महिनावारी जाँच निहुँमा बालिकाहरूको अपमान, ठाणेमा दुई पक्राउ


महाराष्ट्र ।

महाराष्ट्रको ठाणे जिल्लाको शाहपुरमा अवस्थित एक अङ्ग्रेजी माध्यम विद्यालयमा छात्राहरूको महिनावारी जाँच गर्ने निहुँमा कपडा खोल्न लगाइएको आरोपमा प्रधानाध्यापक र महिला कर्मचारी पक्राउ परेका छन्।

जुलाई ८ मा विद्यालयको शौचालयमा रगतका दाग देखिएपछि करिब १२५ छात्राहरूलाई हलमा बोलाई प्रोजेक्टरमा तस्बिर देखाउँदै सोधपुछ गरिएको थियो। केही छात्राहरूलाई जबरजस्ती कपडा खोल्न लगाएर जाँच गरिएको अभिभावकको उजुरीमा उल्लेख छ।

यो घटनाले आक्रोशित अभिभावकहरूले बुधबार विद्यालयमा विरोध प्रदर्शन गरेका थिए। प्रहरी कारबाही गर्दै आरोपितहरूलाई बाल यौन दुर्व्यवहार, महिलाको मर्यादा हननलगायत विभिन्न धाराहरूमा मुद्दा दर्ता गरी पक्राउ गरेको छ।