पब्लिक लिमिटेड कम्पनीहरुले गर्ने वार्षिक तथा विशेष साधारणसभाहरुमा विभिन्न चर्चाहरु हने गरेका छन् । पब्लिक लिमिटेड कम्पनीहरुले एक आर्थिक वर्ष समाप्तिपछि वार्षिक साधारणसभा गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र सभा गर्न नसकेमा जरिवानासमेत तिर्नुपर्ने हुन्छ । त्यसो त नियमितरुपमा हुने गरेका वार्षिक साधारणसभाहरु र विशेष साधारणसभा पनि हुने गरेका छन् । खास गरी तत्काल अपर्झट केही निर्णयहरु गर्नुपर्यो भने विशेष साधारणसभा बोलाउने गरेका छन् कम्पनीहरुले ।
त्यसो त वार्षिक साधारणसभा होस् वा विशेष साधारणसभा होस्, शेयरधनीहरुको बाक्लो उपस्थिति हुने गरेको छ । त्यसो त वार्षिक साधारणसभाहरुलाई शेयरधनीहरुले उत्सवको रुपमा पनि लिने गरेका छन् भन्दा फरक नपर्ला ।
वार्षिक साधारणसभाको महत्व हुन्छ । कम्पनीले समीक्षा अवधिमा भए\गरेका काम, ग्तिविधिहरुको र कम्पनीहरुको प्रस्ताव एजेन्डाहरुको बारेमा छलफल गरी सभामा उपस्थित शेयरधनीहरुको बहुमतले पारित गर्नुपर्दछ । त्यसपछि मात्र लागू हुने गर्दछ । साधारणसभाहरु शेयरधनीहरुको लागि पनि महत्वको विषय हुने गरेका छन् । कम्पनीले दिने लाभांश पनि साधारणसभाबाट बहुमतले पारित भएपछि मात्र शेयरधनीहरुले पाउने गर्छन् ।
वार्षिक साधारणसभाहरुमा उपस्थित हुने शेयरधनीहरुको बारेमा विभिन्न चर्चा पनि चल्ने गरेका छन् । साधारणसभामा कम्पनीको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदन प्रस्ताव एजेन्डाहरुमाथि शेयरधनीहरुले पनि आ–आफ्ना विचार राख्ने गरेका छन् । यिनीहरुलाई कतिपय सर्वसाधारण शेयरधनीहरु र केही कम्पनीहरुले समेत भीआईपी शेयरधनीहरु भन्ने गरेका छन् । पछिल्लो समयमा भीआईपी भनिने शेयरधनीहरुको संख्या बढ्दै छ भन्दा पनि फरक नपर्ला । गएको जेठ महिनामा भएको एउटा इन्स्योरेन्सको साधारणसभामा २७ जना शेयरधनीले बोलेको भन्ने चर्चा छ । शायद साधारणसभाको इतिहासमा यति धेरै वक्ताले बोलेको यही पहिलो हो कि भन्ने पनि चर्चा छ ।
आखिर २–३ घण्टा लाइनमा पालो कुरेर किन बोल्ने गर्छन् त ? यिनीहरुले बोलेका कुराको सुनुवाइ पनि हुँदैन । हात्ती आयो हात्ती फुस्सा भनेजस्तो हुन्छ । यसमा कतिपयले प्रश्न पनि उठाउने गरेका छन् । त्यसो त कतिपय शेयरधनीहरु र जानकारहरुको भनाइमा साधारणसभामा बोल्ने शेयरधनीहरुलाई कम्पनीले रकम दिने गरेको पनि चर्चा नचलेको होइन । यसकारणले पनि सभामा बोल्नेहरुको ताँती लाग्ने गरेको जानकारहरु बताउँछन् । यसबारेमा सबैजसो साधारणसभामा शेयरधनीहरुबीच चर्चा हुने गरेको पाइन्छ ।
कतिपय शेयरधनीको भनाइमा पछिल्लो समयमा वार्षिक साधारणसभाहरुमा नक्कली शेयरधनीहरु पनि बढेको देखिएको छ । अरुको नाम र डिम्याट आईडी लिएर साधारणसभामा भाग लिने नक्कली शेयरधनीहरुलाई शरणार्थी शेयरधनीको संज्ञा दिएका छन् केही शेयरधनीहरुले । साधारणसभामा नाम रजिस्टर्ड गर्ने कम्पनीका कर्मचारीहरुले पनि यस्ता शेयरधनीहरु आउने गरेको बताउँछन् । कतिपय शेयरधनी त दुई–तीनपल्ट पनि हाजिर गर्न आउने बताइन्छ । केहीसँग विवादसमेत हुने गरेको बताउँछन् सरोकारवालाहरु । वार्षिक साधारणसभामा भाग लिन आउने शेयरधनीले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउनुपर्ने नियम छ तर यसलाई अनिवार्य भने गरेका छैनन् ।
पछिलो समयमा साधारणसभामा भाग लिन आउने सर्वसाधारण शेयरधनीलाई परिचयपत्र अनिवार्य गर्नुपर्ने देखिएको छ भनेर पनि केही शेयरधनीले बताउने गरेका छन् । केही शेयरधनीहरुको भनाइमा अरुको नाम र डिम्याट नम्बर प्रयोग गरेर साधारणसभामा भाग लिने गरेकोले कतिपय अवस्थामा हुलमूल हुने, सभा अस्तव्यस्त हुने गरेको पाइन्छ । अधिकांश शेयरधनीहरुको भनाइमा साधारणसभामा बोल्ने शेयरधनीहरुलाई कम्पनीले दिने गरेको भनिने रकम बन्द गर्नुपर्ने र भाग लिन आउने शेयरधनीहरुलाई परिचयपत्र अनिवार्य लागू गर्नुपर्ने बताउँछन् कतिपय शेयरधनीहरु ।
पछिल्लो समयमा शेयरबजारप्रति धेरैको आकर्षण बढिरहेको देखिन्छ । फुटपाथे व्यापारीदेखि विद्यार्थी, शिक्षक, व्यापारी, गृहिणीलगायत कर्पोरेट कम्पनीहरुको समेत आकर्षण बढेको देखिन्छ । पछिल्लो समयमा डिम्याट खातामा आबद्ध हुनेहरुको संख्या ६८ लाखभन्दा बढी भइसकेको सम्बन्धित सरोकारवालाहरु बताउँछन् । शेयरबजारप्रतिको आकर्षणले गर्दा वार्षिक साधारणसभाहरुमा भाग लिने साधारण शेयरधनीहरुको उपस्थिति पनि बढिरहेको हो भन्दा फरक नपर्ला । शेयरधनीहरुको वार्षिक साधारणसभामा आकर्षण बढ्नु पनि स्वाभाविक नै मान्नुपर्ने हुन्छ ।
पछिल्ला समयमा वार्षिक र विशेष साधारणसभामा उपस्थित हुनेहरुको संख्या विगतमा भन्दा धेरै बढेको पाइन्छ । वर्ष–वर्षमा हुने वार्षिक साधारणसभालाई कतिपय साधारण शेयरधनीले उत्सवको रुपमा पनि लिने गरेको देखिन्छ । यस कारणले पनि साधारणसभा व्यवस्थित, सभ्य र भव्य हुनुपर्दछ । विगतमा साधारणसभाहरुमा सहभागिता कम हुन्थ्यो भने पछिलो समयमा महिला शेयरधनीहरुको सहभागितासमेत बढ्दै गइरहेको छ । त्यसै गरी पछिल्लो समयमा परिवार नै साधारणसभामा देखिने गरेका छन् ।
कतिपयको भनाइमा साधारणसभामा भाग लिन आउने धेरैजसो शेयरधनी प्राथमिक बजारका नै हुने गरेका छन् । दोस्रो बजारका शेयरधनीहरुको उपस्थिति साधारणसभामा न्यून हुने गरेको छ । जानकारहरुका अनुसार साधारणसभामा नक्कली शेयरधनीसमेत समावेश हुने गरेको र केही असभ्य शेयरधनीहरुले बिस्कुट, खाजा र खाना झोलामा राखेर लाने गरेको पनि पाइन्छ । यसले गर्दा साधारणसभामा विकृति बढ्ने हुँदा कम्पनीहरु र साधारण शेयरधनीहरुले ध्यान पुर्याउनुपर्ने देखिन्छ ।











प्रतिक्रिया