इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ८ बालबालिकासहित १५ जनाको मृत्यु


गाजा।

गाजामा रहेको एक मेडिकल पोइन्ट नजिकै इजरायली आक्रमणमा कम्तीमा १५ जना प्यालेस्टिनीको मृत्यु भएको छ। जसमा आठ बालबालिका र दुई महिला रहेका छन्।

घटना मध्य गाजाको देइर अल-बलाह शहरमा भएको हो, जहाँ मानिसहरू औषधि लिन लाइनमा उभिएका थिए। अल-अक्सा शहीद अस्पतालका अनुसार आक्रमण प्रत्यक्ष रूपमा नागरिक लक्षित भएको देखिन्छ।

अस्पतालले सार्वजनिक गरेको भिडियोमा धेरै बालबालिका र नागरिकहरू घाइते अवस्थामा तथा केहीको शव देखिन्छ। अस्पतालमा उपचारका लागि लगातार बिरामीहरू आइरहेका छन्।

इजरायली सेनाले भने यो घटनाको विवरण संकलन र अनुसन्धान भइरहेको जनाएको छ।

यसैबीच, बिहीबार गाजाका अन्य स्थानमा भएका आक्रमणहरूमा थप २६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

उता, हाल कतारमा इजरायल र हमास प्रतिनिधिमण्डलबीच नयाँ युद्धविराम तथा बन्धक रिहाइ सम्झौताका लागि वार्ता भइरहेको जनाइएको छ। बीबीसी