भक्तपुर ।
सभामुख देवराज घिमिरेले जनताको चाहना र आवश्यकताको आधारमा राजनीतिक दलहरूले नीति र नेतृत्व निर्माण गर्दै प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।शनिवार भक्तपुरमा सोमप्रसाद मिश्रद्वारा लिखित शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले गणतन्त्रको मेरुदण्ड राजनीतिक दलहरू भएको बताउनुभयो ।
दलहरूले संसद्लाई मजबुत बनाउन निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिँदै उहाँले जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरू उत्तिकै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । संसदीय प्रणालीमा राजनीतिक दलहरूले नीति निर्माण गर्ने ठाउँलाई खुला राख्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्रभावकारी बनाउन गम्भीर हुनुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले अहिले इमानदारी र निष्ठापूर्वक अघि बढ्दै संस्था निर्माण गर्नुपर्ने आवश्यकता खड्किएको बताउँदै चुनौतीहरूलाई सामना गर्दै अघि बढ्ने अवसर दलहरूसमक्ष आएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले दलहरूका क्रियाकलाप जनताले नियालिरहेको बताउनुभयो । नेकपा एमालेका सचिव योगेश भट्टराईले दलहरू वैचारिक रूपमा पुनर्गठित हुन नसके विलय हुने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, संघीय सांसद दुर्लभ थापा, वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, लेखक सोमप्रसाद मिश्रलगायतले पुस्तकका विविध पक्षबारे चर्चा गर्नुभयो ।











प्रतिक्रिया