उसुका विजयले पाए ६५ लाख रकम


काठमाडौं ।

उसुको तेस्रो थाउलो विश्व कपमा कांस्य पदक जिते बापत उसु खेलाडी विजय सिँजालीले ६५ लाख रकमको पुरस्कार प्राप्त गरेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नेक्रममा विजयले सो पुरस्कार रकम पाएका हुन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्माले पुरस्कार प्रदान गरेका हुन् ।

गत वर्ष कात्तिक ७ देखि १२ गतेसम्म जापानमा आयोजित थाउलो विश्व कपमा विजयले पदक जितेका थिए । नेपाली उसुमा त्यो अहिलेसम्मको ठूलो सफलता हो । उनले उक्त विश्वकपमा छेन्सुतर्फको विधामा ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।

विजय स्वर्ण विजेता मलेसियाका वेंग सन वोंगसँग ०.१३७ अंकले पछि परेका थिए । यस्तै, रजत विजेता जापानका मोटोयोशी अराकीसँग भने उनको अंक फरक ०.१३० रहेको थियो । तर, उनले अन्य ६ जना खेलाडीलाई पछि पारेका थिए । यस इभेन्टमा कूल ९ खेलाडीले सहभागिता जनाएका थिए ।