त्रिभुवन विश्वविद्यालयको २१ औं उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त हुनुभएको छ । नियुक्ति भएकै दिनबाट उहाँमाथि चुनौतीहरु थपिएका छन् । मेरिट्रोक्रेसीको आधारमा उपकुलपति नियुक्ति हुनुपर्ने माग राख्दै अनेरास्ववियुले नियुक्ति भएको पहिलो दिन नै नेमप्लेट फालिदिएका छन् । नेविसंघले पनि क्रान्तिकारीको पथ पच्छ्याएको छ । नेविसंघले मेरिट्रोक्रेसीको आधारमा उपकुलपतिलगायतका पदाधिकारी नियुक्ति गर्न माग गरेको छ । नेविसंघले हिजोको सिनेट बैठकमा विद्यार्थी नेताको उपस्थिति नभएकोमा आपत्ति जनाएको छ ।
यसरी नयाँ उपकुलपति आउनासाथ आन्दोलनका कार्यक्रम सार्वजनिक गरी पदाधिकारीमाथि राजनीतिक दबाब बढाउनु विद्यार्थी संघ–संगठनको आदत नै बनेको छ । विभिन्न मागमा सहमति गराउन र आफ्नो संगठनको राजनीति स्थापित गर्न विद्यार्थीले दबाब दिन थालेका हुन सक्छन् । जे–जस्तो भए पनि शुरुकै दिन उपकुलपतिमाथि गरेको व्यवहार संस्कारभित्र पर्दै छ ।
कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिका रुपमा नियुक्त गर्नुभएका अर्यालले त्रिविलाई आर्थिक, प्रशासनिक, भौतिकरुपमा कसरी सक्षम बनाउनुहुन्छ भन्ने प्रश्न उठेको छ । उपकुलपतिको दौडमा प्राडा विनिल अर्याल र प्राडा खड्ग केसीलाई पछि पार्दै अर्याल नियुक्त हुनुभएको हो । तीनजनामध्येबाट प्रधानमन्त्रीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख अर्याललाई नियुक्त गर्नुुभएको हो । २०५२ सालमा त्रिवि प्रवेश गर्नुभएका अर्याल चर्चित हास्यव्यङ्ग्यकार एवं साहित्यकार स्वर्गीय भैरव अर्यालका जेठा छोरा हुनुहुन्छ । प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयको उपकुलपति छनोट गर्ने दुई वर्षअघिको परम्परालाई तोड्दै कुलपति एवं प्रम ओलीले अर्याललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
नवनियुक्त उपकुलपति अर्यालसामु मुख्य गरी आंशिक शिक्षकलाई करार र करारमा कार्यरतलाई स्थायी गर्ने चुनौती छ । कर्मचारीको माग पनि त्यस्तै छ । वर्षौंदेखि अस्थायी, करार र ज्यालादारीका कर्मचारी स्थायी गर्ने विषय पेचिलो छ । विश्वविद्यालयमा देखिएको तालाबन्दी स्थायीरुपमा बन्द गर्नुपर्ने चुनौती पनि उहाँमाथि उत्तिकै छ । त्यस्तै राजनीतिले पूर्णरूपमा गाँजेको त्रिविलाई कसरी मुक्त गर्ने भन्ने विषय उत्तिकै जटिल छ । त्रिविको बिग्रिएको साख कसरी जोगाउने भन्ने विषयमा उहाँ गम्भीर हुनै पर्छ । त्रिविमा हाजिर गर्ने तर अर्कै कलेजमा पढाउने प्रवृत्ति रहेका ‘हेलमेट शिक्षक’लाई कसरी रोक्ने ? यो विषय पनि उहाँका लागि चुनौती नै छ । समयसापेक्ष शुल्क समायोजन गर्नु, अनुगमनलाई तीव्रता दिनु, त्रिविको सम्पत्तिको संरक्षण गर्नु, कक्षाकोठा र पुस्तकालय व्यवस्थापन गर्नु, एकद्वार खाता प्रणालीको शुरुआत, आर्थिक पारदर्शिता, भद्दा संरचनालाई व्यवस्थापन गर्नु उहाँका लागि थप चुनौती छन् ।
यसै गरी शैक्षिक क्यालेन्डर लागू, पाठ्यक्रम परिमार्जन, विद्यार्थीलाई विदेशिनबाट रोक्नु पनि चुनौतीका रुपमा देखिन्छन् । यस्ता चुनौती समाधान गर्न सके उपकुलपतिको साखः जोगिन सक्छ । विश्वविद्यालयको अध्ययन, अध्यापन तथा प्रशासनिक कार्यमा प्रविधिको प्रयोग बढाउनुपर्छ । जनशक्तिलाई प्रविधि प्रयोगमा सहभागी गराउनुपर्छ । वार्षिक बजेटको हाराहारीमा बेरुजु छ, त्यसलाई घटाउँदै लैजानुपर्छ । सेवा प्रवाहमा सुधार, शिक्षक र कर्मचारीहरुको सेवा–सुविधामा एकरुपता, सरकारबाट आर्थिक स्रोतको सुनिश्चितता, भौतिक पूर्वाधार र सुविधाको विकास, संरक्षण र आधुनिकीकरण, सम्पत्ति संरक्षण, आर्थिक अनुशासन कायमजस्ता चुतौतीको सामना उहाँले गर्न सक्नुपर्छ । यस्ता चुनौतीका चाङमा उभिनुभएका उपकुलपति अर्याललाई त्रिविमा देखिएका समस्या समाधान गर्ने ठूलो अवसर पनि हुन सक्छ ।











प्रतिक्रिया