटुवाहरुलाई थर्काउँदै घुमिरहेको थियो ।
अन्धकार रातमा आफुतिर आउँदैको एक कालो छाया देखेर दस्युसरदार देवदत्तले लल्कार्दै भन्यो, ‘खबरदार ! अगाडि नबढ् । अगाडि बढिस् कि मरिस् ! म भयङ्कर खड्गधारी दस्युसम्राट् देवदत्त बोल्दै छु ।’
घना अन्धकारमा सरदार देवदत्तको आवाज घननन्न घन्कँदै चारैतिर गुन्जियो । महर्षि आश्वलायन किन्चित् रोकिएनन् । केही कदम अगाडि बढ्नासाथ आश्वलायनका थाप्लोमा देवदत्तको तरबार बज्रिन आइपुग्यो । महर्षिले ऐया पनि भनेनन् । उनको थप्लोबाट रगतका अजस्र धारा छुटे ।
ठीक यसै बेला आकाशमा झिलिक्क बिजुली चम्क्यो । बिजुलीको उज्यालोमा दस्यु देवदत्तले गुरु आश्वलायनलाई राम्रैसित देख्यो र चिन्यो । उसलाई तत्काल भयङ्कर अपराधबोध भयो । ग्लानिले पानी–पानी भयो । ‘माफ पाऊँ गुरु !’ भन्दै गोडामा छाँद हाल्यो ।
किन्चित् विचलित नभई गुरु आश्वलायनले भने, ‘मैले तिमीबाट यथोचित सजाय पाएँ । चेला खराब बनिनुको सजाय गुरुले नपाए कसले पाउने ? मजस्ता गुरुले तिमीजस्ता चेलाबाट यसरी यस्तै सजाय पाउनै पथ्र्यो, हैन र ? जे भयो, हुनै पर्ने भयो । मसँग तिमीले माफी माग्नुको कुनै तुक छैन । म सजाय पाउनकै लागि यहाँ आएको थिएँ, पाएँ । मेरो निर्णयमा मलाई कुनै दुविधा पनि छैन ।’
गुरु आश्वलायनको भनाइबाट दस्यु देवदत्तको घँैटोमा झलमल्ल घाम लाग्यो । त्यसै क्षणबाट ऊ आकस्मिक रुपमै रुपान्तरित भयो । अब जीवनमा यस्ता आततायी र परपीडक काम नगर्ने प्रतिज्ञा गर्दै गुरुसँग भन्यो, ‘म जीवनभर जनसेवाको व्रत लिन्छु । सेवाव्रती बनेर यस अपराधको प्रायश्चित्त गर्छु, गुरु, आशीर्वाद पाऊँ । म अर्को वाल्मीकि बन्छु ।’
‘ठीक छ देवदत्त, मनमा करुणाभाव छ भने वाल्मीकि बन्नुअघि रत्नाकर बनिरहनुपर्दैन । सबै रत्नाकर वाल्मीकि बन्छन् भनिठान्नु पनि मृगतृष्णा मात्रै हो’, तरबार बज्रिएको टाउकाको घाउमाथि हात राख्दै गुरु आश्वलायनले भने, ‘मैले पाएको यो चोटबाट र तिमीमा घटित भएको यो रुपान्तरणबाट अर्थात् तिमीमा मानवीय चेत ब्यूँझाउन समर्पित यस घटनाविशेषबाट भविष्यका तमाम गुरुहरुले आफ्नो दायित्वबोधको पाठ सिकून् । शिष्य–प्रशिष्यहरुले आपूmले पाएको शिक्षाप्रतिको कर्तव्यपालन गर्न सिकून् । सत्तासीनहरुले पाइला–पाइलामा आफ्ना कर्तव्यप्रति जिम्मेवार रहन सिकून् । आफ्ना शिष्यलाई सर्वथा सच्चरित्रवान् बनाउन र तिनका कमी–कमजोरीप्रति जिम्मेवार रहने आदर्श पालन गर्न गुरुहरु कहिल्यै नचुकून् । मानवताले उत्तरोत्तर प्रकाशमय बोध पाओस् । झलमल्ल उज्यालो पाओस् । तमसो मा ज्योतिर्गमय ।’
आश्वलायनले हात उठाउँदै आशीर्वादको लवजमा भने, ‘धन्यवाद देवदत्त, तिम्रो कल्याण होस् । चेत नहराओस् । वेदमाता गायत्रीले तिमीलाई सद्बुद्धि दिऊन् ।’











प्रतिक्रिया