–तत्काल कारबाही नगरे २०३० सम्ममा १ करोड ८० लाख बढी महिला र बालिका प्रभावित हुने
कोलम्बो, (एजेन्सी)
रक्तअल्पता (एनिमिया) दक्षिण एसियाको दीर्घकालीन स्वास्थ्य संकट बन्दै गएको छ । अहिले पनि यस क्षेत्रका करिब आधा किशोरी र प्रजनन उमेरका महिलाहरू रक्तअल्पताको शिकार छन् । तर, विशेषज्ञहरू चेतावनी दिँदै भन्छन्, यदि तत्काल र ठोस कदम चालिएन भने सन् २०३० सम्ममा थप १ करोड ८० लाख बालिका र महिलाहरू यस समस्याको चपेटामा पर्नेछन् ।
यही चुनौतीलाई समाधान गर्न दक्षिण एसियाका सात राष्ट्रहरू पहिलो पटक संगठित भएर अगाडि आएका छन् । श्रीलंकाको कोलम्बोमा ९–११ जुलाईसम्म सार्क, श्रीलंका सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतका साझेदार संस्थाहरूको सहकार्यमा ‘पौस्टिक दक्षिण एसिया–किशोरी र महिलामा रक्तअल्पता न्यूनीकरण’ क्षेत्रीय सम्मेलन आयोजना भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सम्मेलनले नीति निर्माता, विज्ञ, अनुसन्धानकर्ता तथा विकास साझेदारहरूलाई एकजुट गर्दै साझा रणनीति र कार्य योजना बनाउन जुटेको छ ।
रक्तअल्पता : दीर्घकालीन स्वास्थ्य र समानताको चुनौती
रक्तअल्पता तब हुन्छ जब शरीरमा पर्याप्त मात्रामा स्वस्थ रातो रक्तकोशिकाहरू हुँदैनन्, जसका कारण अक्सिजनको आपूर्ति कम हुन्छ । यसको प्रभाव अत्यन्तै गम्भीर हुन्छ । थकान, कमजोरी, शिक्षा र रोजगारीमा बाधा, तथा मातृ तथा नवजात मृत्यु दरमा वृद्धि विशेष गरी महिलाहरू र बालिकाहरू महिनावारी, कुपोषण र संक्रमणका कारण अत्यधिक प्रभावित हुन्छन् ।
श्रीलंकाकी प्रधानमन्त्री डा. हरिनी अमरसुरियाले सम्मेलन उद्घाटन गर्दै भन्नुभयो– ‘हाम्रो देशमा १८.५ प्रतिशत प्रजनन उमेरका महिलाहरू र १४.६ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाहरू रक्तअल्पताबाट पीडित छन् । हामी यो संकटविरुद्ध लड्न प्रतिबद्ध छौं ।’ उहाँले युनिसेफ, डब्ल्यूएचओ र अन्य साझेदारहरूसँगको सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो ।
स्वास्थ्यमात्रै होइन, सामाजिक संकट पनि
युनिसेफ दक्षिण एसियाका क्षेत्रीय निर्देशक सञ्जय बिजेसेकेराले भन्नुभयो– ‘यो स्वास्थ्य समस्याभन्दा बढी प्रणालीगत असफलताको संकेत हो । हामीलाई के गर्नुपर्छ भन्ने थाहा छ । अब सरकारहरूले नेतृत्व लिनुपर्छ ।’ उहाँका अनुसार आधा किशोरी र महिला रक्तअल्पताबाट पीडित हुनु गम्भीर चेतावनी हो, जसले शिक्षा, रोजगारी र समग्र मानव विकासमा असर पार्छ ।
डब्ल्यूएचओका दक्षिणपूर्वी एसिया क्षेत्रकी निर्देशक साइमा वाजेदका अनुसार, रक्तअल्पता रोकथाम गर्न सकिन्छ । यो समस्याको जरा गहिरो छ । कमजोर पोषण, फलामको कमी, संक्रमण, र दीर्घकालीन रोगहरूसँग सम्बन्धित समाधानका लागि अब प्रमाणमा आधारित, समावेशी र रणनीतिक दृष्टिकोण आवश्यक छ ।
नेपालसहित केही देशमा सम्भावना देखियो
हालसम्म दक्षिण एसियामा रक्तअल्पताका घटनाहरू स्थिर नै छन्, तर नेपाललगायत केही देशले अग्रपंक्तिमा स्वास्थ्यकर्मीलाई सशक्त पार्दै सकारात्मक संकेत देखाएका छन् । तथापि, अझै स्वास्थ्य पूर्वाधारको पहुँच, डाटाको अभाव, तथा गरिब र सीमान्तकृत समुदायसम्म सेवाको कमीले चुनौती थपेको छ ।
नयाँ पहल : दक्षिण एसिया एनिमिया शैक्षिक गठबन्धन
सम्मेलनमा रक्तअल्पता अनुसन्धानलाई अघि बढाउन ‘दक्षिण एसिया एनिमिया शैक्षिक गठबन्धन’ गठन गरिएको छ । यसले वैज्ञानिक नेतृत्वलाई एकीकृत गर्दै दीर्घकालीन समाधानहरू तयार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
सार्क महासचिव मोहम्मद गोलम सरवारले भन्नुभयो– ‘हाम्रा युवतीहरू र आमाहरू जनसंख्यकीय लाभको मुटुमा छन् । उनीहरूलाई स्वस्थ, पोषित र सशक्त बनाउनु हाम्रो भविष्यमा लगानी हो ।’
यदि, अहिले नै निर्णायक र एकीकृत कदम चालिएन भने दक्षिण एसियामा रक्तअल्पता महामारीको रूप लिन सक्ने चेतावनी दिइएको छ । यो केवल स्वास्थ्य समस्या नभई लैङ्गिक असमानता, सामाजिक अन्याय र विकासको गतिमा अवरोध पनि हो । सम्मेलनको निष्कर्ष र कार्य योजनाले २०३० सम्म दक्षिण एसियामा महिला र बालिकाहरूमा रक्तअल्पता न्यूनीकरणको ऐतिहासिक अवसर प्रदान गर्न सक्छ डब्लूएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया