खोटाङको दक्षिणी भेगस्थित जन्तेढुङ्गा गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल होङ्मा पोखरी राज्यको बजेटबाट टाढै परिरहेको छ । स्थानीय तह र कोशी प्रदेशको बजेटमा केही संरक्षणको कामबाहेक आशातीत बजेट तथा प्रवद्र्धन कार्यमा ध्यान नपुगेको स्थानीय सुनाउँछन् ।
सिकारी युगमा पोखरीमा पानी पिउनका लागि आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले ढुकेर अर्थात् पर्खेर सिकार गर्ने चलन रहेकाले होङ्मा पोखरी भन्ने गरिएको स्थानीय वीरबल किरातीले बताउनुभएको छ । त्यस क्षेत्रमा सघन बसोबास रहेको किरात राई बान्तवा भाषामा होङ्मा भनेको ढुक्नु\पर्खनु भन्ने बुझिन्छ । सिकारी युगमा यस पोखरीमा पानी खान आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले ढुकेर\पर्खेर सिकार गर्ने चलन भएकाले होङ्मा पोखरी भनिएको कहावत छ । पोखरीको दक्षिणी भेगमा होङ्मा थानसमेत रहेको छ । होङ्मा थानमा हरेक वर्षको वैशाख पूर्णिमामा पूजा आराधना गरिने गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताउनुभयो ।
पोखरीसँगै रहेको होङ्मा थानमा पूजा आराधना गरेमा मानव तथा जीवजन्तुलाई फलिफाप हुने जनविश्वास रहिआएको छ । धार्मिक तथा पर्यटकीय स्थल होङ्मा पोखरीप्रति स्थानीयमा रहेको जनविश्वासलाई सम्बोधन गर्न गाउँपालिकाको तर्फबाट संरक्षण तथा प्रवद्र्धनको काम शुरु गरिएको अध्यक्ष राईले जनाउनुभयो । होङ्मा पोखरीलाई स्तरोन्नति गर्दै संरक्षण तथा प्रवद्र्धन गरेर गाउँपालिकाको पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाको योजना छ ।
आर्थिक वर्ष २०७९\८० देखि संघ र प्रदेशबाट समपूरक, समानीकरण, विशेषबाहेकका अन्य कुनै पनि ठाउँबाट बजेट उपलब्ध भएको छैन । आवश्यक बजेट उपलब्ध नहुँदा होङ्मा पोखरीको पर्यटन प्रवद्र्धन गर्न नसकिएकोे गाउँपालिका उल्लेख गर्दछ । वर्षायाममा पोखरीमा भएको पानी धमिलो हुने भएकाले पोखरीको प्राकृतिक रातो माछा लोप हुने अवस्थामा पुगेकामा गाउँपालिका उपाध्यक्ष खेम खड्काको चिन्ता छ । स्थानीय तहको स्रोतले मात्र संरक्षण तथा प्रवद्र्धनको काम गर्न नसकिएको हुँदा सम्बन्धित मन्त्रालयमा आवश्यक बजेट उपलब्ध गराइदिन माग गरिए पनि अहिलेसम्म सम्बोधन नभएको उपाध्यक्ष खड्काको भनाइ छ । होङ्मा पोखरी र बराहापोखरीबीचको धार्मिक सम्बन्धसमेत भएकाले प्रवद्र्धनको जरुरी रहेको गाउँपालिकाले जनाउँदै आएको छ ।
होङ्मा पोखरीमा बालाचतुर्दशीको अवसर पारेर बराहपोखरीमा लाग्ने मेलाको भोलिपल्ट ठूलो मेला लाग्ने गरेको स्थानीयले बताएका छन् । प्राकृतिरुपमा बनेको यो पोखरीलाई स्थानीय तह कार्यान्वयनमा आएपछि संरक्षण तथा प्रवद्र्धनको काम शुरु गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ ।
होङ्मा पोखरीको स्तरोन्नति तथा सौन्दर्यकरणका लागि निजी क्षेत्रलाई समेत लगानीमा खुला गरिएकोे छ । निजी क्षेत्रका लागि गाउँपालिकाको तर्फबाट नीति बनाएर एउटै किसिमको फलैँचा निर्माण तथा फलफूलका बिरुवा रोप्ने वातावरण सिर्जना गरिएको गाउँपालिका अध्यक्षले जानकारी दिनुभएको छ ।
होङ्मा पोखरीमा वैशाख पूर्णिमादेखि गुरु पूर्णिमासम्म हिन्दु धर्मावलम्बीले परेवा र बाख्राको पाठी तथा किरात समुदायले कुखुराको भालेको बलि दिएर पूजा–आराधना गर्ने परम्परा रहिआएको छ । हिन्दु र किरात धर्मावलम्बीको सङ्गमस्थल होङ्मा पोखरीसम्म पुग्नका लागि स्थानीय सरकारको लगानीमा सडक मार्गसमेत निर्माण गरेर सञ्चालनमा ल्याएकाले आवतजावतमा सहज भएको छ ।
होङ्मा पोखरीको संरक्षणका लागि वडा कार्यालय चिसापानीले दश लाख, कोशी प्रदेश सरकारले चार वर्षअघि दश लाख र दुई वर्षअघि पाँच लाख रुपियाँ बजेट विनियोजन गरेर स्तरोन्नतिको काम गरेको छ । वडा कार्यालय र प्रदेश सरकारबाट विनियोजन गरिएको उक्त रकमले पोखरीको तल्लो भागमा सिकारी थाननजिक तारजालीसहित ढुङ्गाको बाँध बाँधिएको छ । तर उल्लेख्य बजेट नभएकाले आवश्यक कार्य हुन नसकेको स्थानीय सुनाउँछन् । उक्त पोखरीको लागि यस आर्थिक वर्ष गाउँपालिकाबाट कुनै योजना र सम्बोधन नभएको जनाइएको छ ।











प्रतिक्रिया